भिजिबिलिटी लो, सेफ ड्राइभ

खेमराज रिजाल
दाङ, २१ पुस । जलवायु परिवर्तनको प्रभाव, वातावरणीय प्रदूषणको अर्को प्रभावसँगै मौसम परिवर्तनको चेनब्रेकको समय एकै समयमा जुटेकाले अहिले विशेष गरी साँझदेखि विमानसम्मको समयमा भिजिबिलिटी अन्यन्तै कमजोर भएको मौसम विज्ञहरूले बताएका छन् ।

यसको प्रत्यक्ष असर राति र बिहानको समयमा सवारी चलाउने चालकलाई परेको छ । अप्रक्षत्यक्ष असर भने सामान्य कामकाजीदेखि मार्निङवाक गर्नेहरूलाई पनि परेको छ । यो समय दुर्घटनाको अत्यन्तै जोखिमपूर्ण समय हो । जमिनको सबैभन्दा तल्लो सतहमा अचेल बिहानै बाक्लो तुवाँलो देखिन्छ अर्थात् यस्तो बेला देख्न सकिने दुरी बढीमा ५ मिटरसम्म भएको मौसम तथा जलस्रोत विज्ञहरूले बताएका छन् ।

यसै कारण यो समयमा उच्च सतर्कता अपनाएर सवारी चलाउन सम्बन्धित सार्वजनिक यातायात व्यवसायी प्रालिका अधिकारीले सवारी चालकलाई अनुरोध गरेका छन् । विशेष गरी तराई क्षेत्रमा घामको मुख नदेखेको कम्तीमा एक महिनासम्म पुग्न थालेको छ । दाङमा भने अझै यस्तो अवस्था छैन तर पछिल्लो साता दाङलाई बाक्लो तुवाँलोले छोपेको छ । जसका कारण यहाँको भिजिबिलिटी लो भएको छ ।

त्यसैले यातायात समितिका पदाधिकारीले सवारी चालकहरूलाई यो अवस्थामा अत्यन्तै न्यून गतिमा सवारी चलाउन निर्देशन दिइरहेका छन् । ‘हामीले अनुमान गरिसकेका छौँ, अहिले मुख्य मुख्य राजमार्गहरूमा फ्रेस भिजिबिलिट मुस्किलले ५÷७ मिटर मात्रै छ । यस्तो अवस्थामा सवारीसाधनको गति नियन्त्रण नै सबै भन्दा ठुलो प्रयास हुनेछ’, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले भने । बाक्लो तुवाँलो लाग्न थाले पनि प्रालिले आफ्ना कर्मचारी परिचालन गरी यस विषयमा पटक पटक प्रशिक्षणसमेत दिइरहेको बताए ।

बरु गन्तव्य पुग्न दुई घण्टा नै ढिला किन नहोस् तर यात्रुहरूलाई गन्तव्यमा सुरक्षित रूपमा पु¥याउन सवारीचालकहरूलाई सचेत गराइरहेको उनले बताए । त्यसमा पछिल्लो समयमा देशैभरका सडक कहीँ न कहीँ मर्मतकै क्रममा रहँदा कतै साँघुरो त कतै फराकिलो भएकाले सार्वजनिक यातायातले विशेष सचेत हुन चालकहरूलाई आग्रह गरिएको अध्यक्ष हमालले बताए ।

दाङकै मुख्य दुई उपमहानगरपालिका जोड्ने घोराही–तुलसीपुर सडक अहिले स्तरोन्नतिका क्रममा रहेकाले दुई वटा ठुला गाडी पास गर्न निकै कठिन हुने भएकाले ओभरटेक गर्ने प्रवृत्तिलाई पूर्णरूपमा रोक्न आफूहरूले चालक तथा मज्दुरहरूलाई निर्देशन दिएको बताए । ‘पूर्वी तराईदेखि पश्चिमी तराईसम्मकै अवस्था यस्तै दयनीय छ, तराईका कतिपय स्थानमा त घाम नै नदेखिए दुई साता नाघिसकेकाले सहज यातायातको अवस्था आउन अझै केही समय लाग्नने मौसमविदहरूको अनुमान छ ।

