गोरखा स्कुलको वार्षिकोत्सवले दिएका दुई सन्देश
खेमराज रिजाल
तुलसीपुर, १९ पुस । १५ वर्ष अघि तुलसीपुरमा खुलेको गोरखा माध्यमिक विद्यालय तुलसीपुरले १५औँ वार्षिकोत्सवमा अभिभावकलाई मुख्य गरेर बालबालिकाको समग्र विकासका लागि दुई सन्देश दिएको छ । पहिलो भर्चुअल अटुजम् (डिजिटल एडिक्सन) र अर्को मुख्य कुरा भनेको ड्रग एब्स (लागूऔषध दुव्र्यसनी)को समस्याबाट निराकरण ।
विद्यालयको वार्षिकोत्सवको तयारी प्रायः सबै विद्यालयमा करिब करिब एक महिना अघिदेखि नै हुन्छ । कसले स्टेजमा नृत्य प्रदर्शन गर्ने ? कसले गायन ? कसले प्रहसन, कसले स्पोर्टस, कुन कुन समूहले विज्ञान प्रदर्शनी ? यी विषय त विगत १५ वर्षदेखि चलिरहेका प्रक्रिया हुन् । हरेक अर्को वर्षको वार्षिकोत्सवलाई कसरी फरक शैलीले मनाउनेमा सबै विद्यालयले सकेजति बलवुताको प्रयोग गर्नु स्वाभाविक हो ।
प्रमुख अतिथि खोज्नेदेखि मञ्च सजावटका विषय पनि वार्षिकोत्सव समारोहकै अभिन्न अङ्ग हुने नै भए । अतिथिलाई स्कुल झल्कने मायाको चिनोको खोजीदेखि विद्यालयमा विभिन्न प्रतियोगितामा स्थान हासिल गर्नेलाइ दिने प्रमाणपत्रको साजसज्जा पनि अर्को पाटो ।
यी सवै व्यवस्थापन गरिसकेपछि गोरखा मावि तुलसीपुरले लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरलाई प्रमुख अतिथि बनाएर १५औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवमा शुभकामना मन्तव्यको सङ्ख्या थोरै राखिएको थियो । जसलाई जुन विषयमा बोल्न दिइयो त्यही विषयमा बोल्नै पर्ने वक्ताहरूको बाध्यता थियो । सायद शुभकामना व्यक्त गर्ने वक्तालाई वार्षिकोत्सवमा अभिभावक र विद्यार्थीबिच बोल्ने विषय अघिल्लै दिन दिइएको थियो । यसैले सोही अनुरूप तयारी गरेर वक्ताहरू वार्षिकोत्सवमा प्रस्तुत भए ।
शुभकामना मन्तव्यमा प्रस्तुत हुने क्रममा शिक्षक डम्बर डाँगीले खास गरी विद्यार्थीमा मोबाइलको कुलतले पार्ने प्रभावबारे अभिभावकलाई बताए । हुन पनि अहिलेको सबैभन्दा जल्दोबल्दो समस्या डिजिटल एडिक्सनकै छ । अर्थात् यसलाई भर्चुअल अटिज्मका रूपमा पनि डम्बरले व्याख्या गरे ।
बच्चा दुई÷तीन वर्षको उमेर छँदै आमाहरूले बच्चालाई मोबाइलको स्क्रीनमा लत बसाइदिँदा बच्चाको शारीरिक र मानसिक विकासमा कस्तो प्रभाव पर्दछ । त्यसपछि बच्चा स्कुल जान थालिसकेपछि माध्यमिक तहसम्मको अध्ययनका क्रममा मोबाइलको स्क्रीनमा लम्पसार भइदिएर अरू सबथोकमा वास्ता नगर्ने प्रवृत्ति के हो ? यसले अन्ततः विद्यार्थीको शिक्षालाई मात्र नभएर विद्यार्थिको शारीरिक र मानसिक अवस्थालाई नै कहाँसम्म पु¥याइदिन्छ भन्ने डम्बरले अभिभावकलाइ सरल र सहज भाषामा बुझाए । अहिले डम्मबर भर्चुअल अटिज्ममा एमफिल अध्ययन गर्दै छन् ।
डिजिटल एडिक्सनमा त फसिहाल्यो ? अब कसरी पार लाग्ने भन्ने विषयमा पनि विद्यालय परिवार, अभिभावक र विद्यार्थी स्वयम् बसेर एउटा काउन्सिलिङबाट यो समस्याबाट मुक्ति पाउने विषयमा उनले अभिभावकको ध्यानाकर्षण गराइरहँदा सबै अभिभावकले ‘म ! म !’ भनेर स्वीकार गरिरहेका देखिन्थे । केही अभिभावकमा खासखुस पनि सुनिन्न्थ्यो ।
