कक्षा–कोठाभन्दा परको शिक्षा : जीवनले सिकाउने विश्वविद्यालय

यादव गिरी

शिक्षा भन्नेबित्तिकै प्रायः हाम्रो चेतनामा कक्षा–कोठा, कालोपाटी, शिक्षक, पाठ्यपुस्तक र परीक्षाका अङ्क नै उभिएर आउँछन् । विद्यालयको घण्टी बजेसँगै सुरु हुने र अन्तिम घण्टीसँगै समाप्त हुने गतिविधिलाई नै धेरैले शिक्षाको पूर्ण परिभाषा ठान्ने प्रवृत्ति आज पनि व्याप्त छ । तर गहिरिएर सोच्ने हो भने, शिक्षा के साँच्चै त्यत्तिमै सीमित छ ?

के मानव जीवनका सबै पाठ केवल पाठ्यपुस्तकका पानाभित्र समेटिएका हुन्छन् ? यदि शिक्षा कक्षा–कोठाको चार पर्खालभित्र मात्र सीमित हुन्थ्यो भने, जीवनका जटिल मोडमा मानिस दिशाहीन र असहाय हुन्थ्यो । जीवनमा आइ पर्ने असफलता, संघर्ष, सम्बन्धका उतारचढाव, कठिन निर्णय, नैतिक द्वन्द्व, सहनशीलता, नेतृत्व क्षमता र उद्यमशील सोच यी सबै पाठ कुनै एकै किताबले सिकाउन सक्दैन । यथार्थमा, जीवन स्वयम् सबैभन्दा प्रभावशाली शिक्षक हो र समाज सबैभन्दा विशाल तथा खुला कक्षा–कोठा ।

आजको विश्व तीव्र परिवर्तनको प्रक्रियाबाट गुज्रिरहेको छ । प्रविधिको तीव्र विकास, श्रम बजारको रुपान्तरण, सामाजिक संरचनामा आएको परिवर्तन, मूल्यमान्यतामा देखिएको पुर्नव्याख्या र जीवनशैलीमा भइरहेको रुपान्तरणले शिक्षाको परम्परागत अवधारणामाथि गम्भीर प्रश्न उठाइरहेको छ । यस्तो गतिशील परिवेशमा केवल औपचारिक शिक्षा मात्र जीवनका सबै चुनौती सामना गर्न पर्याप्त हुन सक्दैन ।

यही यथार्थका कारण “कक्षा–कोठाभन्दा परको शिक्षा” आजको समयको अपरिहार्य आवश्यकता बनेको छ । यो शिक्षा जीवनका अनुभव, व्यवहार, समाज, संस्कृति र आत्मअनुभूतिबाट प्राप्त हुन्छ । यसले मानिसलाई केवल ज्ञान सम्पन्न होइन, जीवन दक्ष, मूल्य सचेत र उत्तरदायी नागरिक बनाउँछ । शिक्षा कुनै निश्चित स्थान वा समयसँग बाँधिने प्रक्रिया होइन, यो त जीवनसँगै निरन्तर अघि बढ्ने, मानिसलाई परिपक्व बनाउने दीर्घ यात्रा हो ।

कक्षा–कोठाभन्दा परको शिक्षा

कक्षा–कोठाभन्दा परको शिक्षा भन्नाले विद्यालय वा विश्वविद्यालयद्वारा निर्धारित औपचारिक पाठ्यक्रमको सीमाभन्दा बाहिर रहेर, जीवनका विविध आयामबाट प्राप्त हुने समग्र सिकाइलाई बुझिन्छ । यो शिक्षा पाठ्यपुस्तक, पाठ योजना वा परीक्षाको दायराभित्र मात्र सीमित हुँदैन, बरु जीवन, समाज, अनुभव, प्रकृति, संस्कृति, श्रम, संवाद र व्यवहारका माध्यमबाट निरन्तर विकसित हुने प्रक्रिया हो ।

यस प्रकारको शिक्षामा कुनै निश्चित पाठ्यक्रम हुँदैन, न त मूल्याङ्कनका लागि औपचारिक परीक्षा नै यहाँ सिकाइको मूल्य अनुभवको गहिराइ र व्यवहारिक रुपान्तरणबाट तय हुन्छ । कक्षा–कोठाभन्दा परको शिक्षामा शिक्षकको भूमिका स्थिर हुँदैन । कहिले अभिभावकले जीवनका आधारभूत संस्कार सिकाउँछन्, कहिले साथीले सहकार्य र सहिष्णुता पाठ दिन्छन् ।

