विद्यार्थीलाई न्यानो कपडा वितरण

हेमराज शर्मा
दाङ, २२ पुस । घोराही उपमहानगरपालिका–१४ स्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्यनरत आर्थिक अवस्था कमजोर भएका बौद्धिक अपाङ्गता भएका, दलित, जनजाति तथा जेहेनदार विद्याथीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड घोराही शाखा दाङले आफ्नो सामाजिक उत्तदायित्व कार्यक्रम अन्तर्गत कपडा वितरण गरिएको हो । कार्यक्रममा बैंकका शाखा प्रबन्धक कृष्णबहादुर साउद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर बुढाथोकी, प्रधानाध्यापक विष्णु भण्डारीलगायत बैंक तथा विद्यालयका कर्मचारीको उपस्थिति रहेको थियो ।

बैंक शाखा प्रबन्धक साउदले कार्यक्रममार्फत् विद्यार्थी नियमित रूपमा कक्षामा उपस्थिति भई उनीहरूको पढाइमा प्रत्यक्ष र परोक्ष सहयोग पुग्ने आशा व्यक्त गरे । विद्यालयमा निम्न आर्थिक अवस्था भएका विद्यार्थी विशेष गरी बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकी र प्रधानाध्यापक भण्डारीले सिटिजन्स बैंक परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको सहजीकरण बैंकका सहायक शाखा प्रबन्धक वीरेन्द्रबहादुर हितानले गरेका थिए ।