राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

गोरक्ष समाचारदाता
दाङ, २३ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि आज बुधवार उम्मेदवारी दर्ता हुने भएको छ । उम्मेदवारी दर्ताका लागि दलहरूलाई बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्मको समय दिइएको छ । लुम्बिनी प्रदेशमा एक जना अपाङ्ग, एक जना महिला र एक जना अन्य गरी तीन पदका लागि आज मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार मनोनयनपत्र दर्ता प्रदेश निर्वाचन कार्यालयको कार्यालयमा हुनेछ । मनोनयपत्र दर्ता गराउने उम्मेदवारको सूची प्रकाशन बुधवार दिउँसो ३ः०० देखि ४ः०० बजेसम्म गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी पुस २४ गते बिहान १०ः०० देखि बेलुका ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २५ र २६ गते मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र २६ गते उम्मेदवारको नामवली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।

यसैगरी पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ ११ गते निर्वाचनका लागि मतदान गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचनका लागि तालमेल गर्ने सहमति

राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख चार दलले तालमेल गर्ने सहमति गरेका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी नेपालबिच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

सहमति अनुसार नेपाली कांग्रेसले सात सिट, एमालेले सात सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तीन र जसपाले एक सिट पाउने गरी समझदारी जुटेको नेताहरूले बताएका छन् । सहमति अनुसार दलहरू उम्मेदवार छनोटका लागि तयारीमा जुटे पनि समाचार तयार पर्दासम्म उमेदवार छनोट गर्न सकेका छैनन् । आगामी फागुन २० गते १८ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ ।

जसमा राष्ट्रिय सभाका कोसी र लुम्बिनी प्रदेशबाट तीन÷तीन जना, मधेस प्रदेशबाट चार जना, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दुई÷दुई जनाको पदाधि सकिँदैछ । ५९ सदस्यीय राष्ट्रिय सभामा अहिले कांग्रेसका १६, एमालेका (राष्ट्रपतिबाट मनोनितसहित) ११, नेकपाका (राष्ट्रपतिबाट मनोनितसहित) २७, जसपाका चार र राष्ट्रिय जनमोर्चका एक सांसद छन् ।

आगामी फागुन २० गते कार्यकाल सकिन लागेका राष्ट्रिय सभाका सदस्यमा एमालेका आठ, राष्ट्रपतिबाट मनोनित वामदेम गौतमसहित नेकपाका नौ र जसपाका दुई जना छन् । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि सात जना प्रदेश सभा सदस्य र प्रदेशका १२ जिल्लाका एक सय नौ वटा स्थानीय तहका दुई सय एक जना प्रमुख र उपप्रमुख गरी कुल तीन सय पाँच जना मतदाता रहेका छन् ।