कहिले परिस्थितिले कठोर निर्णय गर्न बाध्य बनाउँछ भने कहिले असफलताले आत्ममूल्याङ्कन र धैर्यको शिक्षा दिन्छ । त्यस्तै, सफलता स्वयम्ले उत्तरदायित्व, विनम्रता र निरन्तर परिश्रमको महङ्खव बुझाउँछ । यसरी, यहाँ हरेक अनुभव स्वयम् एउटा पाठ बन्छ ।

शिक्षा परिवार र समाजबाट सुरु हुन्छ, जहाँ व्यक्तित्वको आधार निर्माण हुन्छ । दैनिक जीवनका साना–ठूला अनुभवले व्यवहारिक बौद्धिकता विकास गर्छन् । श्रम र सीपले आत्मनिर्भरता र श्रमको सम्मान सिकाउँछ । संस्कृति, परम्परा र इतिहासले पहिचान र मूल्यबोध प्रदान गर्छन् । प्रकृति र वातावरणले सहअस्तित्व र दिगोपनको पाठ पढाउँछ भने प्रविधि र डिजिटल संसारले नवीन सोच र जीवनभर सिकाइको सम्भावना खोलिदिन्छ ।

साथै, स्वयम् अनुभव र आत्मचिन्तनले मानिसलाई आत्मबोध र परिपक्वतासम्म पु¥याउँछ । कक्षा–कोठाको शिक्षा मुख्यतः “के थाहा छ ?” भन्ने प्रश्नमा केन्द्रित हुन्छ, तर कक्षा–कोठाभन्दा परको शिक्षा “कसरी बाँच्ने ?” भन्ने मौलिक प्रश्नको उत्तर दिन्छ । यही शिक्षा मानिसलाई केवल जानकार होइन, जीवनका चुनौती सामना गर्न सक्षम, मूल्य(सचेत र जिम्मेवार नागरिक बनाउने आधार हो ।

परिवार र समाज

मानिसले जीवनको औपचारिक शिक्षायात्रा सुरु गर्नुअघि नै एउटा महङ्खवपूर्ण शिक्षालयमा प्रवेश गरिसकेको हुन्छ– त्यो हो परिवार । जन्मसँगै मानिसले बोल्न, हिँड्न र आफ्ना भावना व्यक्त गर्न सिक्छ; तर यससँगै उसले व्यवहार, अनुशासन, सहानुभूति, माया र सहिष्णुताका आधारभूत पाठ पनि परिवारमै आत्मसात् गर्छ । यस अर्थमा परिवार नै व्यक्तित्व निर्माणको पहिलो विद्यालय र अभिभावक नै जीवनका प्रारम्भिक शिक्षक हुन् ।

अभिभावकको दैनिक व्यवहार, बोलिचालिको शैली, श्रमप्रतिको दृष्टिकोण, समय व्यवस्थापन, इमानदारी र कठिन परिस्थितिमा देखाइने धैर्यले बालबालिकाको सोच र चरित्र निर्माणमा गहिरो प्रभाव पार्छ । कक्षा–कोठामा नैतिक शिक्षा सैद्धान्तिक रुपमा पढाइए पनि घरमै नैतिकताको व्यवहारिक अभ्यास हुन्छ । विद्यालयले समयको मूल्य सिकाउँछ, तर अभिभावकले समयको सदुपयोग गरेर उदाहरण प्रस्तुत गर्छन् । यही कारण परिवारमा प्राप्त शिक्षा अङ्कभन्दा गहिरो र प्रमाणपत्रभन्दा दीर्घकालीन हुन्छ, जसले जीवनभर मानिसको मार्गदर्शन गर्छ ।

परिवारपछि मानिस प्रवेश गर्ने अर्को विशाल शिक्षालय समाज हो । समाज स्वयम् एउटा खुला विश्वविद्यालय हो, जहाँ हरेक व्यक्ति, घटना र अनुभव एउटा पाठका रुपमा प्रस्तुत हुन्छ । यहाँ कसैको आचरण प्रेरणाको स्रोत बन्छ भने कसैको व्यवहार चेतावनीका रुपमा काम गर्छ । समाजले मानिसलाई सहअस्तित्व, सहकार्य र उत्तरदायित्वको अर्थ बुझाउँछ ।

