मेधावी छात्राको २०औँ संस्करण

गोरक्ष समाचारदाता
दाङ, २० पुस । मेधावी छात्रा २०८२ छनोटका लागि परीक्षा भएको छ । कक्षा १० सम्म अध्ययनरत छात्राहरूको बौद्धिक क्षमता मापन गरिने मेधावी छात्रा प्रतियोगिताका लागि शनिवार घोराहीमा परीक्षा भएको हो ।

प्याब्सन दाङको आयोजना, एपेक्स कम्प्युटरको प्रायोजन तथा गोरक्ष दैनिकको मिडिया पार्टनरमा माउन्ट भ्यू इङ्लिस बोर्डिङ स्कुल घोराहीमा २०औँ संस्करणको मेधावी छात्रा प्रतियोगिता भएको हो । प्याब्सन दाङमा आबद्ध निजी विद्यालयमा कक्षा १० सम्म अध्ययनरत छात्राहरूबिच भएको बौद्धिक प्रतिस्पर्धात्मक प्रतियोगिता मेधावी छात्रामा जिल्लाका ५७ विद्यालयका एक सय ६४ छात्राहरूले प्रतिस्पर्धा गरेका छन् ।

एक सय पूर्णाङ्कको अङ्ग्रेजी, गणित र विज्ञान विषयका वस्तुगत प्रश्नहरू रहने प्रतियोगिताका दश उत्कृष्ट छात्राहरूलाई प्याब्सन दाङको स्थापना दिवसका अवसरमा पुरस्कृत गरिने प्याब्सन दाङले जानकारी दिएको छ । प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता एवम् प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार अरुण शर्माको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले निरन्तर मेहनत, धैर्य र अनुशासनले सफलता प्राप्त गर्न सकिने बताएका थिए ।

मेधावी छात्रा प्रतियोगिता छात्राहरूको बौद्धिक सौन्दर्यतालाई बाहिर ल्याउन नै आयोजना गरिएकाले आफ्नो बौद्धिक क्षमता निर्धक्क साथ प्रस्तुत गर्न वक्ताले प्रोत्साहित गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथि अरुण शर्मा, प्रायोजक एपेक्स कम्प्युटरका सञ्चालक धर्मबहादुर केसी, मेधावी छात्रा २०८१ विजेता माउन्ट भ्यू बोर्डिङ स्कुलकी छात्रा रक्षा शर्मालगायतले मन्तव्य राखेका थिए ।

प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।a