शिक्षा नै समृद्धिको आधार : मन्त्री तिमिल्सिना

टेकबहादुर पुन
देउखुरी, २० पुस । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षित र दक्ष जनशक्तिको पूर्ण परिचालनबिना कुनै पनि राष्ट्र र समाजको दिगो विकास सम्भव नहुने बताएका छन् । शनिवार लमही–६ स्थित गोरखा मोडेल सेकेन्डरी स्कुलको सातौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा किताबमा मात्र सीमित नरही व्यक्ति, समाज र राष्ट्रको आवश्यकता पूरा गर्न सक्ने हुनुपर्ने बताएका हुन् ।

वर्तमान युग ज्ञान र प्रविधिको युग भएकाले व्यावहारिक, प्राविधिक तथा गुणस्तरीय शिक्षा अपरिहार्य भइसकेको बताए । ‘लुम्बिनी प्रदेश सरकारले विकास बजेटको अनुपातमा शिक्षामा लगानी गर्दै आइरहेको छ’, मन्त्री तिमिल्सिनाले भने, ‘तर सोचे अनुसारको प्रतिफल प्राप्त हुन सकेको छैन ।’ शिक्षालाई गुणस्तरीय, प्रभावकारी र विश्व बजारमा प्रतिस्पर्धी बनाउन शिक्षा मन्त्रालय तथा स्थानीय तहसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

मन्त्री तिमिल्सिनाले शिक्षा दीर्घकालीन बनाउन व्यावहारिक सिकाइ आवश्यक रहेको बताए । ‘डटेर अध्ययन र साधनामा लागे मात्रै समाज परिवर्तन सम्भव हुन्छ’, उनले भने, ‘सानोतिनो ज्ञानले समाज बदल्न सक्दैन । पढ्दै, लेख्दै र बुझ्दै प्राप्त गरिएको ज्ञान नै जीवनभर उपयोगी हुन्छ ।’ कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले असल शिक्षा प्रतिस्पर्धाको एउटा कठिन परीक्षा भएको बताए ।

‘सबै मानिस एउटै क्षेत्रमा सफल नहुन सक्छन्’, उनले भने, ‘त्यसैले आफ्नो क्षमता पहिचान गरी दक्ष ज्ञान हासिल गर्न आवश्यक छ, जसले जीवन र समाज दुवैको विकासमा योगदान पु¥याओस् ।’ कार्यक्रममा लमही नगरपालिका उपप्रमख लक्ष्मी योगीले शिक्षाले समाजमा शान्ति स्थापना, गरिबी न्यूनीकरण, जातीय विभेद अन्त्य, सुशासन प्रवर्धन र अधिकारप्रति जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

कार्यक्रममा गोरखा मोडेल सेकेन्डरी स्कुलका प्रधानाध्यापक लोकमान रिजालले असल शिक्षा व्यक्ति र समाज विकासको आधार भएको बताए । ‘एउटा व्यक्तिलाई गुणी बनाउनु भनेको समाज विकासका लागि बलियो पृष्ठभूमि तयार गर्नु हो’, उनले भने । शिक्षाले व्यक्तिको शारीरिक, मानसिक र सामाजिक विकासमा सन्तुलन ल्याई कुसल जीवन जिउन सहयोग गर्ने उनको भनाइ थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीले विज्ञान, समाज र वातावरणसँग सम्बन्धित विविध सिर्जनात्मक तथा अवधारणात्मक प्रदर्शनीहरू प्रस्तुत गरेका थिए । गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीका अध्यक्ष विष्णुप्रसाद घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा दमही नगरपालिका–५ का अध्यक्ष ओमप्रसाद सुवेदी, लमही नगरका संस्थापक नगर प्रमुख कुलबहादुर केसी, नारायण भुसाल, रेशमबहादुर बुढालगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक प्रकाश वली र शीला रिजालले गरेका थिए ।