विश्वव्यापी फैलिएको कोभिड–१९ प्रकोपको कारण नेपाल सरकारले चैत ११ गते देखि लकडाउन गरेको छ । संक्रमण फैलिन नदिन लकडाउन गरिसकेको अवस्थामा पनि नेपालमा हालसम्म १९१ जनामा कोरोना भाइरस देखिएको छ । जसमा प्रदेश नं. ५ अन्र्तगत कपिलबस्तु रुपन्देही, नेपालगञ्जमा समेत कोरोनाको भाइरसका बिरामीहरु फेला परेका छन् । बजारमा अत्यावश्यक पसलहरु, सवारी साधनहरु सञ्चालनका साथै सरकारले आलोपालो गरेर सरकारी कार्यालयहरु खोलेर सेवा दिने निर्णयसमेत गरेको छ । त्यस्तै नियमित स्वास्थ्य सेवा अवरुद्ध हुन गई आम सर्बसाधारणले अत्यावश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण अस्पताल एवं स्वास्थ्य सेवा प्रदायकले संक्रमण रोकथाम र नियन्त्रणका सावधानीहरु पालना गर्दै बहिरंग सेवालगायत अन्य नियमित स्वास्थ्य सेवाहरु क्रमशः शुरु गर्ने भन्दै अर्को निर्णयसमेत गरेको छ । यससँगै जिल्लामा लकडाउन खुकुलो देखिएको छ भने बजारमा चहलपहल पनि बढेको छ । एकातिर संक्रमणको जोखिम छ भने अर्कोतिर लामो समयका लकडाउनले आजित सर्वसाधारणहरु विभिन्न बहानामा बजारमा भीडभाड बढाउने काम भएको छ । बैंकहरुमा पनि सामाजिक दूरी नै कायम नगरी भीडभाड बढेको छ । चहल–पहलसँगै देखिएको जोखिम समाधानका उपायहरुको बारेमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग गरिएको कुराकानी…

चन्द्रराज पन्त
संयोजक, नागरिक समाज दाङ
–पछिल्लो समयमा जोखिम बढेको छ । लकडाउन केही दिनदेखि खुकुलो हुनुका साथै चहल–पहल पनि बढेको देखिन्छ । तर पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा लकडाउनलाई अझै कडा गर्नुपर्ने हुन्छ । संक्रमण भेटिएको यस्तो अवस्थामा लकडाउनलाई प्रभावकारी गराउनुपर्ने देखिन्छ । तर पनि आर्थिक बर्ष समाप्त हुने बेला विकास निर्माणका कामलाई पूर्णता दिन सरकारले विकास निर्माणलाई निरन्तरता दिने भन्ने योजनाअनुसार विकास निर्माणका काम पनि अघि बढाएको छ । पहिले यस्तो अवस्था नदेखिएकाले यस्तो निर्णय आएको होला जस्तो मलाई लाग्छ । यस्तो महामारीको अवस्थामा विकास निर्माणलाई प्राथमिकता दिनुभन्दा पनि जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्नेमा अब सबैको ध्यान जान जरुरी मैले देखेको छु ।
संक्रमण रोकथामपछि पनि विकास निर्माण गर्न सकिन्छ । पहिलो कुरा त मानिसको स्वास्थ्य हो । विकास निर्माणलाई केही समयसम्म थाती राखेर यसको सबै बजेट कोरोना भाइरस रोकथाम र उपचारमा लगाउन उपयुक्त हुने मैले देखेको छु । अहिलेको अवस्था भनेको कसरी सुरक्षित हुने हो भन्ने हो । यसतर्फ अब सरकारले पनि गम्भीर भएर लाग्नुपर्ने हुन्छ । यसतर्फ सरकारको ध्यान जाओस् भन्ने मेरो भनाइ हो । त्यस्तै नागरिकहरुले पनि यस जटिल परिस्थितिमा अत्यावश्यक बाहेक अन्य कामकाज र अन्य कामका लागि बाहिर नआउने र सबै नियमहरु पालना गर्नुपर्ने हुन्छ । यस महामारीबाट आफू पनि बाचौ र अरुलाई पनि बचाऔं भन्ने हेतुले स्वास्थ्य सजकता अपनाउन म अनुरोध गर्न चाहन्छु । अनावश्यक भीडभाड नगर्न र भीडभाडमा नगएर संक्रमणबाट सबै बच्नुपर्ने हुन्छ । लामो समयको लकडाउनले सबै क्षेत्रमा असर पु¥याएको छ । पहिलो कुरा कसरी सुरक्षित हुने भन्ने सबैले सोचौ र त्यही अनुरुप आ–आफ्नो क्षेत्रबाट जोखिम न्यूनीकरण गर्न लागौं । लकडाउनको परिपालना सबैले गरौ र सरकारले पनि लकडाउनलाई थप कडा गराउँदै मानव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने मेरो सुझाव छ ।

सुष्मा गिरी
अधिकारकर्मी
पछिल्लो अवस्थामा लकडाउन खुकुलोको नाममा जताततै अव्यवस्थित भइरहेको छ । यसले थप जोखिम बढाएको देखिन्छ । हामीहरु दाङका विभिन्न १० वटा पालिकामा जाँदा जताततै यस्तो अवस्था हामीहरुले देख्ने गरेका छौं । यसले भविष्यमा भयावह अवस्था आउने देखिन्छ । यदि समयमै नसोच्ने हो र लकडाउनलाई कडाइँ नगराउने हो भने नेपालमा पनि धेरै समस्या आउने मैले देखेको छु । लकडाउन खुकुलो भएसँगै सामाजिक दूरी पनि कायम गरेको देखिँदैन । छिमेकी भारतबाट पनि धेरै मानिसहरु अहिले पनि नेपालमा आउने क्रम जारी छ । छिमेकी जिल्लामा दिन प्रतिदिन संक्रमण बढिरहेको अवस्थामा हामीहरु पनि यस विषयमा थप सजक हुँदै गम्भीर हुनुपर्ने अवस्था छ । विकास निर्माणको नाममा पनि लकडाउनलाई खुकुलो पार्ने र आवत–जावत हुने गरेको छ । यसलाई पनि व्यवस्थित गर्न जरुरी देखिन्छ । किनभने पहिलो कुरा मानिसको स्वास्थ्य हो । यदि मानिस नै मर्ने अवस्था आयो भने विकास कसको लागि । त्यस्तै सरकारी तथा अन्य कार्यालयहरु जो नखोली नहुने र अत्यावश्यक छन् ती कार्यालयहरु सुरक्षाका सम्पूर्ण उपायहरु अपनाएर खोलै होइन भने यसले पनि संक्रमणको जोखिम बढाउन सक्छ ।
विभिन्न बहानामा पछिल्लो समयमा भएको खुकुलो लकडाउनले हामीलाई धेरै क्षति गर्न सक्छ । यसतर्फ सबै सरोकारवालाहरु गम्भीर हुनुपर्छ र सरकारले पनि यसलाई थप कडाइँ गराउँदै लैजानुपर्ने मैले देखेको छु । पर्याप्त मात्रामा स्वास्थ्य सेवाका सामग्रीहरु पनि नभएको देखिएको छ । त्यस्तै नागरिकहरुले पनि यसलाई गम्भीरतापूर्वक नलिएको अवस्था अहिले छ । विकसित मुलुकमा देखिएको यस्तो भयावह अवस्थालाई मध्यनगर गर्दै सबै नागरिकहरुले पनि लकडाउनको पालना गरौं । अत्यावश्यक कामबाहेक बाहिर भीडभाड बढाउने काम कसैले पनि नगरौं र स्वास्थ्यका सबै उपायहरु अवलम्वन गरौंद्द भन्न चाहन्छु । बाहिर भीडभाडमा सकेसम्म नजाने र गए पनि सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता सबैले अपनाउने । साथै सरकारले पनि पछिल्लो अवस्थामा देखिएको संक्रमणको जोखिमलाई मध्यनगर गर्दै लकडाउनलाई कडाइँका साथ लैजानुपर्छ र यसको परिपालना सबैले गराउन र गर्न पनि मैले आग्रह गर्न चाहन्छु । साथै अहिले देखिएको स्वास्थ्य परीक्षणलाई पनि प्रभावकारी रुपले सञ्चालन गर्नुपर्ने र बाहिरबाट आउने नागरिकहरुले पनि स्वास्थ्य चेकजाँच गराएर आफूपनि बच्ने र अरुलाई पनि बचाउने गरी सबैले साथ र सहयोग गर्नु जरुरी मैले देखेको छु ।

बलिभद्र्र्र्र राना
अध्यक्ष, निर्माण व्यवसायी महासंघ प्रदेश नं. ५
पछिल्लो समयमा दाङमा लकडाउन खुकुलो नै छ । यस कार्यबाट म पनि सन्तुष्ट छैन । अहिले प्रमुख काम भनेको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्ने र रोगसँग लड्ने समय हो । तर पछिल्लो समयमा विभिन्न नाममा भीडभाड बढाउने, लकडाउनलाई खुकुलो पार्ने काम भएको छ । यसलाई रोक्नुपर्छ । अहिलेको संक्रमणकालीन अवस्थामा प्रमुख औषधि भनेको हामीहरुको लकडाउन नै हो । अरु उपाय नै छैन । नेपालका विभिन्न स्थानमा संक्रमण फैलिसकेको अवस्थामा लकडाउनलाई पूर्णरुपले परिपालना गर्नु नै हो । हाम्रो जस्तो देशले यस रोगसँग सामना गर्ने भनेकै लकडाउन अर्थात घरमा नै बस्ने हो । त्यस्तै यो समय आफूखुसी पसलहरु खोल्ने र भीडभाड गर्ने होइन । यसतर्फ स्थानीय प्रशासनले पनि विशेष ध्यान दिनुपर्छ । यसमा प्रशासनले पनि समन्वयकारी भूमिका खेल्नुपर्ने मैले देखेको छु । त्यस्तै विकास निर्माणको काम पनि शुचारु गर्ने निर्णय भएसँगै केही भीडभाड हुनु स्वाभाविकै हो । तर प्रमुख कुरा कसरी विकास निर्माणलाई पनि अगाडि बढाउने भन्ने हो । विकासभन्दा पनि पहिले कसरी नागरिक सुरक्षित हुने प्रमुख विषय हो । संक्रमण रोकेर यसबाट बचेपछि विकास पछि पनि गर्न सकिन्छ । विकासभन्दा पनि अहिले सुरक्षित हुने बेला हो । त्यसैलै अत्यावश्यक नगरी नहुने विकासका कामहरुलाई सुरक्षित भएर अगाडि बढाउनुपर्ने हुन्छ । होइन भने विकासलाई रोकेर रोगसँग लड्ने पहिलो कुरा हो । त्यस्तै सरकारले पनि जनताले पचाउने खाले निर्णय र जनहितको विषयमा गम्भीर भएर निर्णय ग¥यो र लकडाउनलाई कडा गराउने हो भने सबै सहज हुनेछ । अहिले यो त्यो बहानामा पन्छिने र विवाद गर्ने समय होइन सबै एकजुट भएर रोगसँग लड्ने समय हो । सबैले सावधानी अपनाएर सजक भएर लकडाउनलाई पालना गर्नुपर्छ र घरमा बसेर मात्र यो रोगसँग लडन सकिन्छ भन्ने मेरो बुझाई हो । विकासका कामहरु त पछि गरे पनि हुन्छ, प्रमुख कुरा मानव स्वास्थ्य नै हो ।

टंक बुढाथोकी
व्यवसायी
