राजनीतिक र अवसरवादी ढोङ्ग

केपी सुवेदी

राजनीतिक परिवर्तनका विभिन्न चरणहरुको ऐतिहासिक महत्व यसकारण हुन्छ कि त्योदिनले अध्याँरोलाई चिर्दै उज्यालो छर्न सफल भएको छ । यस सुखद् सम्झनाले हरेक देशप्रेमि एवम् न्यायप्रेमी नागरिक दासत्वका विरुद्ध कठिन संघर्ष गरेर इतिहास रचेका छन् ।

भौतिक तथा मानवीय क्षति नगरेर पनि परिवर्तन सम्भव छ भन्ने गौरवशाली इतिहास बनाएकोले त्यसको महत्व बढेको हो । दुईथरी अतितवादबाट रन्थनिएको मुलुकको निकास शान्तिपूर्ण मार्गबाट सम्भव भएको त्यो अभियान यति खेर के साँच्चै होर भन्ने अनौठो प्रश्न गर्ने उदियमान नवयुवाले एक पटक त्यो इतिहासको अधोपान्त अध्यायन गर्दै त्यसको अनुशरण गर्ने अठोट ग¥यो भने देशमा व्याप्त रहेको कुशासन, वेथिति र भ्रष्टाचार अन्त्यको अभियान सफलतापूर्वक अगाडि बढ्न सक्छ ।

राजतन्त्र र गणतन्त्रको सङ्क्रमणकालीन चरणमा प्रवेश गर्दै गर्दा उठ्ने गरेको शङ्काको बादल आज पनि राजनीतिक क्षितिजमा तुवाँलोको रुपमा घुमिरहेकै छ । खासगरेर नेपाली कांग्रेस लगायतका लोकतान्त्रिक शक्तिहरुले गणतन्त्र धान्न सकिन्छ कि सकिन्न भन्ने द्विविधामा अलमलिएर स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न ढिलो भएको कुराले परिवर्तनको अहंभूमिका खेलेको शक्ति अन्तिम समयमा आलोचित हुनुप¥यो ।

आज पनि फेरि एक पटक त्यस्तै द्विविधाबाट गुज्रिदा नेतृत्वदायि भूमिकाबाट टाढिने सम्भावना बढिरहेको छ । साच्चै भनौँ भने भड्किएको राजनीतिले निम्तिएको अराजकता कसैको बसमा नहुने परिस्थिति विकसित भइरहेको विश्लेषण गरिँदै छ ।

भड्किएको राजनीतिक स्थिरता र झाँगिदै गएको अराजकता कुनै पनि विदेशीलाई दोष दिएर उम्किने छुट जिम्मेवार राजनीतिक दललाई छैन । आफ्नो कारणले बिग्रेको वातावरण आफैले सम्हाल्नुपर्छ । अप्रत्यसित रुपमा बदलिएको भए पनि यसका जिम्मेवारी तत्वहरु जनतालाई र विशेषगरी नवयुवालाई भ्रिमित गरेर आफ्नो अनुकुल मुलुकलाई क्रिडास्थल बनाउने गरी चलेको सङ्केतहरु देखिएका छन् ।

तिनीहरुकोसँग कसरी निकटसम्बन्धी बन्न पुगे त्यसको अध्यायन गरेर आवश्यक परेको बेला तथ्यपरक अनुसन्धान गर्न र त्यस्ता देशघाती तत्वहरुलाई सार्वजनिक रुपमा नंग्याउँदै आवश्यक कारबाही गर्नु पर्ने अवस्था आउन सक्छ । नयाँ विकल्प बनेर सङ्गठित हुँदा गरेका चर्चित व्यक्तिहरुको राजनीतिक दर्शन र दिशाको बारेमा आवश्यक चर्चा पनि हुनसकेको देखिएन । यसको खासकारण सरोकार हुनुपर्ने शक्ति कमजोर मनोविज्ञानबाट ग्रसित भएकोले यस्तो भएको कुरामा शङ्का छैन ।

