विद्यार्थीलाई न्यानो कपडार र प्याड सहयोग
प्रमेश चौधरी
दाङ, १९ पुस । नेपाल महिला सामुदायिक सेवा केन्द्रले विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । बिहिबार घोराहीमा एक कार्यक्रम आयोजना गरी केन्द्रले पढाइमा सहयोग गरेका विद्यार्थीलाई न्यानो कपडा र बालिकालाई स्यानिटरी प्याड वितरण गरिएको हो ।
जाडो मौसममा बालबालिकालाई विद्यालय जानका लागि सहज होस् भन्ने उद्देश्यका साथ बालबालिकालाई सहयोग प्रदान गरिएको केन्द्रले जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष बिमला योगीले संस्थामा स्थापना गरेको बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तर्गत न्यानो कपडा प्रदान गरिएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवम् संस्थापक अध्यक्ष बिमला योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा प्रवर्धन गरिएको लैङ्गिक हिंसा पुनःस्थापना केन्द्रले उत्पादन गरिएको पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड पनि वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि योगीले संस्थाले स्थापनादेखि नै कुनै पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले बालबालिकाको शिक्षा अभियान सुरु गरेको बताउँदै यो अभियानलाई अझै व्यापक रूपमा अगाडि बढाउने बताइन् । ‘सामाजिक कार्य गर्ने भनेरै यो संस्थाको स्थापना गरेका हौँ, संस्था स्थापनासँगै हाम्रो अभियान भनेको बालबालिका पढाउने हो ।
आर्थिक अभावका कारण बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भनेर हामीले अभियान सुरु गरेका हौँ’, उनले भनिन्, ‘यो अभियान हामीले तीन दशकदेखी निरन्तर अगाडि बढाइरहेका छौँ, आगामी दिनमा यो अभियानलाई अझै बलियो बनाएर जाने छौँ ।’
सशक्तीकरणका लागि शिक्षा कार्यक्रमका कार्यक्रम संयोजक कल्पना डाँगीले विद्यार्थीको व्यक्तिगत सरसफाइबारे जानकारी दिएकी थिइन् । विद्यार्थी सिर्जना खड्काले पुनःप्रयोग गर्न मिल्ने स्यानिटरी प्याड प्रयोगबारे जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण मनोविमर्शकर्ता निर्मला चौधरीले गरेकी थिइन् । कार्यक्रममा २९ जना विद्यार्थीलाई न्यानो कपडा र २१ जना किशोरी र अभिभावकलाई स्यानिटरी प्याड प्रदान गरिएको थियो ।