छिमेकीसँगको सम्बन्ध, सामाजिक सहभागिता, विवाद समाधानको कला, नेतृत्व विकास, सेवा भावना र नागरिक जिम्मेवारी जस्ता महङ्खवपूर्ण जीवनदक्षता समाजमै अभ्यास हुँदै सिकिन्छन् । बालबालिकाले लाइनमा बस्ने संस्कार, सार्वजनिक सम्पत्तिको संरक्षण, फरक विचारप्रति सम्मान र नियम कानुनको पालना जस्ता मूल्यहरु कक्षा–कोठाभन्दा बढी समाजमा देखेर र अनुभव गरेर सिक्छन् । त्यसैले समाज स्वस्थ, अनुशासित र मूल्य आधारित भएमा शिक्षा स्वाभाविक रुपमा गुणस्तरीय र जीवनोपयोगी बन्छ ।

श्रम, सिप र असफलता

कक्षा–कोठाले मानिसको बौद्धिक क्षितिज विस्तार गर्छ, ज्ञानको जग बसाल्छ, तर श्रमले आत्मविश्वास, स्वाभिमान र आत्मनिर्भरताको अनुभूति गराउँछ । समाजका हरेक पेसा खेतमा परिश्रम गर्ने किसान, पसल सञ्चालन गर्ने व्यापारी, मर्मत गर्ने प्राविधिक वा सेवा क्षेत्रमा खटिने श्रमिक सबै जीवनका मौन शिक्षक हुन् । उनीहरुको दैनिक श्रमले परिश्रमको मूल्य, धैर्यको आवश्यकता र निरन्तरताको महङ्खव सिकाउँछ, जुन कुनै पाठ्यपुस्तकले पूर्ण रुपमा समेट्न सक्दैन ।

सिपमूलक शिक्षा र व्यावहारिक श्रम आजको समयको अनिवार्य आवश्यकता बनेका छन् । औपचारिक डिग्री हासिल गरेका धेरै युवाहरु रोजगारको खोजीमा भौँतारिइरहेका छन्, जबकि व्यवहारिक सिप भएका धेरै मानिस आफ्नै श्रममा आत्मनिर्भर जीवन बाँचिरहेका छन् । यसले शिक्षा प्रणालीको एकपक्षीयता उजागर गर्छ । ज्ञान र सिपबिच सन्तुलन नहुँदा शिक्षा जीवनोपयोगी हुन सक्दैन ।

कक्षा–कोठाभन्दा परको शिक्षाले श्रमलाई हेय होइन, सम्मानयोग्य मूल्यका रुपमा स्थापित गर्छ र “सानो–ठूलो काम हुँदैन” भन्ने व्यवहारिक बोध विकास गराउँछ । यही बोधको अभावले समाजमा घमण्ड, आलस्य र परनिर्भरताको संस्कार बढ्दै गएको देखिन्छ ।

यसै सन्दर्भमा, असफलता जीवनको अर्को अनिवार्य पाठ हो, जसलाई विद्यालयीय शिक्षाले प्रायः डरको रुपमा प्रस्तुत गर्छ । अङ्क, श्रेणी र प्रतिस्पर्धामा केन्द्रित शिक्षण प्रणालीले असफलतालाई कमजोरीका रुपमा चित्रित गर्छ । तर जीवनको यथार्थमा असफलता नै सबैभन्दा प्रभावकारी शिक्षक हो । परीक्षामा असफल हुनु, व्यवसाय अपेक्षाअनुसार नचल्नु, सम्बन्धमा दरार आउनु वा निर्धारित लक्ष्यमा पुग्न नसक्नु यी सबै घटनाले मानिसलाई आत्ममूल्याङ्कन गर्न, आफ्ना सीमा चिन्हित गर्न र नयाँ रणनीति अपनाउन प्रेरित गर्छन् ।

