लमहीमा खानेपानीको स्रोत संरक्षणमा जोड
टेकबहादुर पुन
देउखुरी,१९ पुस । लमहीमा दिर्घकालिन रुपमा खानेपानीको समस्या समाधानका लागि पानीको श्रोत संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २१ औँ वार्षिक साधारण सभाका सहभागीले बढ्दो जनसंख्या र तीव्र शहरीकरणलाई मध्यनजर गर्दै निकट भविष्यमा पर्न सक्ने पानीको संकटलाई ध्यान राखेर योजना निर्माणमा ध्यान आग्रह गरेका हुन ।
लमही नगरपालिका क्षेत्रभित्र पछिल्ला वर्षहरूमा जनसंख्या उल्लेख्य रूपमा बढेसँगै खानेपानीको माग समेत तीव्र रूपमा बढिरहेको छ । विगतमा राप्ती नदी, अर्जुन खोला, पोखरी तथा राजकुलोहरू लमहीका प्रमुख पानीका स्रोतका रूपमा रहेका थिए । तीव्र शहरीकरण भइरहेको लमही क्षेत्रमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सह–लगानीमा करिब ३५ करोड ३५ लाख रुपैयाँभन्दा बढीको लागतमा खानेपानी आयोजना विस्तारको काम अघि बढाएको सँस्थाले जानकारी गराएको छ ।
त्यसैगरी यसअघि सञ्चालनमा आएको दोस्रो साना शहरी खानेपानी आयोजनाको क्षमता २ हजार ६ सय धारा वितरण गर्ने रहेको थियो । तर, हाल क्षमता भन्दा बढी करिब ६ हजार धारामा पानी वितरण हुँदै आएको छ । माग बढ्दै जाँदा नयाँ आयोजनाको आवश्यकता परेकाले सह–लगानीमा आयोजना विस्तार गरिएको अध्यक्ष सनमकुमार पौडेलले बताएका थिए । कार्यक्रमलाई उद्घाटन गर्दै लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले खानेपानीलाई संविधानले साझा अधिकारका रूपमा व्यवस्था गरेको बताए । कार्यक्रमका प्रमुख अतिथी रहेका चौधरीले पानीका स्रोत भएका स्थानीय तहहरूले स्रोत संरक्षणमा विशेष ध्यान दिनु अत्यावश्यक रहेको बताए ।
साधारणसभामा कोषाध्यक्ष श्यामलाल भण्डारीले आर्थिक वर्ष २०८१÷०८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै कुल ७ करोड ४४ लाख ६५ हजार ८ सय २८ रुपैयाँ ८५ पैसाको बजेट सार्वजनिक गरेका थिए । चालु आर्थिक वर्षमा हालसम्म आयतर्फ ३ करोड ९९ लाख ७८ हजार ७ सय ९१ रुपैयाँ र व्ययतर्फ २ करोड ७५ लाख ६१ हजार ४६ रुपैयाँ खर्च भएको जानकारी गराएका थिए । वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव बसन्त आचार्यले प्रस्तुत गर्दै नयाँ आयोजनाबाट आउने पानीलाई व्यवस्थित रूपमा वितरण गर्न उप–समिति गठन गरी अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लमही– ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकी, नेकपा एमाले लमही नगर कमिटी अध्यक्ष रतनकुमार केसी, नेकपा तर्फबाट दिललकुमार श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष जंगबहादुर चौधरी, सँघसँस्थाको तर्फबाट हरिकहादुर थापा, पत्रकारबाट दशरथ घिमिरे, टोल विकास संस्थाबाट तारा बहादुर खनाल, उपभोक्ताबाट पताम्बर गैरेलगातले मन्तब्य ब्यक्त गरेका थिए । उपाध्यक्ष शिवाकुमारी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव बसन्त आचार्यले गरेका थिए।
