प्रतिष्ठानको विकास लागि सहयोग गर्न तयार छु : मुख्यमन्त्री पोख्रेल

गोरक्ष समाचारदाता

दाङ,३१ बैशाख । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिर्घकालिन योजना बनाएर बजेट माग गरे सहयोग गर्न तयार रहेको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बताएका छन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्थापना भएको दश बेडको आइसियुको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रृेलले सवैखाले विारमीको उपचार दाङमै हुने गरि प्रतिष्ठानलाई विकास गर्नुपर्ने बताएका थिए ।

राप्ती स्वास्थ्य प्रतिष्ठान स्थापना भएपछि पहिलो पटक पुगेका मुख्यमन्त्री पोख्रेलले त्यसका लागि प्रतिष्ठानले दिर्घकालिन योजना बनाएर अघि बढ्न आवश्यक रहेको समेत बताए । प्रतिष्ठानको विकासका लागि दर्घकालिन योजनासहित बजेटको माग गरे आफुले प्रतिष्ठानको विकास र हितका लागि बजेट सहयोग गर्न तयार रहेको उनको भनाई थियो । ‘प्रतिष्ठानको विकास लागि योजना बनाएर अघि बढ्नुहोस, त्यसका लागि मैले कहाँ सहयोग गर्न पर्छ म तयार छु’–मुख्यमन्त्री पोख्रेलले भने ।

निरीक्षणका क्रममा मुख्यमन्त्री पोख्रेलले प्रतिष्ठानले अस्पतालको सेवा बिस्तार र चिकित्सा शिक्षाका लागि जग्गा प्राप्तिदेखि सबै कुरामा स्थानीय समुदायको सहयोग लिएर काम गर्न समेत सुझाव दिएका थिए । ‘प्रतिष्ठानको विकास गर्दै सवै खाले विरामीको उपचार गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्छ,त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको छ’–मुख्यमन्त्री पोख्रेलले भने–‘ अब स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट बिरामी रिफर गर्ने होइन, सबैखाले उपचारको लागि प्रतिष्ठान सक्षम छ भन्ने सन्देश दिनुपर्छ ।’ मुख्यमन्त्री पोख्रेलले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट जनतालाई बचाउनका लागि प्रतिष्ठानले सधै ढोका खुल्ला राख्नुपर्ने समेत बताए ।

त्यस अवसरमा प्रतिष्ठानका बारेमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा् संगीता भण्डारी, प्रतिष्ठानका निर्देशक डा. सागर पन्थी, प्रतिष्ठानका डिन डा.बसन्त लामिछाने र ल्याव डा.गोपाल लामाले प्रतिष्ठानले दिने सेवाका बारेमा जानकारी गराएका थिए ।

मुख्यमन्त्रीद्वारा नै सरकारी नियमको उल्लंघन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना भएको आइसियु बेड, पिसिआर मेसिनलगायतका दश बेडको आइसियु, भेन्टिलेटरसहितको एनआइसियु र पिआइसियु (बालबालिकाको सघन उपचार कक्ष)को उद्घाटनका नाममा मुख्यमन्त्री पोख्रेल नै भीडभाडमा सहभागी भएका छन् । जनतालाई सामाजिक दुरी कायम राख्न आग्रह गर्ने प्रदेश सरकार प्रमुख नै सामाजिक दुरीको ख्याल नगरी भीडभाडमा सहभागी भएका हुन् ।

सरकारले ५ जना भन्दा धेरै संख्यामा सार्वजनिक ठाउँमा भेला नहुन भनिरहेको समयमा मुख्यमन्त्री पोख्रेलले भने भीडभाडका विच घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित पिसिआर मेसिनलगायतका दश बेडको आइसियु, भेन्टिलेटरसहितको एनआइसियु र पिआइसियु (बालबालिकाको सघन उपचार कक्ष)को उद्घाटन गरेका हुन् ।