बजारमा भीडभाड अहिले बढ्ने गरेको छ । लामो समयको लकडाउनका कारण सबै व्यवसायी नागरिकहरु समस्यामा परेका छन् । करिब दुई महिना व्यापार बन्द हुँदा व्यवसायीहरुको अवस्था नाजुक भएको छ । भाडा कसरी तिर्ने भन्ने समस्या छ । अन्य मुलुकहरुमा पनि लकडाउनको मोडेल परिवर्तन भएको छ । यहाँ पनि परिवर्तन हुन आवश्यक छ । लामो समयको लकडाउनले नागरिकहरु पनि आजित भएका छन् । सामाजिक दूरीलाई कायम गरी स्वास्थ्य सजकता अपनाएर दैनिक व्यवसाय सञ्चालन हुनुपर्ने मैले देखेको छु । यसले गर्दा बजारमा धेरै भीडभाड हुँदैन । हप्तामा दुई दिन बजार खुल्दा धेरै भीडभाड हुने देखिएको छ । अहिले खेतीपातीको समय छ । खेतीपातीको समयमा अब गाउँघरबाट धेरै मानिसहरु आउने अवस्था छैन । अत्यावश्यक सामग्री ढुवानी गर्ने, यातायातलाई सुरक्षाका उपायहरु अवलम्वन गरी भित्रिन दिनुपर्छ । बाहिरबाट आउने मानिसलाई पूर्णरुपले बन्द गर्ने हो भने संक्रमणको जोखिम कम हुन्छ । नाका–नाकामा चेकजाँच बढाउनुपर्छ र सवै सुरक्षाको उपायहरु उपनाएर व्यवसाय सञ्चालन गर्नुपर्ने मैले देखेको छु । लामो समयको लकडाउनले गर्दा सबै क्षेत्रमा असर देखिएको छ । अब यसको स्वरुप बदल्न आवश्यक छ ।

चन्द्रा वली
गृहिणी
केही दिनदेखि बजारमा भीडभाड भएको छ भने सुनेको छु । मपनि हिजो बजारमा सामान किनमेलका लागि गएको थिएँ । बजार खुलेको थियो । बजारभरि मानिसको हुल थियो । प्रहरीलाई देख्ने बित्तिकै सबै पसलहरु बन्द भएका थिए । यसरी भीडभाड गर्दा र अत्यावश्यक बाहेकका मानिसहरु बिहानमा बजारमा निक्लने समस्या धेरै छ । लकडाउनलाई खुकुलो होइन अझै कडाइँ गर्नुपर्छ । मैले सामाजिक दूरी पनि कायम भएको देखिनँ । यसले पनि रोगको जोखिम बढाएको छ । किनमेल गर्दा तथा घरमा बस्दा पनि सामाजिक दूरी कायम गर्ने, अत्यावश्यकबाहेक बाहिर ननिक्लने र सबैले स्वास्थ्य सजकता अपनाउन जरुरी छ । कोरोना भाइरस कोसँग छ भन्ने बुझ्नै गाह्रो भएको अवस्थामा सबै सजक हुनुपर्ने देखिन्छ । सबैभन्दा ठूलो कुरा अहिलेको अवस्थामा रोगबाट बच्नु हो । तर यहाँ विकास निर्माण, अफिसहरु खोल्ने भन्ने निर्णयले पनि बढी भीडभाड र जोखिम निम्त्याएको छ । यस्तो अवस्थामा अत्यावश्यकबाहेक सबै बन्द गर्नुपर्छ । रोगको जोखिम दिनप्रतिदिन बढ्दैछ तर लकडाउन खुकुलो हुँदैछ । लकडाउनलाई कडाइँ गर्दै सबैले नियमको पालना गर्नुपर्ने र मास्क लगाउनुपर्ने, बेला–बेलामा सावुन पानीले हात धुनुका साथै सामाजिक दूरी कायम गरी रोगबाट बच्नुपर्ने मैले देखेको छु । यहाँ संक्रमण भुसको आगोजस्तै फैलिएको जस्तो छ । लामो समयको लकडाउनले हामीहरु पनि समस्यामा छौं तर यो कुनै व्यक्ति विशेषले गरेको होइन । प्रकृतिसँग कसको के लाग्छ र ? यसको एउटामात्र उपाय घरमा नै बस्ने हो ।