‘बाको अनुहार’ कवितासङ्ग्रहभित्रको विचार भाव र अनुभूति
सुनिल पोखरेल
समीक्षा
कवि विपुल पोख्रेलद्वारा रचना गरिएको कवितासङ्ग्रह ‘बाको अनुहार’ (२०८१) मा देशभक्ति, स्वतन्त्रता र समाजवाद मूल विचारका रूपमा आएको देखिन्छ । उनको यो कृति विशेषतः देशप्रतिको प्रेम अर्थात् राष्ट्रवादी विचारले भरिपूर्ण छ ।
यस्तै मानवीय जीवनको मूल पक्ष भनेको वैयक्तिक स्वतन्त्रता र छनौटको अधिकार हो भन्ने जीवन दृष्टि उनका कविताले बोकेको छ । यस्तै समानता र न्यायपूर्ण समाजको निमार्ण नै मानव समाजका उन्नत पक्ष हुन् भन्ने मूल भाव पनि उनका कविता पाइन्छ । समुन्नत, विकसित र एकतावद्ध राष्ट्रभित्र समानता र समतापूर्ण समाज निमार्ण गरी आम नेपाली मानवीय स्वतन्त्रताको भोग गर्दै जीवन बाँच्न पाउनु पर्छ भन्ने मान्यता ‘बाको अनुहार’ कृतिमा भेटिन्छ ।
मुख्यतः ‘बाको अनुहारमा आएको मूल विचार पक्ष भनेको राष्ट्रवादी विचार नै हो । उनका ‘आमा सुर्ता’, ‘माटोको गर्व’, ‘म नेता ः मेरो बकपत्र’, ‘अक्षर र निर्माण’, ‘बाको अनुहार’, ‘पितृको छायाँ’ र ‘चालक’ कवितामा मुख्य रूपमा राष्ट्रवादी विचार अभिव्यक्त भएका छन् । ‘माटोको गर्व’ कविताले वर्तमान राजनैतिक विकृति र विसङ्गतिले राष्ट्रियता कमजोर बनेको कुराको उठान गरी राष्ट्रप्रति सबै वफादार भएर काम गर्नु पर्ने विचार सम्प्रेषण गरेको छ ।
‘म नेता : मेरो बकपत्र’ कवितामा कुनै पनि पार्टीका कार्यकर्ता प्रथमतः पार्टीप्रतिभन्दा देशप्रति बफदार हुन जरुरी छ भन्ने राष्ट्रवादी विचार पाइन्छ । यस्तै ‘अक्षर र निर्माण’ कवितामा देश निमार्णमा साहित्य सहयोगी हुन्छ भन्ने विचार छ । ‘बाको अनुहार’ र ‘पितृको छायाँ’ कवितामा अघिल्लो पुस्ताले देश र समाज निमार्णका लागि गरेका योगदानको प्रशंसा गरिएको छ । यसरी पौरखी पुस्ताको गौरव गाथा गाउनु पनि राष्ट्रवादी विचार नै हो ।

‘चालक’ कवितामा सुरक्षित र उन्नत राष्ट्र निमार्णका लागि देशमा कुशल नेतृत्वको आवश्यकता राखी राष्ट्रवादी विचार पोखिएको छ । अतः देशभक्तिको भाव सञ्चरण गर्नु यस कविता सङ्ग्रको मुख्य विचार पक्ष हो ।
राष्ट्रिवादी विचार भएका कविताका हरफमा भाव पक्ष हेर्दा देशभित्र रहेको राजनैतिक विकृति र विसङ्गतिले देश कमजोर हुँदै गएका कुरालाई धेरै स्थानमा चित्रण गरेको देखिन्छ । ‘आमाको सुर्ता’ कवितामा कवि विपुल पोख्रेलेले देशलाई आमाको बिम्ब बनाएका छन् भने छोरालाई देशका आम नेपाली युवाको प्रतिकका रूपमा उभ्याएका छन् । बिरामी आमाले छोराको चिन्ता जनाएको कुरा यस कवितामा चित्रण गरिएको छ ।
