-मनोज पौडेल
बर्दियाली जनताले बाघ पालेर के पाए ? गर्व ? अन्तर्राष्ट्रिय प्रशंसा ? कि पर्यटकको ताली ? हैन; पाए डर, त्रास र अकाल मृत्यु। आज बर्दियामा बाघ संरक्षण एउटा गौरवको विषय होइन, पीडाको दस्तावेज बनेको छ।
जंगल छेउका बस्तीमा बस्ने जनताका लागि बाघ अब वन्यजन्तु होइन, प्रतिदिनको खतरा बनेको छ। खेतमा काम गर्न जाँदा, गाईवस्तु चराउन निस्किँदा, बाटोघाटो हिँड्दा कुन बेला बाघले आक्रमण गर्छ भन्ने कुनै निश्चितता छैन। बाघको उपस्थितिले मान्छेको जीवन यति असुरक्षित भएको छ कि “घरबाट निस्कनु” नै जोखिमपूर्ण निर्णय हुन थालेको छ।
आज दैनिकजसो बाघले मानिसमाथि आक्रमण गरिरहेको समाचार सामान्यजस्तै सुनिन थालेको छ। बस्तीभित्र बाघ पसेको छ, विद्यालय जाने बालबालिकाको डर, परिवारहरूको रोदन र सदस्य गुमाउँदाको पीडा, यी सबै दृश्यहरू अब बर्दियाको वास्तविकता बनेका छन्। यस्तो अवस्थामा प्रश्न उठ्छ हामीले आफ्नो ज्यान दाउमा राखेर, पूरै विश्वका लागि बाघ किन पाल्नुपर्ने? बाघको संरक्षणको नाममा बर्दियाली जनताको जीवन किन सस्तो बनाइयो?
सरकार भन्छ; बाघ संरक्षणमा नेपालले ऐतिहासिक सफलता हासिल गर्यो। बाघको संख्या दोब्बर भयो, विश्वले प्रशंसा गर्यो। तर त्यो सफलताको मूल्य कसले चुकायो ? बर्दियाली जनताले। जसको खेत, घर, गोठ, बाटो, जीवन सबै बाघको छायामा परेको छ। जसको जिल्लाको ठूलो हिस्सा बफर जोनभित्र पारिएको छ, जहाँ नियम कडा छन्, तर सुरक्षा कमजोर। संरक्षणको नाममा जंगल त सुरक्षित भयो, तर जंगल छेउको मान्छे असुरक्षित भयो।
अझ विडम्बना त के भने सरकारले “इको-टुरिज्म”, “ग्लोबल कन्जर्भेसन सक्सेस” यी शब्दहरू अन्तर्राष्ट्रिय मञ्चमा भन्दा मिठासपूर्ण सुनिन्छन्। तर बर्दियाली आमाले गुमाएको छोरो, बर्दियाली बालकले गुमाएको बुबा, बर्दियाली परिवारको उजाडिएको भविष्य यी शब्दहरूको कुनै मूल्य छैन ? विदेशी खुसी हुनुपर्छ, तर आफ्नै नागरिक मर्नुपर्छ, यो कस्तो नीति हो ?
सबैभन्दा गम्भीर कुरा के हो भने, संरक्षणको नाममा स्पष्ट नीति र मापदण्डको अभाव देखिन्छ। जंगलको आकार अनुसार कति बाघ, कति हात्ती, कति गैंडा रहन सक्छन् भन्ने वैज्ञानिक मापदण्ड छ कि छैन? यदि छ भने, त्यो मापदण्डभन्दा बढी जनावर बढेपछि के गर्ने ? स्थानान्तरण ?
नियन्त्रण ? व्यवस्थापन ? कि केवल “संख्या बढ्यो” भनेर खुसी हुने ? यदि बाघको संख्या जंगलले धान्न नसक्ने अवस्थामा पुगेको छ भने, त्यसको सीधा असर बस्तीमा पर्नु स्वाभाविक हो। तर त्यो असरको जिम्मेवारी कसले लिने ?
