गोरक्ष समाचारदाता
दाङ, २० पुस । दाङ भ्याली यातायात प्रालि घोराही शाखाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन घोराहीमा सम्पन्न भएको छ । प्रालिका अध्यक्ष महेन्द्र महराको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले अटो व्यवसायी दोहोरो करको मारमा नपर्ने बताए । अटोको दर्ता नवीकरण र रुटपर्मिटको अधिकार स्थानीय तहको भएको बताउँदै नगर प्रमुख चौधरीले कार्यान्वन घोराही उपमहानगरपालिकाले गर्ने बताए ।
कार्यान्वयन गर्न आवश्यक पर्ने ऐन, कानुन निर्माण गरिसकेको बताउँदै नगर प्रमुख चौधरीले भने, ‘स्थानीय तहले ऐन नियम निर्माण नगर्दासम्म प्रदेश सरकारले कर लिएको हो, अब सबै घोराही उपमहानगरपालिकाबाट हुन्छ ।’ उपमहानगरपालिकामा दर्ता नवीकरण र रुटपर्मिटको सेवा लिन सकिने उनको भनाइ छ ।
उपमहानगरपालिकामा दर्ता भएकालाई मात्र यहा चल्न दिइने उनले बताए । ‘यहाँको आवश्यकता अनुसार मात्र दर्ता गरेर सञ्चालन गर्न पाइनेछ, दर्ता नभएकालाई रोक लगाइने छ’, उनले भने । सहरदेखि ग्रामीण क्षेत्रसम्मका नागरिकलाई सेवा सुविधा दिँदै आएको बताउँदै नगर प्रमुख चौधरीले अटो व्यवसायीलाई पेसागत जिम्मेवारी वहन गरेर सेवा दिन आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले पेसालाई व्यवस्थित बनाउनतर्फ अटो व्यवसायीले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा प्रालिका अध्यक्ष महेन्द्र महराले अटो व्यवसायीलाई जिम्मेवार र व्यवस्थित बनाउन आफूहरू लागिपरेको बताए । राज्यको नियमका कारण आफूहरू समस्यामा पर्ने गरेको बताउँदै अध्यक्ष महराले सहज रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गरिदिन सम्बिन्धित पक्षसँग आग्रह गरे । कार्यक्रममा एनएलजी इन्सोरेन्स घोराहीका सन्तोष अधिकारीले बिमा व्यवसायमा सुविधा भएको बताए ।
कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन घोराही शाखा प्रयोजक बलजित दमाईले प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट चालक, ज्येष्ठ चालकलगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । प्रालि घोराही शाखाका वरिष्ठ सल्लाहकार मोहन खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रालिका प्रेस सल्लाहकार हेमराज नेपालीले गरेका थिए । अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।