कक्षा–कोठामा गल्ती गर्दा अङ्क घटाइन्छ, तर जीवनमा गल्ती गर्दा अनुभव बढ्छ । यही अनुभव भविष्यको सफलता बन्ने आधार हो । असफलताले धैर्य, सहनशीलता, लचिलोपन र पुनःउत्थानको शक्ति विकास गर्छ । यसले मानिसलाई यथार्थवादी बनाउँछ र निरन्तर प्रयासको मूल्य बुझाउँछ । जो असफलताबाट पाठ सिक्छ, ऊ परिपक्व र सक्षम बन्छ, तर जो असफलताबाट भाग्छ, ऊ जीवनभर डर र अनिश्चिततामा बाँधिरहन्छ । त्यसैले श्रम, सिप र असफलतालाई शिक्षा प्रणालीको केन्द्रमा राख्नु आजको समयको अनिवार्य आवश्यकता हो ।

प्रविधि, प्रकृति र संस्कार

आजको युगमा शिक्षा केवल विद्यालयको चार पर्खालभित्र सीमित रहन सक्दैन । डिजिटल प्रविधिको तीव्र विकासले शिक्षाको परिभाषा नै नयाँ रुपमा प्रस्तुत गरेको छ । इन्टरनेट, अनलाइन पाठ्यक्रम, युट्युब, डिजिटल पुस्तकालय र एआई जस्ता साधनले विद्यार्थीलाई संसारकै उत्कृष्ट शिक्षकसँग सम्पर्क स्थापित गर्ने अवसर दिएको छ ।

यसले स्वअध्ययन र व्यक्तिगत सिकाइ मार्गलाई सशक्त बनाएको छ । विद्यार्थीले आफ्नो रुचि अनुसारको विषयमा गहिरो अध्ययन गर्न सक्छन्, जीवनभर सिकाइलाई निरन्तर अभ्यासमा रुपान्तरण गर्न सक्छन् तर प्रविधि आफैं शिक्षा होइन; यसको सही प्रयोगले मात्र यसले शिक्षाको माध्यमको भूमिका निर्वाह गर्न सक्छ । गलत प्रयोग वा असन्तुलित उपयोगले विद्यार्थीलाई विचलन र समयको दुरुपयोगमा डो¥याउन सक्छ ।

यसैले डिजिटल साक्षरताको शिक्षा कक्षा–कोठाभन्दा बाहिर अत्यन्त आवश्यक हुन पुगेको छ । त्यसैगरी, प्रकृतिले आफैंमा महान शिक्षकको भूमिका खेल्दछ । नदीले निरन्तरता र अनवरत प्रयासको पाठ सिकाउँछ, पहाडले धैर्य र सहनशीलताको महङ्खव बुझाउँछ, रुखले निःस्वार्थता र साझा अस्तित्वको मूल्य प्रस्तुत गर्छ भने ऋतुहरुले परिवर्तन स्वीकार गर्ने कला सिकाउँछन् । प्रकृतिसँग घनिष्ठता अनुभव गर्दा मानिसमा विनम्रता, दिगोपन, सहअस्तित्व र सन्तुलनको भावना विकसित हुन्छ ।

आजको पुस्ता अधिकांश समय कंक्रीटको जंगलमा व्यस्त छ, जसले प्रकृतिसँगको सम्पर्क घटाइरहेको छ । यदि कक्षा–कोठाभन्दा बाहिरको शिक्षा प्रकृतिसँग जोडिँदैन भने भविष्यमा उनीहरुमा पर्यावरणीय चेतना र प्राकृतिक सन्तुलनको कमी देखिने सम्भावना बढ्छ । साथै, शिक्षा केवल सिप र ज्ञानको अधीनमा सीमित हुँदैन, यसले पहिचान र मूल्यबोध पनि दिनुपर्छ ।

संस्कार, भाषा, परम्परा र इतिहासले मानिसलाई “म को हुँ ?” भन्ने प्रश्नको उत्तर दिन्छ । आफ्नो इतिहास र सांस्कृतिक मूल्यमाथि अपरिचित पुस्ता दिशाहीन बन्न सक्छ, र संस्कारविहीन शिक्षा जीवनमा मूल्यहीन हुनसक्छ । कक्षा–कोठाभन्दा बाहिरको शिक्षामार्फत् पुस्तान्तरण हुने लोकज्ञान, सांस्कृतिक अभ्यास र परम्परागत मूल्यले समाजलाई एकताको सूत्रमा बाँध्छन् ।