बिरामी आमाका रूपमा हाल देश बिरामी परेको तथा यहाँ रहेका युवाको भविष्य के हुने हो भन्ने चिन्ता नै हाल देशको मुख्य समस्या हो भन्ने भाव यस कवितामा छ । शिक्षा, स्वास्थ्य, रोजगार देशमा सुलभ भए आम नागरिकको जीवन स्वतन्त्र र समुन्नत बन्छ र देश सुरक्षित हुन्छ भन्ने प्रसङ्ग केलाउदै कवि लेख्छन् :
त्यतिबेला भन्थिन होला
‘नानी त स्वतन्त्र छस् परेवाजस्तै उडेर आइज परपरसम्म
अनि थप्थिन होला
कछुवाजस्तै म पनि सुरक्षित छु
फर्केर आउनासाथ आवज दिनू
म टाउको निकालेर तेरो कपाल सुम्सुम्याउने छु ।
(आमाको सुर्ता)
देश भक्तिका कवितामा विशेषतः वर्तमान अवस्थामा देश जुन रूपमा अगाडि बढ्नु पर्ने हो त्यस रूपमा बढ्न नसक्दा युवा वर्गमा रहेको निराशाका अनुभूति पोखिएका छन् । वर्तमान समयमा राष्ट्रियता कम्जोर हुँदै जान थालेको त होइन भन्ने अनुभूति कवितामा यत्रतत्र छरिएर रहेको छ ।
‘बाको अनुहार’ कवितासङ्ग्रहमा रहेका कविताको दोस्रो विचार भनेको स्वतन्त्रताका पक्षमा आवाज उठाउनु हो । ‘अब म समाचार लेख्दिन’, ‘कविताको मन’, ‘प्रियतामा र जून’, ‘चराहरू’, ‘प्रियतमा’ ,‘म पोखिए’ ,‘आँखाको समुन्द्र’, ‘भिरफूल र प्रेम’, ‘अस्पतालको बेडमा प्रेमिल आँखा’, ‘आऊ, प्रेम बुझाऔँ, प्रेम सिकाऔँ’, ‘स्वतन्त्रता’ र ‘मन्दिर’ कवितामा स्वत्रताका पक्षमा आवाज उठाएका कविता हुन् ।
‘अब म समाचार लेख्दिन’ कविताले लेखन स्वतन्त्रताको पक्षमा आवाज उठाएको छ भने ‘कविताको मन’ मा कविता मानवीय भावना स्वतन्त्र रूपमा पोख्ने रचना हो भन्ने विचार अभिव्यक्त भएको छ । ‘प्रियतामा र जून’ कवितमा प्रेम मानवीय स्वतन्त्राको प्रतिक हो भन्ने विचार छ भने ‘प्रियतमा’, ‘म पोखिए’, ‘आँखाको समुन्द्र’, ‘भिरफूल र प्रेम’, ‘अस्पतालको बेडमा प्रेमिल आँखा’, ‘आऊ, प्रेम बुझाऔँ, प्रेम सिकाऔँ’, शीर्षकका कवितामा पनि प्रेमका विषयवस्तुका माध्यमबाट स्वतन्त्रताका विचार व्यक्त भएका छन् ।
मानवीय जीवनका प्रेम सम्बन्धले मान्छेका वैयक्तिक स्वतन्त्रताको पक्षमा पृष्ठपोषण गर्दछ । यो मानवीय भावनासँग सम्बन्धित पक्ष हो । अतः पोख्रेलका यी प्रेमका विषयवस्तुमा तयार पारिएका कविता पनि मानवीय जीवनका वैयक्तिक स्वतन्त्रताका आवाज हुन भन्न सकिन्छ । यस्तै ‘चरा’ शीर्षकको कवितामा मान्छे चराहरू जस्तै स्वतन्त्र भएर बाँच्न पाउनु पर्छ विचार अभिव्यक्त छ भने स्वतन्त्रता शीर्षकको कवितामा व्यक्तित्व निमार्णका लागि स्वतन्त्रता महत्वपूर्ण छ भन्ने मूल भाव व्यक्त गरिएको छ ।
