Goraksha

National Daily

दाङ सडक मानवमुक्त घोषणा हुने

गोरक्ष समाचारदाता
दाङ, १९ पुस । दाङ जिल्लालाई यसै साता सडक मानवमुक्त जिल्लाका रूपमा घोषणा गरिने तयारी भएको छ । यस अघि सोमवार तुलसीपुर उपमहानगरपालिकालाई तामझामका साथ सडक मानवमुक्त पालिका घोषणा गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाका सडकमा खुल्ला आकाशमुनि रात बिताउने एक जना नागरिक पनि नरहेको भन्दै उपमहानगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी तुलसीपुरलाई सडक मानवमुक्त पालिका घोषणा गरेको थियो ।

तुलसीपुर उपमहानगरलाई सडक मानव मुक्त पालिका घोषणा लगत्तै तुलसीपुरको हात्तीखौवामा निजी व्यक्तिको घर भाडामा लिएर सडक मानवलाई खाना, नाना र छानासँगै औषधोपचारको समेत व्यवस्थापन गर्दै आएको मानव सेवा आश्रम तुलसीपुरले बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मानव सेवा आश्रम शाखा कार्यालय तुलसीपुरको आर्थिक वर्ष २०८१÷०८२ को आयव्यय तथा प्रगति सार्वजनिक, सामाजिक लेखा परीक्षणको आयोजना गरेको थियो ।

स्थानीय समाजसेवी डिल्लीबहादुर बस्नेतको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको विशिष्ट आतिथ्यतामा स्थानीय समाजसेवी, शिक्षासेवी, राजनीतिकर्मी, उद्योगी, व्यवसायी, विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि, अधिकारकर्मी तथा पत्रकारलगायतको अर्थपूर्ण उपस्थितिबिच सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

समावसेवी एवम् महिला नेतृ सुष्मा गिरी लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको सामाजिक परीक्षण कार्यक्रममा सहसंयोजक सुशीला घर्तीले आर्थिक वर्ष ०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनको प्रतिवेदनमा हालसम्म मानव सेवा आश्रमले देशका सातै प्रदेशका २९ वटा सेवा केन्द्रहरू सञ्चालन गर्दै दुई हजार बढी बुबाआमा, दाजुभाइ, दिदीबहिनी, भाइबहिनीलगायतको खाना, नाना र छानाको व्यवस्थापनसँगै स्वास्थ्योपचार सेवासमेत प्रदान गर्दै आएको उल्लेख गरिएको थियो ।

२०७८ सालमा तुलसीपुरुमा स्थापना भएको मानव सेवा आश्रमले सडकापेक्षि ८१ जना नागरिकको पालनपोषण र औषधोपचार गर्दै आएको उनको प्रतिवेदनमा उल्लेख छ । आश्रममा १२ देखि ८१ वर्ष उमेर समूहसम्मका नागरिक रहेका छन् । सडकबाट उद्धार गरिएका केहीलाई घरपरिवारमा पुनःस्थापन गर्न सफल भएको उनको प्रतिवेदनमा जनाइएको छ ।

सोही अवसरमा प्रदेश संयोजक सरोज अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । लेखा प्रतिवेदनलाई पारदर्शीता दिँदै अडिट रिपोर्टसमेत प्रतिवेदनसँगै प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले पूर्वी दाङको देउखुरीमा, घोराहीको नारायणपुरमा र तुलसीपुरको हात्तीखौवामा समेत सहयोगापेक्षी सडक मानव आश्रम सञ्चालनमा आइसकेकाले अबको एक साताभित्रै सिङ्गै दाङलाई सडक मानव मुक्त घोषणा गर्नुपर्ने बताए । यसको समय जिल्ला समन्वय समितिले गर्ने उनले बताए ।

‘आइतवारै जिल्लाका १० वटै पालिकालाई बैठकमा बोलाएर जिल्लालाई सम्भवतः यही महिनाको २२ गते सडक मानव मुक्त जिल्ला घोषणा गर्न आफूले सक्दो प्रयास गर्ने बताए । समावसेवी डिल्लीबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख खड्काले पश्चिम दाङका सहयोगापेक्षी सडक मानवलाई आश्रम निर्माणको काम चाँडै सम्पन्न गर्न दान कबोल गर्ने व्यक्ति तथा संस्थालाई चाँडै सहयोग गर्न आग्रह गरे ।

‘हामीले निर्माणाधीन मानव सेवा आश्रमलाई चाँडै सम्पन्न गराउनुछ, भाडामा चल्दै आएको आश्रमलाई नयाँ आवास नबनुन्जेलका लागि निरन्तरता दिनु पर्नेछ, त्यसैले आफूले बोलेको सहयोग रकम चाँडो बुझाउन सबैमा विनम्र अनुरोध गर्छु’, नगर प्रमुख खड्काले भने । सो अवसरमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, इलाका प्रशासनका अधिकृत जनक भण्डारी, ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष खुमानन्द अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमका हिरुले गरेका थिए ।