हिमाल महरा
दाङ, २२ पुस । पवित्रादेवी स्मृति–२० क्रिकेटको उपाधि पुरन्धारा च्यालेन्जर्सले जितेको छ । दाङ युवा क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा भएको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि पुरन्धारा च्यालेन्जर्सले हात पारेको हो ।
घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको फाइनल खेलमा घोराही क्रिकेट एकेडेमीलाई २० रनले पराजित गर्दै पुरन्धारा च्यालेन्जर्सले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै पुरन्धाराले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेतामा बनेको घोराही क्रिकेट एकेडेमीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको पुरन्धारा च्यालेन्जर्सले निर्धारित २० ओभरमा १० विकेटको क्षतिमा एक सय १२ रन बनाएको थियो । पुरन्धाराका लागि ओपनर दिल्साद अलीले २५ बलमा एक चौका र एक छक्कासहित २८ रन जोडेका थिए । यसैगरी दर्शन सोनारले तीन चौका र एक छक्कासहित ३१ बलमा २८ रन र दिवान पुनले १७ बलमा दुई चौका र एक छक्कासहित २३ रन बनाए । पुरन्धाराले अतिरिक्त रूपमा सात रनसमेत जोडेको थियो ।
घोराही क्रिकेट एकेडेमीका बलर करण जिएम र किसन भारतीले समान दुई÷दुई विकेट लिएका थिए । एक सय १३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको घोराही क्रिकेट एकेडेमी २० ओभरमा नौ विकेटको क्षतिमा ९३ रनमा समेटियो । घोराहीका लागि हेमराज सापकोटाले २८ बलमा दुई चौकासहित २० रन र मनोज पुनले २७ बलमा एक छक्कासहित १७ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली उपविजेतामै सीमित रह्यो ।
पुरन्धारा च्यालेन्जर्सका लागि वीरबहादुर घर्ती, मोहन खत्री र सुशान्त नेपालीले समान दुई÷दुई विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले । फाइनल खेलको म्यान अफ द म्याच अलराउन्ड प्रदर्शन गरेका वीरबहादुर घर्ती घोषित भए । दाङ युथ क्लबका कोषाध्यक्ष सुजित शर्माका अनुसार प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि दिवान पुनले प्राप्त गर्दै नगद १० हजार रुपैयाँ पुरस्कार जिते । प्रतियोगितामा बेस्ट बलर किसन भारती, बेस्ट ब्याटर क्षितिज थापा मगर बने ।
बेस्ट बलर र बेस्ट ब्याटर खेलाडीले नगद पाँच÷पाँच हजारसहित पुरस्कृत भएका थिए । दाङ युवा क्लबका अध्यक्ष शारदा शर्मा घर्तीको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तीरण दाज गौतमको प्रमुख आतिथ्यता एवम् नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाँ र लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।