‘मन्दिर’ कवितामा हरेक मान्छे आफ्नो सांस्कृतिक मूल्य र मान्यता बोकेर स्वतन्त्र रूपमा बाँच्ने अधिकार पाउनु पर्छ भन्ने विचार अभिव्यक्त छ । अतः मान्छेका वैयक्तिक स्वतन्त्रताका भाव कवितामा अभिव्यक्त हुनुबाट यस कवितासङ्ग्रहको दोस्रो विचार पक्ष प्रजातन्त्र प्रतिको आस्था हो भन्न सकिन्छ । मान्छे चेतनशील प्राणी भएका कारण ऊ आफ्नो निर्णय आफै गर्नसक्ने भएकाले उसले वैयक्तिक स्वतन्त्रता प्राप्त गर्नु पर्छ भन्ने भाव उनका धेरै हरफमा व्यक्त भएका छन् ।
देश निमार्णका सन्दर्भमा होस् या समाज सुधारका पक्षमा होस वा प्रेमका सन्दर्भमा किन नहोस् उसले आफ्नो व्यक्तिगत निर्णय दिन पाउनु पर्छ र निर्धक्क विचार अभिव्यक्त गर्न पाउनु पर्छ भन्ने भाव उनका धेरै हरफले बोलेको छ । मान्छे निर्धक्क भएर आफ्नो विचार अभिव्यक्त गर्न पाउनु नै मानव हुनुको अर्थ हो यसैबाट समुन्नत समाज बन्छ भन्ने भाव अभिव्यक्त गर्दै स्वतन्त्रताबाट मानव जातिले प्राप्त गर्ने कुरा प्रस्ट्याउने क्रममा लेख्छनः
त्यसैले मित्र तिमीले रोजेको बाटो
सत्यको बाटो हो
सफलताको बाटो हो
मनहरू जोड्ने बाटो हो
तनहरूको मिलनको मार्ग हो
सत्सङ्गको महाअभियान हो
मित्र त्यो नै स्वतन्त्रता हो
मनहरूको उच्चतम चाहाना हो ।
(स्वतन्त्रता)
हरेक मान्छे स्वतन्तापूर्वक आफ्ना कर्म गर्न र हरेक विचारमा आफ्ना वैयक्तिक विचार अभिव्यक्त गर्न निडर छ भन्ने अनुभूति उनका कविता पढ्दा प्राप्त हुन्छ । व्यक्तिगत छनौटका आधारमा जीवन बाँच्ने अनुभूति उनका स्वतन्त्राप्रेमी कविताले जगाइदिन्छ ।
यस कवितासङ्ग्रहमा प्रस्तुत तेस्रो विचार समाजवाद हो । ‘म नेता बने’, ‘सडकको महानता’, ‘रेखा’, ‘नियति विरुद्धको आह्वान’, ‘म पनि तिम्रो कित्तामा उभिन्छु’ र ‘पुरुष वेश्याको बयान’ कवितामा समाजवादी विचार अभिव्यक्त छन् । ‘म नेता बनेँ’ कवितामा नेताले समानता मूलक समाज बनाउनुको साटो सत्तामा पुग्न खोजेको कुरामा व्यङ्ग्य गरिएको छ ।
‘सडकको महानता’ कवितामा सडकले जसरी सबैप्रकारका मानिसलाई समान रूपले भोग गर्ने अवसर दिएको छ त्यसरी नै समाज पनि समानतामूल बन्न जरुरी छ भन्ने विचार छ । ‘रेखा’ कवितामा समानता मूलक समाजको निमार्णमा लाग्नु पर्ने सन्देश छ भने ‘नियति विरुद्धको आह्वान’ कवितामा लैगिक, जातीय वर्गीय, धार्मिक विभेद मुक्त समाजको आग्रह र समानतामूलक समाज निर्माणमा जोड दिइएको छ ।
