प्रमोद आचार्य
दंगीशरण, २२ पुस । दंगीशरण गाउँपालिकास्तरीय आठाँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्दै खेलाडी र खेलक्षेत्रको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए ।
पूर्वमुख्यमन्त्री चौधरीले खेल खेलाडीको सपना र पालिकाको सानका रूपमा रहने प्रतियोगिताले समग्र खेल क्षेत्रको विकासमा सहयोग गर्ने बताए । आठौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नम्बर ६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका सयोजक रोशनजङ्ग शाहको अध्यक्षता, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री चौधरीको प्रमुख आतिथ्यता, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख विनोद अधिकारी, गाउँपालिकाका प्रवक्ता रमेश भण्डारी, विद्यालयका अक्षकोषदाता बामदेव शर्मा, वीरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलीका प्रधानाध्यापक लक्ष्मण बस्नेत, खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख राकेश परियार, शिक्षक महासंघ दंगीशरणका अध्यक्ष खेमराज बुढाथोकी, सिद्धपृथ्वी जनता माविका व्यवस्थापन समितिका अध्यक्ष दीपक देवकोटालगायतले भनाइ राखेका थिए ।
उद्घाटन सत्रमा समावेश भएका गाउँपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका गरी १० वटा विद्यालयका विद्यार्थीले गरेको मार्चपासमा भानु मावि प्रसडुवा प्रथम, ज्ञानोदय बोर्डिङ स्कुल सरुवाडाँडा द्वितीय, लाइफ भिजन बोर्डिङ स्कुल सिम्ठाना तृतीय र वीरेन्द्र माध्यमिक विद्यालय सान्त्वना भएका छन् । विद्यालयका शिक्षक कैलाश अधिकारीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक महेन्द्र केसीले गरेका थिए ।