निजी विद्यालयमा साढे आठ अर्ब बढी लगानी

गोरक्ष समाचारदाता
दाङ, २२ पुस । दाङका निजी क्षेत्रका विद्यालयमा साढे आठ अर्ब बढी लगानी भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल दाङ अन्तर्गतका निजी विद्यालयमा हालसम्म आठ अर्ब ५८ करोड तीन लाख ९४ हजार छ सय १७ रुपैयाँ लगानी भएको प्याब्सन दाङले जानकारी दिएको हो ।

प्याब्सनमा आबद्ध एक सय ७६ विद्यालयमा यो लगानी भएको प्याब्सन दाङका सचिव आदिम केसीले जानकारी दिए । भौतिक पूर्वाधार शैक्षिक सामग्री तथा समग्र लगानीमा यो लगानी भएको हो । प्याब्सन बाहेक अन्य विद्यालय पनि जिल्लामा रहेका छन् । विद्यालयमा १४ हजार दुई सय सात जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । वार्षिक छात्रवृत्ति ३३ करोड ९६ लाख ५६ हजार ४८ रुपैयाँ दिने गरेको सचिव केसीले बताए ।

प्याब्सन दाङ अन्तर्गत एक सय ११ वटा मावि र ६५ वटा आधारभूत तहका विद्यालय छन् । जसमा ९९ हजार नौ सय ५७ विद्यार्थी अध्ययनरत छन् भने चार हजार छ सय आठ जना शिक्षक अध्यापनरत छन् । कर्मचारी सङ्ख्या एक हजार पाँच सय ९७ जना रहेको सचिव केसीले जानकारी दिए । निजी क्षेत्रले शिक्षक तथा कर्मचारीलाई गरेर छ हजार दुइ सय ५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

यसले रोजगारका लागि बाहिरिने जनशक्तिलाई रोक्न सफल भएको प्याब्सनको भनाइ छ । यसैगरी वार्षिक तलव भत्ताका रूपमा दुई अर्ब एक करोड २ लाख ६९ हजार पाँच सय ६४ रुपैयाँ भुक्तानी हुने गरेको छ । प्याब्सनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि तालिम, शैक्षिक गोष्ठी, सेमीनार, कार्यशाला तथा क्षमता विकासका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।

शिक्षामा आधुनिक शिक्षण विधि, डिजिटल प्रविधि, बालमैत्री शिक्षा र नवीन मूल्याङ्कन प्रणालीको अभ्यासलाई प्रोत्साहन दिँदै आएको जनाएको छ । जसले जिल्लाको शैक्षिक सुधारमा महत्वपूर्ण योग्दान पुगेको प्याब्सनको दाबी छ । गुणस्तरीय शिक्षा उपलब्ध गराउनुका साथै सामाजिक उतरदायित्वका विविध कार्यकलाप समेत प्याब्सनले गर्दै आएको बताएको छ ।

प्यावसनको स्थापना दिवस मनाइने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनको ३५ औँ स्थापना दिवस मनाइने भएको छ । प्याब्सन दाङले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो ३५औँ स्थापना दिवस मनाउने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिवसको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमका साथ मनाइने जिल्ला सचिव केसीले जानकारी दिए ।

उनका अनुसार पुस २२ गते प्याब्सन अन्तर्गतका नगर कमिटीका आयोजनामा समाजप्रति उत्तरदायित्वसमबन्धी कार्यक्रम सञ्चालन गरिनेछ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका कमिटीले आआफ्नो पालिकामा विविध कार्यक्रम गर्ने भएका छन् ।

पुस २३ गते प्याब्सन दाङ र नेपाल पत्रकार महासंघ दाङ शाखाबिच मैत्रीपूर्ण भलिबल खेल खेलिने भएको छ भने पुस २४ गते दाङको शैक्षिक अवस्थाबारे बहस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरिने केसीले बताए । पत्रकार सम्मेलना प्याब्सनका सल्लाहकार नारायण अधिकारीले निजी विद्यालयलाई पारदर्शी भएर शिक्षण पेसा गर्न आग्रह गरे । ‘हामी राज्यका प्रतिस्पर्धी होइनौँ, सहयोगी संस्था हौँ’ अधिकारीले भने ।

राज्यको नीति निर्देशन पालना सबैले गर्नु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले शिक्षाको विकासमा निजी क्षेत्रको महत्वपुर्ण योग्दान गरेको बताए । राज्यले गर्नु पर्ने काम निजी क्षेत्रले गरिरहेको बताए । प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी विद्यालय सामाजिक उतरदायित्व निर्वाह गरेर अगाडि बढेको बताए । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न तथा रोजगारको सिर्जना गर्न भूमिका खेलेको बताए । प्यावसनका जिल्ला बरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।