‘म पनि तिम्रो कित्तामा उभिन्छु’ कवितामा वर्गीय विभेद मूक्त र समानतामूलक समाज निमार्णका लागि विद्रोह आवश्यक छ भन्ने विचार छ भने ‘पुरुष वेश्याको बयान’ कवितामा लैङ्गिक विभेदको विरोध र लैङ्गिक समानताको पक्षमा आवज उठाएको पाइन्छ । यस्तै ‘म आर्यघाट’ शीर्षकको कवितामा समानतामूलक समाज नै मानव सभ्यताको आवश्यकता हो भन्दै जसरी मृत्यु सबैका लागि समान छ र आर्यघाट जसरी विभेद गदैन त्यसरी नै समाज समानतामूलक हुनु पर्छ भन्ने विचार अभिव्यक्त भएबको छ ।
वर्गीय, जातीय, लैङ्गिक, धार्मिकजस्ता विभेदको अन्त्य हुन आवश्यक रहेको भाव उनका समाजवादी विचार भएका कविताका हरफहरूमा भेटिन्छन् । राजनीतिले आर्थिक र सामाजिक समानताको समाज निमार्ण गर्नु पर्छ भन्ने भाव यी कवितामा छन् । आर्थिक तथा सामाजिक विभेदका विरुद्ध समानतामूलक समाज निमार्णका लागि उत्पीडितका पक्षमा उभिन जरुरी छ भन्ने विचार अभिव्यक्त गर्दै कवि लेख्छन् ः
म पढेर परिवेशको पक्षमा भएँ्
तिमी परेर परिवेश बदल्न उभियौ
मित्र नढाँटी एउटा कुरा भुनूँ ?
म पनि मेरो टाइ र सुट फालेर
तिमीसँगै परिवेश बदल्ने लाइनमा
उर्जाका साथ जोडिन आतुर छुँ ।
(म पनि तिम्रो कित्तामा उभिन्छु)
उनका समाजवादी विचार भएका कविताभित्र समाज परिवर्तनका लागि विद्रोह गर्ने अनुभूति जगाउँछन् । कता कता पाठकको मनमा क्रान्तिको अनुभूति जगाएर समाज परिवर्तनको रेखा उनका कविताले कोरेको देखिन्छ ।
पोख्रेलको ‘बाको अनुहार’ कवितासङ्ग्रहमा आएका धैरैजसो कवितामा देशभक्ति, स्वतन्त्रता र समानतामूलक समाजको विचार एकाकार भएर आएका छन् । यस अघि राजनैतिक विचारको पुस्तक ‘नेपाली काङ्ग्रेसको यात्रा’ निकालिसकेका पोख्रेलले यहाँ पनि विश्वेश्वरप्रसादको वैचारिक पक्षमा सहमति जनाउँदै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल विचार बनाएको देखिन्छ ।
प्रत्यक्ष यी विचार आएका भए कविता राजैतिक विचारका नारा बन्थे होला तर कविले कवितामा कल्पनाको प्रयोग मार्फत राजनैतिक विचारलाई ढाकेर लक्ष्यार्थ र व्यङ्ग्यार्थबाट आफ्ना अभिव्यक्ति दिदाँ कविता सुरम्य बनेका छन् । चर्को र कर्कश स्वरमा नभई शिष्ट भाषामा कवितात्मक अभिव्यक्ति दिई यस कवितासङ्ग्रहमा कविले आफ्ना विचार अभिव्यक्त गरेका छन् ।
कल्पना शक्तिलाई बढाउँदै लैजानु पर्ने, अनुप्रास युक्त भाषाको प्रयोगमा जोड दिने, कोमल र स्तरीय पद पदावलीको प्रयोग बढाउनु पर्ने, बिम्ब र प्रतीकको प्रयोगमा अझ निक्खारता ल्याउनु पर्ने जस्ता कुरा कविले आगामी दिनमा सुधार्नु पर्ने पक्षका रूपमा देखिन्छन् । शान्त रसमा देश निमार्णका पक्षमा र स्वतन्त्रता तथा समाज परिवर्तनका पक्षमा वैचारिक अभिव्यक्ति दिनु यस कवितासङ्ग्रहको मूल उपलब्धि हो ।
