गोरक्ष समाचादाता
देउखुरी, २० पुस । लमही बजार क्षेत्रमा वृहत सरसफाइ अभियान सञ्चालन गरिएको छ । ‘स्वस्थ नगर, स्वस्थ नगरबासी’ भन्ने मूल नाराका साथ लमही नगरपालिकाले लमही बजार क्षेत्रमा वृहत सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले स्वच्छ वातावरण नगर विकासको आधार भएको उल्लेख गर्दै सरसफाइ अभियानलाई निरन्तरता दिनेमा जोड दिए । ‘नगरपालिका मात्रको प्रयासले सहर सफा रहँदैन, यसका लागि प्रत्येक नगरबासीको सचेतना र सक्रिय सहभागिता आवश्यक छ’, उनले भने, ‘आजको अभियानले लमहीलाई सफा, सुन्दर र स्वास्थ्यकर नगर बनाउने अभियानलाई थप ऊर्जा दिएको छ ।’
यसैगरी लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले स्वच्छता मानव स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले सरसफाइलाई अभियानका रूपमा मात्र नभइ दैनिक जीवनशैलीसँग जोड्न आग्रह गरिन् । फोहोर व्यवस्थापन, प्लास्टिक प्रयोगको न्यूनीकरण र सार्वजनिक स्थानको संरक्षणमा सबैले आआफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले नगरपालिकाले स्वच्छता प्रवर्धनका लागि नीतिगत तथा संरचनागत तयारी गरिरहेको जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी ‘सागर’ले वडास्तरमै सरसफाइलाई प्राथमिकतामा राखेर नियमित अभियान सञ्चालन गरिनुपर्ने बताए ।
वृहत सरसफाइ अभियानले लमही बजार क्षेत्र सफा बनाउनुका साथै स्वच्छता र सामूहिक उत्तरदायित्वको सन्देश पनि दिएको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालले बताए । लमही चेम्बर अफ कमर्शका अध्यक्ष किरणकुमार बुढाथोकीले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा र एकता बढाउँदै समग्र नगर विकासमा टेवा पुग्ने बताए ।
नगरपालिकाले आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिँदै लमहीलाई सफा, सुरक्षित र सुन्दर नगरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नगरपालिकाको आयोजना तथा विभिन्न सुरक्षा निकाय, संघसंस्था र स्थानीयको सहभागितामा सुरु गरिएको कार्यक्रममा अभियानले बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउन सबैको सहभागिता आवश्यक रहेकोेमा जोड दिएका थिए ।
अभियानमा नेपाली सेना ज्वाला दल गण अर्जुनखोला, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ रिजर्भ गण अर्जुनखोला, वडा प्रहरी कार्यालय लमही, अस्थायी ट्राफिक पोस्ट लमही, नगर प्रहरी, लमही नगर विकास समिति, अजम्मरी सामुदायिक वन, देउखुरी उद्योग वाणिज्य संघ, लमही चेम्बर अफ कमर्श, नगरपालिकाका कर्मचारी, टोल विकास संस्था, पत्रकार तथा स्थानीयको उल्लेख्य सहभागिता थियो । सहभागीले सडक छेउ, नाली, फुटपाथ, सार्वजनिक स्थानमा थुप्रिएका फोहोर सङ्कलन गर्दै वातावरण स्वच्छ राख्न सामूहिक श्रमदान गरेका थिए ।