पुराना शक्तिको परिवर्तनकारी विकल्प भन्नेको अघोसित रुपमा सरकारमा उपस्थिति देखिएको कुराले उनीहरुमाथि नैतिक बन्धन रहेको खबरदारी आवश्यक छ कि छैन, सरकारसँग जवाफ माग्ने हैसियतप्रति चुनौती दिनेहरुको राजनीतिक हैसियत के छ ? जसको नामले परिवर्तन भयो र त्यसको बलमा सरकारको निर्माण भयो, उनीहरुको भनाईमा सरकार अर्कैले बनायो र चलाइरहेको छ । यसको अर्थ आन्दोलनलाई केही स्वार्थीहरुले अपहरण गरेका रहेछन् ।

अब विस्तारै रहस्यो उद्घाटन हुँदै छ । सुदन गुरुङ जस्ता विचौलियाका प्रतिनिधिले दलका नेताहरुलाई धम्क्याइरहेको सुनिन्छ । सिंहदरबार सहित देशका ऐतिहासिक र पुरातात्विक धरोहरहरु जलाएकोमा गर्वकासाथ ठिक ग¥यौँ भन्नेहरुलाई ठिक बेठिक सम्झाउने गरी आगामी निर्वाचनबाट गठन हुने सरकारले त्यो हैसियत बनाउनुपर्छ । अघि नै भनेझै कठोर निर्दलीय, निरंकुश शासन ढाल्न देशले इतिहास बोकेको सम्पत्तिमा केही नोक्सान गर्नु परेन ।

माओवादीले आफ्नो सशस्त्र विद्रोहमा गरेको क्षतिको जवाफ आज पनि दिन परिरहेको छ र त्यसबाट भाग्ने सोचले प्रचण्डले पार्टीलाई नै विगठन गरिसकेका छन् । परिवर्तन हामीबाट मात्र सम्भव छ भन्ने घोषणा गरेर गरिएको विध्वंसक राजनीतिक यात्रामा पूर्णविराम लगाए पनि युद्ध अपराधको न्यायिक छानविनद्वारा दण्डको कठघरामा उभिने दिन पीडितहरुले पर्खेका छन् ।

अहिलेको विध्वंसको हिसाब पनि कसैले त दिनै पर्ने छ । सम्भवतः नयाँ वैकल्पिक भनिनेहरुले व्यहोर्नु पर्ने परिपन्चले घेर्दै लगेको अनुमान गर्न गाह्रो छैन ।

किनभने हिजोका दिनमा सिंहदरबार जलाउनेहरु जेन–जी होइनन् भन्ने जनआवाज बाहिर आउँदै गर्दा जसले सिंहदरबार जलाएकोमा गर्व गर्छ उनीहरु सङ्गठित हुँदै एउटै पार्टीमा समाहित भइसकेका छन् । जसले सिंहदरबार जल्दै गर्दा रमिता हे¥र्यौँ, जसले जलाउने सघाउनेलाई जेल मुक्त ग¥र्यौ उनीहरु अथवा उनीहरुकै खटनपटनमा सरकार बनाउने र चलाउने गरिरहेका छन् ।

शङ्काको लाभ लिन परिस्थितिले साथ दिएको बेला गल्ती गर्दा पनि नझुक्ने धृष्टताका इतिहासमा धेरै दृष्टान्तहरु छन् तर कुनै कालखण्डमा समयले जवाफदेही बनाउँछ भन्ने सास्वत सत्यलाई नस्वीकारी छुट छैन ।

लोकतन्त्रको नाममा लुट मच्चाउने हिजो गरेका गल्ती केलाउने अधिकार त्यसलाई मात्र हुन्छ । जो सत्ताबाट टाढा तर त्यसको नजिकबाट निगरानी गरिरहन्छ । उनीहरुको विश्वास जित्ने उद्देश्य र योजनामा लोकतन्त्रको आत्मा बाँचेको हुन्छ । नत्र अरु सबै ढोङ्गीहरु एक दिन नाङ्गिनै पर्छ ।