अमृत रावत
हालको अवस्थामा नेपाली राजनीति गम्भीर उतार–चढावको चरणमा छ। देशका प्राय सबै राजनीतिक दलहरूको मुख्य लक्ष्य सत्ता प्राप्ति नै देखिन्छ।
पुराना नेताहरूलाई नयाँ शक्तिले विस्थापित गर्दा उनीहरूको असन्तोष देखिन्छ भने, नयाँ भनिएका शक्तिहरू पुरानाबाट अस्वीकृत हुँदा उनीहरू पनि असन्तुष्ट छन्। तर प्रश्न उठ्छ जब पुराना नेताहरूले नातावाद, कृपावाद,गुटवाद,अवसरवाद,व्यक्तिवाद, भ्रष्टाचार र सत्ता दुरुपयोगमार्फत देशलाई क्षति पुर्याएको आरोप लाग्दै आएको छ भने, त्यसको विकल्पका रूपमा उदाएका नयाँ शक्तिहरूले पनि उस्तै प्रवृत्ति दोहोर्याउन थालेपछि जनताको भरोसा कसरी कायम रहन सक्छ ?
राजनीति कुनै समयमा विधि, विधान, विचार र सिद्धान्तमा आधारित हुन्थ्यो । नेताहरू जनतामाझ जान्थे, उनीहरूको समस्या बुझ्थे र त्यसको समाधानका लागि आवाज उठाउँदै राजनीतिक यात्रा सुरु गर्थे। राजनीति जनताको आवश्यकताबाट जन्मिन्थ्यो।
तर आजको अवस्थामा राजनीति क्रमशः सामाजिक सञ्जालको सामग्रीमा सीमित हुँदै गएको देखिन्छ। कसले सरकारको कति विरोध गर्न सक्छ, कसले कसलाई बढी आरोप लगाउन सक्छ, कसको पोस्टमा बढी लाइक र कमेन्ट छन्, कसले कति गाली खायो—यिनै आधारमा नेता निर्माण भइरहेको छ। सामाजिक सञ्जालको प्रभावशाली प्रयोगलाई समयको माग भन्न सकिए पनि, त्यसले राजनीतिलाई सतही प्रतिस्पर्धामा सीमित बनाइदिएको यथार्थ नकार्न सकिँदैन। अहिले आएर राजनिति सोसल मिडियामा गरिने ढोंग बनेको छ।
कतिपय समूहहरूले सामाजिक सञ्जालमै ग्रुप र ‘सोसल मिडिया आर्मी’ तयार गरिसकेका छन्—कसलाई माथि उकास्ने, कसलाई तल झार्ने, कसलाई कति गाली गर्ने भन्ने समेत योजनाबद्ध रूपमा सञ्चालन भइरहेको देखिन्छ। यसले विचारभन्दा प्रचारलाई, सिद्धान्तभन्दा ट्रेन्डलाई प्राथमिकता दिएको संकेत गर्छ।
राजनीति विचार र सिद्धान्तमा आधारित हुनुपर्छ। कुनै स्पष्ट विचार र मार्गदर्शनबिना न त एउटा घर चल्न सक्छ, न त एउटा देश। दशकौँदेखि राजनीतिलाई बुझ्दै, सिक्दै र जनताको सेवामा लाग्दै आएका अनुभवी व्यक्तिहरूलाई पन्छाएर, केवल सत्ता प्राप्तिका लागि सामाजिक सञ्जालको सहारामा राजनीति गर्ने प्रवृत्तिले देशको खेल जिततर्फ होइन, हारतर्फ लैजाँदैछ भन्ने चिन्ता गम्भीर छ।
अन्त्यमा भन्नुपर्दा, राजनीति गर्न केवल नेता हुनु पर्याप्त हुँदैन। विचार, सिद्धान्त र आम नागरिकका समस्या बुझ्ने क्षमता भएको व्यक्ति नै सच्चा राजनीतिज्ञ हुन सक्छ। सधैँ सबैको आलोचना गर्ने, सामाजिक सञ्जालको भीड र ‘आर्मी’ बोकेर हिँड्ने व्यक्तिहरू कहिल्यै पनि कुशल र जिम्मेवार राजनीतिज्ञ बन्न सक्दैनन्।