मेरो खुशी : एक दर्जन कपी…

  •   
  •  

उमेरको ‘ग्राफ’ उक्लिँदै थियो । त्यही बढ्दो ग्राफभित्र घोराही उपमहागरपालिका १६ का भुवन चौधरीले पहिलो खुसी फेला पारे, त्यो पनि एक दर्जन कपी, पेन्सिल र किताबमा । मिति एकिन छैन । तर ६ कक्षाको वार्षिक परीक्षाफल । अन्य कक्षामा पनि राम्रो नै थियो, रिजल्ट । तर ६ कक्षामा भने प्रथम नै भए । ‘कक्षा प्रथमसँगै विद्यालयले एक दर्जन कपी, पेन्सिल र ७ कक्षाको किताबसँगै ठूलो मान्छे बन्नु भनेर विद्यालयका गुरुबाट आशीर्वाद’, उनले भने– ‘त्यो नै जीवनको पहिलो खुसी हो ।’ गरिखाने परिवार । पढ्नलाई पनि त्यति सहज थिएन ।

तर पढ्ने इच्छा सगरमाथाजस्तै अग्लो थियो । ‘त्यो पुरस्कारले झन उत्साह थप्यो, विद्यालयमा गुरुहरुको प्रिय र साथीभाइहरुसँगको सम्बन्ध नजिक मात्र होइन पढाईको राजमार्ग नै फराकिलो बनायो’, उनले भने । सीमित कपी, पेन्सिल र डटपेन किनेर पढ्दै आएको मैले एकैपटक त्यति धेरै त्यो पनि किताबसँग पाउँदाको खुसीको मापन गर्न सक्ने अवस्था नै थिएन । ‘त्यो खुसीको मापन गर्ने मेजरमेन्ट यो आधुनिक विज्ञानले आविस्कार गरेको छैन । छ त केवल त्यो बेलाको खुसीको अनभूति मात्र छ’, उनले भने ।

नेपाली नागरिक भएको प्रमाण बोल्ने नागरिकताले ४२ वर्ष लगाइदिएको छ । यो सयमसम्म आउँदा उनको जीवन धेरै सरल रेखामा नै छ । त्यो उनलाई बुझ्नेहरु पनि त्यो नै भन्छन् । तर उनी भन्छन्– ‘जीवनमा सरल र बक्ररेखा दुवै छन् । सरल रेखा सबैले देख्छन् तर बक्र रेखा कमैले देख्छन् । स्वयले भोग्ने हो । दोस्रो खुसी उनले लखनौको विवेकानन्द अस्पतालमा प्राप्त गरे । त्यो आमासँग । आमा लामो समयसम्म बिरामी हुनुभयो । नेपालका धेरै ठाउँमा चेकअप गराउने काम भयो । तर निको भएन । धेरैको सल्लाह अनुसार लखनउ विवेकानन्द अस्पताल लगियो । डाक्टरलाई देखायौं । अल्सर भएको छ । अप्रेशन गर्नुपर्छ । तर अप्रेशन नगर्ने औषधिले नै निको बनाउने सोच हाम्रो । अप्रेशन महंगो थियो ।

तर पैसा थिएन । अस्पतालको बसाई लामो भइसकेको थियो । भएको पैसा पनि सकिन लागेको थियो । सबै अन्योल र चिन्तामा थियौ । फेरि डाक्टरले रिपोर्ट हेर्ने भन्यो । त्यो अनुसारको चेकजाँच भयो । रिपोर्ट सुधारोन्मुख आयो । डाक्टरले रिपोर्ट हेरेर भन्यो ‘अब अप्रेशन गर्नु पर्दैन । बिरामीको सुधार भएको छ । घर लगेर जान सकिन्छ । ‘त्यो समयमा निकै खुसी भएको थियो । सायद त्यो बेला मेरो मात्र होइन आमाको अनुहारमा बेग्लै खुसी देखेको थिएँ’, उनले भने– ‘त्यो खुसी अझै ताजै छ ।’ उमेरको बढ्दो ग्राफसँगै तेस्रो खुसी उनले विवाहपछिको पहिलो सन्तान प्राप्तिमा भेटे । पहिलो सन्तान छोरी नै होस भन्ने दुवैजना (बुढा–बुढीको) को चाहना । संयोग पनि त्यसै २०६४ फागुनमा पहिलो सन्तान प्राप्ति भयो । त्यो पनि आफूहरुले चाहेकै छोरी । साविकको महेन्द्र अस्पताल । प्रसूति बेडमा उनी । म चाहिँ बाहिरै । छटपटीको तापक्रम बढेकै थियो । त्यो बीचमा छोरीको जन्म भएको खबर चिकित्सकले दिए । त्यो अर्को खुसीको क्षण हो ।

