कौशिक गोत्रीय रेग्मीहरूको वंशावली परिचर्चा

गोरक्ष समाचारदाता
प्युठान, २० पुस । कौशिक गोत्रीय रेग्मीहरूको वंशावली पुस्तकको स्वर्गद्वारी नगरपालिका–३, भिङ्ग्रीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

पुस्तकका लेखक तथा सङ्कलनकर्ता भोजराज रेग्मीको अध्यक्षता तथा वंशावलीका सदस्य ज्येष्ठ नागरिक प्रेमलाल रेग्मीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष तथा पुस्तकका सम्पादक एवम् प्रकाशक यम रेग्मीले वंशावली पुस्तकको समीक्षा गर्दै भने, ‘यो पुस्तक केवल वंशहरूको नामावली मात्र होइन, यसले इतिहास पनि बोल्छ । हाम्रा पुर्खाहरूको अवस्था कस्तो थियो, राज्यको कुन तहमा थिए । उनीहरूको सामाजिक तथा सांस्कृतिक स्थिति कस्तो थियो भन्ने सबै विषयलाई पुस्तकमा समेटिएको छ ।

देशमा घट्ने मुख्य घटनाका क्रममा पुर्खाहरूले खेलेको भूमिका र कति पुस्तासम्म कति दिन जुठो तथा सुतक पालन गरिन्थ्यो भन्ने कुरा पुस्तकले स्पष्ट पारेको छ ।’ कार्यक्रममा रेग्मी वंशका सबैभन्दा ज्येष्ठ नागरिक ९९ वर्षीय केशरादेवी रेग्मीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक हरिश्चन्द्र रेग्मीले गरेका थिए ।