Goraksha

National Daily

कांग्रेस महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित

गोरक्ष समाचारदाता
काठमाडौं, १९ पुस । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ । शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित गरेको हो ।

पुस २६–२८ सम्मको महाधिवेशन तालिका प्रभावित भइसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेका थिए । महामन्त्रीहरू विशेषको तयारीमा जुटेपछि कार्यवाहक सभापति खड्काले नयाँ प्रस्ताव पेस गरेका गरेका थिए । यसअघि मङ्सिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६–२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।

पारित भएको नयाँ निर्वाचन कार्यतालिका अनुसार चैत २१ गते वडा अधिवेशन, चैत २५ गते गाउँ÷नगर अधिवेशन, चैत २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, वैशाख २ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन र वैशाख ५ गते दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन र वैशाख १०, ११ र १२ गते प्रदेश अधिवेशन र वैशाख २८, २९, ३० र ३१– केन्द्रीय अधिवेशन गर्ने प्रस्ताव रहेको छ ।
महामन्त्रीको फरक मत

यसैबिच नेपाली कांग्रेस १५औँ महाधिवेशन सारेर वैशाख २८–३१ मा गर्ने निर्णयप्रति महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका छन् । बैठकमा महामन्त्री थापा र शर्मासहित नेता अर्जुननरसिंह केसी, फर्मुल्ला मन्सुर, उमा रेग्मीले फरक मत राखेका हुन् ।

उनीहरूले बैठकमा नियमित तालिका ल्याएपनि विशेष महाधिवेशनको मागबाट भाग्न नमिल्ने भन्दै फरक मत राखेका हुन् । थापाले यसबारे प्रस्ट पार्दै भने, ‘विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको तीन महिनाभित्र अधिवेशन बोलाउनु पर्नेछ । पुसको २८–२९ तीन महिनाको अन्तिम म्याद हो ।’ कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन् ।