आज बर्दिया जिल्लाको ठूलो हिस्सा बफर जोनभित्र पर्दछ। यसको अर्थ हो; जनताको दैनिक जीवनमा अनेक प्रतिबन्ध। जंगलबाट दाउरा ल्याउन कठिन, घाँस काट्न डर, राति बाहिर निस्कन निषेधजस्तै अवस्था। तर बफर जोनको नाममा जनतालाई के सुरक्षा दिइयो? बाघ बस्तीमा पसेर मान्छे मर्दा, सरकार र सम्बन्धित निकायहरू “अनुगमन गरिरहेका छौं” भनेर तल्लो स्वरमा प्रतिक्रिया दिन्छन्। तर त्रासमा बाँचेका जनताको चिच्याहट कसले सुन्ने?
कहिलेकाहीँ क्षतिपूर्ति दिइएको सुनिन्छ। गाई मरेको पैसा, मान्छे मरेको राहत। तर के त्यो रकम मान्छेको जीवनसँग तुलना गर्न मिल्छ? के बाबु गुमाएका बालबालिकाको आँसु पैसाले पुछिन्छ ? के आमा गुमाएका सन्तानको खाली काख क्षतिपूर्तिले भरिन्छ ? क्षतिपूर्ति राहत हुन सक्छ, समाधान होइन। यो त पीडामाथि सस्तो देखावटी मलहम मात्रै हो।
संरक्षण र मानव सुरक्षाबीच सन्तुलन खोज्नु नै राज्यको जिम्मेवारी हो। वन्यजन्तु संरक्षण आवश्यक छ, यसमा दुई मत छैन। तर संरक्षणको नाममा नागरिकको जीवन जोखिममा पार्नु कुनै पनि हालतमा जायज हुँदैन। बाघको संख्या बढाउनु उपलब्धि हो भने, जनताको मृत्यु रोक्नु त्योभन्दा ठूलो उपलब्धि हुनुपर्छ। यदि दुवै सँगै सम्भव छैन भने, प्राथमिकता स्पष्ट हुनुपर्छः पहिला नागरिक, त्यसपछि वन्यजन्तु।
अब समय आएको छ, भावनात्मक नारा होइन, व्यावहारिक नीति बनाउने। जंगलको वहन क्षमताअनुसार बाघ र अन्य वन्यजन्तुको संख्या निर्धारण गर्ने, बढी भएको अवस्थामा वैज्ञानिक ढंगले स्थानान्तरण वा अन्य व्यवस्थापन गर्ने, उच्च जोखिम क्षेत्रका बस्तीमा तत्काल सुरक्षा उपाय लागू गर्ने, बाघ आक्रमण रोकथामका लागि आधुनिक प्रविधि प्रयोग गर्ने, र सबैभन्दा महत्वपूर्ण; स्थानीय जनतालाई निर्णय प्रक्रियामा सहभागी गराउने।
संरक्षण जनताविरुद्ध होइन, जनतासँग मिलेर हुनुपर्छ। बर्दियाली जनता कुनै पनि हालतमा संरक्षणका शत्रु होइनन्। उनीहरू केवल आफ्नो जीवन सुरक्षित चाहन्छन्। जंगल बचोस्, बाघ बचोस् तर त्यसका लागि मान्छे मर्न नपरोस्। यही साधारण तर गम्भीर माग आज बर्दियाको आवाज बनेको छ।
यदि राज्यले अझै पनि संरक्षणको नाममा जनताको पीडातिर आँखा चिम्लिरह्यो भने, बाघ र मान्छेको द्वन्द्व केवल वन्यजन्तुको समस्या रहने छैन; यो राज्यप्रति नागरिकको भरोसा टुट्ने गम्भीर संकटमा परिणत हुनेछ। अब प्रश्न स्पष्ट छ—बर्दियामा बाघको संरक्षण कि बर्दियाली जनताको बलिदान? यसको उत्तर अब ढिलाइ नगरी दिनैपर्छ। बर्दियाली जनताको जीवन किन यति सस्तो?