यसरी प्रविधि, प्रकृति र सांस्कृतिक परम्पराले कक्षा–कोठाभन्दा बाहिरको शिक्षालाई जीवनोपयोगी, मूल्यप्रधान र दिगो बनाउँछन् । यी सबै आयामको समेकित शिक्षाले मात्र व्यक्तिलाई ज्ञानमात्र नभई जीवनपरिपक्व र सामाजिक उत्तरदायी बनाउने वास्तविक उद्देश्य पूरा हुन्छ ।

अन्त्य

कक्षा–कोठा शिक्षा सुरु हुने प्रारम्भिक स्थान हो, तर यसको अन्त्य होइन । औपचारिक शिक्षा बिनाको जीवन अपूरो छ, तर जीवन शिक्षा बिनाको औपचारिक शिक्षा पनि पूर्ण रुपमा प्रभावकारी हुन सक्दैन । परम्परागत शिक्षाले ज्ञान र सूचना उपलब्ध गराउँछ, तर जीवनका वास्तविक चुनौतीहरु सामना गर्ने क्षमता विकास गर्न जीवन शिक्षा अपरिहार्य हुन्छ ।

यही सन्दर्भमा आजको आवश्यकता केवल सैद्धान्तिक ज्ञानमाथि आधारित शिक्षा प्रणाली होइन, बरु कक्षा–कोठाको ज्ञानलाई जीवनसँग जोड्ने, व्यवहारिक, व्यावहारिक र मूल्य प्रधान शिक्षा प्रणाली हो । सत्य शिक्षा केवल अङ्क र प्रमाणपत्रको प्रतिस्पर्धामा सीमित छैन । यसले विद्यार्थीलाई अर्थपूर्ण जीवन निर्माणका लागि सक्षम बनाउँछ । अङ्कभन्दा बढी अर्थ, प्रमाणपत्रभन्दा बढी चरित्र, र पाठ्यपुस्तकभन्दा बढी व्यवहारमा जोड दिने दृष्टिकोणले मात्र शिक्षा समाज र जीवन दुवैमा फलदायी बन्न सक्छ ।

जीवन शिक्षा मानिसलाई सैद्धान्तिक ज्ञान र व्यवहारिक दक्षताबिचको पुल निर्माण गर्न मद्दत गर्छ । यसले मानिसमा सहिष्णुता, धैर्य, जिम्मेवारी, नैतिकता, सहकार्य, र आत्मनिर्भरता विकास गर्छ, जसले शिक्षा जीवनसँग सशक्त सम्बन्ध स्थापित गर्दछ ।

कक्षा–कोठाभन्दा बाहिरको शिक्षा, जसमा परिवार, समाज, श्रम, सिप, असफलता, प्रविधि, प्रकृति, संस्कृति र इतिहासको योगदान समाहित हुन्छ, जीवन शिक्षाको वास्तविक स्वरुप हो ।

यी सबै आयामले मानिसलाई केवल ज्ञान सम्पन्न मात्र होइन, मूल्य सचेत, जिम्मेवार र सामाजिक रुपले उत्तरदायी नागरिक बनाउँछ । यही कारणले शिक्षा केवल रोजगारीको साधन वा करियरको सिढी नभई जीवनलाई अर्थपूर्ण बनाउने यात्रा हो । सारांशमा भन्नुपर्दा, शिक्षा कक्षा–कोठाबाट सुरु भए पनि यसको वास्तविक यात्रा जीवनभर चलिरहन्छ । यो यात्रा न केवल बौद्धिक विकास, तर व्यक्तिगत र सामाजिक परिपक्वताको पनि मार्ग हो ।

जीवन शिक्षा र औपचारिक शिक्षाबिचको सन्तुलनले मात्र व्यक्ति पूर्णता प्राप्त गर्छ र समाजमा ज्ञान, मूल्य र व्यवहारको एकीकृत संस्कारको विकास हुन्छ । शिक्षा जीवन र जीवन शिक्षा, यी दुई एकअर्कामा अविभाज्य रुपमा जोडिएका छन्, जहाँ जीवन अनुभव शिक्षा बनिन्छ र शिक्षा जीवनलाई अर्थपूर्ण बनाउँछ ।