घोराहीमा पर्यटन तथा सांस्कृतिक प्रदर्शनी हुने
गोरक्ष समाचारदाता
दाङ, २२ पुस । घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी एवम् माघे मेला–२०८२ हुने भएको छ । मेला आयोजक नेपाल मगर संघ घोराही नगर समितिले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर मेलाबारे जानकारी गराएको हो ।
नेपाल मगर संघ घोराही उपमहानगरपालिका कार्यसमितिको आयोजना तथा नेपाल मगर संघ जिल्ला कार्यसमिति र घोराही पमहानगरपालिकाको संरक्षकत्वमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी एवम् माघे मेला हुन थालेको हो । घोराही उपमहानगरपालिका–१५ गोर्खा टोलमा मेला पुस २५ देखि माघ ४ गतेसम्म सञ्चालन हुने नेपाल मगर संघ घोराही नगर समितिका अध्यक्ष वेदबहादुर बुढाले जानकारी दिएका छन् ।
अध्यक्ष बुढाका अनुसार मेलामा मगर समुदायलगायत विभिन्न जातजातिका कला, संस्कृति, भेषभूषा झल्कने स्टलसँगै बालउद्यान, जलपरी, मनोरन्जनका साधनसँगै राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याती प्राप्त कलाकारको प्रस्तुति रहने भएको छ । व्यापारिक महोत्सवभन्दा पनि विशुद्ध यो मेला कला, सस्कृति संरक्षण र मनोरन्जनसँग सम्बन्धित रहेको भन्दै अध्यक्ष बुढाले स्थानीयस्तरमा उत्पादित सामग्रीलाई मेलामा राखिए पनि व्यावसायिक सामग्री नहुने जानकारी दिएका छन् ।
मेलामा प्रवेशका लागि एक सय रुपैयाँ टिकटको व्यवस्था गरिएको ज्येष्ठ नागरिकलाई निःशुल्क व्यवस्था गरिएको बताए ।
