गोरक्ष समाचारदाता
दाङ, २० पुस । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा दाङको १५ औँ वार्षिक उपशाखा सभा शनिवार घोराहीमा भएको छ ।
नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाका सभापति थम्मन चौधरीको सभापतित्व तथा जिल्ला शाखा मन्त्री प्रकाश श्रीवन्दको प्रमुख आतिथ्यतामा भएको थियो । सभामा बोल्ने वक्ताले विपद व्यवस्थापनमा रेडक्रसको महत्वपूर्ण भूमिका हुने भएकाले सेवाभावले सबै लाग्नु पर्ने बताएका थिए । जिल्ला शाखा मन्त्री श्रीवन्दले घोराही उपशाखाले गरेको कार्यको प्रशंसा गर्दै घोराही उपशाखा जिल्लाकै उत्कृष्ट शाखा भएको र यसले समग्र जिल्लाकै प्रतिनिधित्व गरेको बताए । पुसको अन्तिम साता विधान अधिवेशन हुने र आगामी दिनमा विधान अधिवेशनले निर्देश गरे बमोजिम हुने वताए ।
वार्षिक उपशाखा सभामा जिल्ला शाखा सदस्य तथा जुनियर युवा रेडक्रस सर्कल जिल्ला संयोजक भीमलाल मरासनी र नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा निवर्तमान उपसभापति निशान्त आचार्यले घोराही उपशाखाले गरेका कार्यको प्रशंसा गर्दै विपद्मा घोराही उपशाखा सधैँ नागरिकको साथमा भएको बताउँदै र यो विश्वास कायम राख्न सबैलाई आग्रह गरे ।
रुकुम पश्चिमबाट स्थानान्तरण भई घोराही उपशाखामा आएका वेदबहादुर केसी र प्युठानबाट स्थानान्तरण भई घोराही उपशाखामा आएका ऋषिराम रिजालले रेडक्रस मानव सेवामा समर्पित संस्था भएकाले पूर्ववत जिल्ला जस्तै सक्रिय भएर कार्य गर्ने बताए । कार्यक्रममा संस्थापक सचिव योगेन्द्र न्यौपाने, उद्धव न्यौपाने, शाखा उपसभापति सावित्रा रानाले उपशाखाको उन्नयनका लागि प्रतिबद्ध भएको बताए । सभामा सविच इन्द्र बुढाथोकीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दुर्गा खत्रीले लेखा प्रतिवेदन प्रस्तुत गरेको प्रेस संयोजक विवेक खड्काले जानकारी दिए ।