घर नजिकैको स्कुलबाट उनले औपचारिक शिक्षा प्रारम्भ गरे । दौडेर १० मिनेट । सुस्त–सुस्त हिडेमा बढीमा २० मिनेट । त्यहाँबाट शुरु भएको उनको औपचारिक शिक्षा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयसम्म पुगेको छ । उनले त्यो विश्वविद्यालयबाट एमफिल पूरा गरेका छन् । २०६६ सालमा उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा मास्टर सकेका थिए । उच्च शिक्षासँगै जागिर र पढाई उनको जीवनमा घाम–छायाँजस्तै छ । कुनै समय जागिर अनि पढाई, कहिले पढाई अनि जागिर । ‘जागिरको बीचमा एमफिल पूरा गरेँ’, उनले भने– ‘त्यो जीवनको अर्को खुसी हो ।’ २०६९ सालमा अध्ययनको लागि विश्वविद्यालयमा फारम भरेको थिएँ । फारम त भरे तर आश मारिसकेको थिए । फारम भरेको लामो समय भइसकेको थियो । फारम भर्दा गाउँकै ठेगाना लेखेको थिए । संयोग म त्यो बेला गाउँमै बस्दै आएको थिएँ । हुलाकीले मेरो नामको चिठी दियो । खोलेर हेर्दा आफू छानिएको रहेछु । ‘त्यो चिठी पढ्दा साँच्चै आनन्दको खुसी प्राप्त भएको थियो’, उनले भने– ‘विद्यार्थी भएको त्यो बेला महसुस भयो ।’

सूचना तथा सञ्चार प्रविधिको पहँुच क्रमशः बढ्दै थियो । उनको प्रेमको ग्राफ पनि बढ्दै थियो । घरमै सिडिएमए फोन । अहिले जस्तो हात–हातमा मोवाइल, फेसबुकको जमाना थिएन । फोन गर्नको लागि पनि कुनै ठाउँको नम्बर दिनुपर्ने । त्यही गरेर पनि उनी दुबैले मायामा मलजल गरिनै राखे । पहिलो भेट एकिन छैन, तर विद्यार्थीकालमै हो । थारु विद्यार्थी वा अनेरास्ववियुको अभियानमा नै भेट भयो । त्यही पहिलो भेट नै प्रेमको गोरेटो भयो । त्यही गोरेटोमा हिँड्दै २०६४ बैशाख ५ गते तुलसीपुर उपमहानगरपालिका ८ वटवलपुरबाट सुलोचना चौधरीलाई घरमा भित्र्याएँ । त्यो पनि जीवनको अर्को खुसी हो । दुवैले कोरेको प्रेम गोरटो रंगीन नै छ । विवाहअघिको प्रेम कति थाहा नपाएर पनि भयो । तर पछिको प्रेम थाहा पाएर नै गरिन्छ । उनले जानेको र गर्दै आएको प्रेम यही नै हो ।

२०३५ साल माघ १२ गते बुवा छोटीलाल र आमा स्यानी चौधरीको कोखबाट कान्छो सन्तानका रुपमा जन्मेका उनका दुई सन्तान छन् । उनको जीवन पनि बहरुपी गराजस्तै छ । राजनीति, सामाजिक अभियान्ता, लेखन सबै छ उनको । दुई वर्षअघि उनी थारु कल्याणकारिणी सभा दाङको अध्यक्षमा निर्वाचित भए । त्यो पनि मेरो लागि अर्को खुसी हो’, उनले भने– ‘यही फोरमबाट थारु मुभमेन्ट अघि बढेको छ ।’ त्यसैगरेर उनी लेखनमा पनि त्यतिकै छन् । थारु भाषामा गजलसंग्रह प्रकाशन गरेका छन् भने धेरै पत्रपत्रिका सम्पादन गर्ने गरेका छन् ।

(चौधरी थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष हुन्)
                                                                                                    प्रस्तुति :  इन्द्र डिसी