हो, यो तीतो यथार्थबाट हामी माथि उक्लनै पर्छ भन्ने एउटा वार्षिकोत्सवको अभिव्यक्तिको सन्देष थियो । यसलाई अझै व्यावहारिक रूपमा प्रस्ट्याउनका लागि कार्यक्रममा एउटा यस्तै सन्देशमूलक नाटक पनि प्रस्तुत गरिएको थियो । यसमा विद्यालयका विद्यार्थीले नै आमा छोराको अभिनय गरेका थिए ।
शुभकामना मन्तव्यकै क्रममा पालो आयो गोरखाले भर्खरै मात्र व्यवस्थापनमा ल्याएको लालमटियाको स्कुलका प्राचार्य वसन्त पुनको । वसन्त लागूऔषधको विषयमा निकै ठुलो दख्खल पनि राख्छन् । विभिन्न संघसंस्थाले राख्ने लागूऔषध दुव्र्यसनी न्यूनीकरणका कार्यक्रममा उनी एउटा कुसल प्रशिक्षक बनेर दिक्षा दिइरहेका हुन्छन् ।
पुनले विशेष गरी विद्यालयमा विद्यार्थीहरू लागूऔषधको कुलतमा फस्ने उमेर समूह भनेको कक्षा ६ अध्ययन गर्दादेखि कक्षा १२ सम्म अध्ययन गर्दाताकाको हो । यो बिचमा अभिभावक सचेत हुन सके भने आफ्ना बालबालिकालाई सहजै लागूऔषधको दुव्र्यसनीबाट बचाउन सकिन्छ । त्यसका लागि उनले एउटा सहज उपाय पनि अभिभावकलाई सिकाए ।
‘हामीले विद्यालयमै लागूऔषध सेवन गरे÷नगरेको पत्ता लगाउने एउटा किट निःशुल्क रूपमा व्यवस्था गरेका छौँ, आफ्नो बच्चाको शङ्कास्पद गतिविधि देख्नुहुन्छ भने तपाईंको बच्चालाई सुरक्षित गरी हामीले सोही किटद्वारा तपाईंको बच्चा लागूऔषध सेवन गर्छ कि गर्दैन भन्ने जानकारी दिने छौँ’, पुनले स्टेजबाटै भने ।
नेपाल सरकार गृह मन्त्रालयको गत वर्षको तथ्याङ्कले कूल जनसङ्ख्यामा एक लाख ३० हजार चार सय २४ जना नेपालीले दैनिक जसो लागूऔषध प्रयोग गर्दछन् । त्यसमा अधिकांश टिनएजर स्कुले विद्यार्थी नै छन् । जुन मुलुकको भयावह अवस्था हो । खासमा ठुला भनाउँदा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा यो लत बढी देखिन्छ ।
‘अभिभावकलाई आफ्नो सन्तान लागूऔषधको कुलतमा फसेको सहजै अनुमान हुन्छ, समयमै जानकारी गराउन सके यसबाट मुक्त गराउन पनि धेरै कठिन छैन’, शिक्षक पुनको यो अभिव्यक्तिले अभिभावकलाई जागरुक बनाएको हुनुपर्छ ।
पछिल्लो नेपालमा सबैभन्दा विकराल समस्या भनेकै यी दुवै खाले एडिक्सन हुन् । यसले झुपडीदेखि दरबार कहीँ पनि बाँकी राखेको हुँदैन । यसको न्यूनीकरणको महान अभियान अब विद्यालयबाटै छेँडिनुपर्छ भन्ने सन्देश पनि विद्यालयको वार्षिकोत्सवले दिएको छ । त्यसो त विद्यालयले पछिल्ला केही वर्षदेखि विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभालाई जोड्न नियमित खेलकुद प्रतियोगितादेखि कथा लेखन प्रतियोगिता र सांस्कृतिक कार्यक्रमसहित अन्तरकल्चरल अभ्यासका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य एकेडमिक डिरेक्टर दुर्गा केसीले गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक पूर्णविक्रम डाँगीले गरेका थिए ।
