जलवायु परिवर्तनले जैविक विविधता संरक्षणमा चुनौती

 खेमराज रिजाल
तुलसीपुर, २३ पुस । जलवायु परिवर्तन, यसले पार्न थालेको असर यसको न्यूनीकरण र परिसकेको असरमा अनुकूलन हुने सन्दर्भमा छलफल भएको छ ।

सामुदायिक वन महासंघको समन्वय तथा ग्रिनफाउन्डेसन नेपाल, एफएआआआ र डल्लुआरआरएनको संयुक्त आयोजनामा घोराहीमा महिला जनप्रतिनिधिलाई यस विषयमा प्रशिक्षण दिइएको छ । सामुदायिक वन महासंघ दाङका अध्यक्ष हरि भुसालको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता तथा सामुदायिक वन महासंघका पूर्व केन्द्रीय अध्यक्ष भीमप्रकाश खड्काको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रममा जिल्लाका नौ वटा पालिकाका उपप्रमुख, वन अधिकार क्षेत्रमा क्रियाशील अभियन्ता तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो ।

प्राकृतिक स्रोत महिला सञ्जालद्वारा आयोजित महिला जनप्रतिनिधिलाई प्रशिक्षण तथा संवाद कार्यक्रममा सामुदायिक वन अभियन्ता तथा तुलसीपुर उपमहानगरपालिका पूर्व नगर प्रमुख धनश्याम पाण्डेले वन जलवायु परिवर्तन, समृद्धि र सुशासनसम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा उनले वन प्रत्यक्ष वा परोक्ष रूपमा महिलासँग बढी जोडिएकाले पनि जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा महिला जनप्रतिनिधिको अहम भूमिका रहने उनले बताए । साथै वनलाई समृद्धिसँग जोड्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने खालका कानुन निर्माण गर्न पनि उनले महिला जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।

नेपाल पानी र जलवायुमा धनी तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै यसको न्यूनीकरण र अनुकूलन सबैको साझा चासो हुनुपर्ने पनि उनले प्रस्ट पारे । वनलाई आर्थिक लाभमा लगाउन स्थानीय सरकारले नै योजना बनाउनु पर्ने उनको सुझाव थियो । जलवायु परिवर्तन, अनुकूलन, वनमा आधारित दिगो विकास तथा रोजगारीका विषयमा पनि ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले अभिव्यक्ति दिए । साथै लैङ्गिक न्याय र जलवायु परिवर्तनका विषयमा वन प्रशिक्षक सरिस्मा अधिकारीले प्रस्तुति राखेकी थिइन् ।

सो अवसरमा घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसी, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्का, शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष भीमप्रसाद खड्का, डब्लुआरआरएनका कार्यक्रम संयोजक विनिता कार्की, नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी अचार्यलगायतले प्रस्तुतीकरणमाथि छलफल तथा टिप्पणी गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जलवायु परिवर्तनको असरले विश्व समुदायलाई नै तर्साइरहेको अवस्थामा यसको न्यूनीकरण र अनुकूलनमा नेपाल लाग्नुपर्ने बताए । साथै वनलाई समृद्धिसँग जोड्न हरेक पालिकाले कार्ययोजना अघि बढाउनु पर्ने पनि उनले सुझाव दिए । कार्यक्रमको सहजीकरण ग्रिन फाउन्डेसनका वर्षा नेवारले गरेकी थिइन् ।