गोरक्ष समाचारदाता
दाङ, २० पुस । अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वासुदेव रिजालको अध्यक्षता एवम् खानेपानी सरसफाइ डिभिजन कार्यालयका प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रमुख अतिथि न्यौपानेले बजेट कमी हुँदा काम गर्न समस्या हुँदै गएको बताए । पहिले ३० करोड बजेट आउने ठाउँमा अहिले १५ करोडभन्दा कम बजेट हुँदा बजेटका अभावले खानेपानीमा समस्या देखिनसक्ने बताए । योजनाको विषयमा सबैभन्दा चुनौतीको विषय भनेको खानेपानी रहेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले आफूहरू अम्बापुर खानेपानीमै निर्भर भएको भन्दै सुख्खा याममा पानीको सहजता गराउनुपर्ने बताएका थिए । संस्थाका उपाध्यक्ष किरण बिएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यालय सचिव सीमा भट्टराईले गरेकी थिइन् । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका सचिव निमबहादुर केसीले गरेका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष सूर्यचन्द्र रानाले गरेका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका १८ नम्बर वडाका वडा सदस्य किरण पोख्रेल, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल, अम्बापुर खानेपानी सरसफाइ उपभोक्ता समूहका सल्लाहकार नारायण अधिकारी, अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव दामोदर भुसाल, आधारभूत विद्यालय बेलघारीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर पौडेल, अम्बे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्रीधर अधिकारी, बयलडाँडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाल, ज्येष्ठ नागरिक सरोकार मञ्चका संयोजक बुद्धि चौधरीलगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा उपभोक्ता घोराही–१८ का ज्येष्ठ नागरिक ८४ वर्षीया कोकिलादेवी उपाध्याय र बासखोलीका कविराम पुरी, कर्मचारीहरू कार्यालय सचिव सीमा भट्टराई, प्लम्बर नरायण चौधरीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।