बाक्लो तुवाँलोमा कमजोर भिजिबिलिटी हुनुलाई विज्ञहरूले वायुप्रदूषणसँग जोडेका छन् । लो भिजिबिलिटीका कारण नै अहिले तोकिएको समयमा सार्वजनिक सवारीसाधनहरू गन्तव्यमा पुग्न सकेका छैनन् । अहिले यही कारण राजमार्गका विभिन्न स्थानमा दिनहुजसो दुर्घटना भइरहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । यो खराब मौसम सुरु भएसँगै राजमार्गमा खटिने ट्राफिम प्रहरीले चालकहरूलाई यसरी नै सचेत गराइरहेका छन् ।

बाक्लो तुवाँलोका कारण गाडी स्पष्ट नदेखिएका कारण दाङले कुनै कालखण्डमा मिठु दाइजस्ता कुसल चालक गुमाएको थियो । त्यो विषम परिस्थितिमा चालक मिठु आफ्नो ज्यानको प्रवाह नगरी यात्रुहरूको ज्यान बचाउन सफल भएका थिए । अहिले मिठु दाइको निधन भएको स्थानमा मिठु दाइ स्मृति प्रतीक्षालय निर्माण भएको छ ।

अन्य जनजीवन प्रभावित, श्वासप्रश्वासमा समस्या

चिसो बढिरहँदा राजमार्गका चोकचोकमा बिहानैसम्म मुढा बालेर जिउ तताएको देख्न सकिन्छ । खास गरी सुरक्षामा खटिने सुरक्षाकर्मीलाई चिसोको समस्या बढी देखिएपछि स्थानीयले प्रहरी बिट नजिक मुढा बाल्ने व्यवस्था कतै कतै मिलाएका छन् भने कतै स्थानीय सरकारले नै दाउरा बाल्ने मेसो मिलाइदिएको छ । यसले सुरक्षाकर्मी र अन्य यात्रु कुर्ने बटुवाहरूलाई पनि राहत भएको छ ।

चिसोको प्रभावमा विद्यालयका विद्यार्थीहरू पनि परेका छन् । केही स्थानीय पालिकाले पुसको दोस्रो सातादेखि केही दिनका लागि स्थानीय बिदाबाट कटाएर जाडो बिदा दिइसकेका छन् । चलेका स्कुलहरूमा विद्यार्थीहरूको उपस्थिति पातलो भएको जनकल्याण मावि जुधरासका एक जना शिक्षकले बताए । बिहानको सेसनमा चल्ने स्कुल थप चिसोको चपेटोमा परेका छन् ।

मनसुनको चेनब्रेकको समयमा मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने चिकित्सकले बताएका छन् । मौसमको चेनब्रेक हुने समयमा खास गरी बालबालिका र बृद्धबृद्धामा श्वास्प्रश्वाससम्बन्धी समस्या बढी देखिने तथा अन्य सरुवा रोगको सङ्क्रमण पनि देखिनसक्ने बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा मीनचन्द्र अधिकारीले भनेका छन् । चिसोबाट जोडिन न्यानो कपडा लगाउनु, घर बाहिर ननिस्कनु र प्रशस्त मात्रामा तातो झोल पदार्थ पिएर शरीरमा पानीको मात्राको सन्तुलन कायम राख्न डा अधिकारीले सुझाव दिएका छन् ।

चिसो मौसममा खास गरी दम तथा अन्य इन्फ्लुएन्जाका बिरामीलाई विशेष स्याहार गर्न डा अधिकारीले सुझाव दिएका छन् । सामान्य रुघाखोकी मात्र छ भने तातोपानी सेवनबाटै पनि निको हुने चिकित्सकको भनाइ छ । गम्भीर प्रकिृतिको समस्या आएमा निमोनियासमेत हुन सक्ने भएकाले नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न चिकित्सकले सुझाव दिएका छन् ।

चिकित्सकका अनुसार पछिल्लो साता स्वास्थ्य संस्थाहरूमा खास गरी दम, निमोनिया र इन्फ्लुयन्जाका बिरामीहरू बढिरहेको पाल्पाली मेडिकलका स्वास्थ्यकर्मी राजेन्द्र श्रेष्ठले बताएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राप्ती प्रादेशिक अस्पतालमा पनि यस्तै खालका बिरामी बढेको त्यहाँका चिकित्सकले बताएका छन् ।