शैक्षिक विकासमा गोरखाको भूमिका महत्वपूर्ण
गोरक्ष समाचारदाता
दाङ, १८ पुस । दाङको शैक्षिक विकासमा गोरखा इन्टरनेसनल सेकेन्डरी स्कुलको महत्वपूर्ण भूमिका रहेको सहभागीले बताएका छन् । घोराही–१४ स्थित गोरखा स्कुलको २८ औँ वार्षिकोत्सवको अवसरमा बिहिबार आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताले गुणस्तरीय शिक्षासँगै नैतिक, अनुशासन र सिर्जनशीलताका क्षेत्रमा गोरखा स्कुलको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अब्बल जनशक्ति उत्पादनमा गोरखा स्कुलको भूमिका महत्वपूर्ण रहेको बताए । शिक्षा पाठ्यक्रममा मात्र सीमित हुने विषय नरहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख चौधरीले विद्यार्थीलाई विभिन्न खेलकुदका कार्यक्रममा सहभागी गराउनेदेखि सोच्न, लेख्न, सिर्जना गर्न र विचार अभिव्यक्त गर्न सिकाउनु अहिलेको आवश्यकता रहेको बताए ।
गोरखा ग्रुप दाङका अध्यक्ष विष्णुप्रसाद घर्तीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा बोल्ने वक्ताले गोरखा स्कुलले शिक्षा र खेलकुदका माध्यमबाट अब्बल जनशक्ति उत्पादनमा भूमिका खेलेको बताए । दाङमा शिक्षाको उज्यालो छर्न विद्यालय र शिक्षकले अभूतपूर्व काम गरेको बताए ।
कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन, नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष निर्मल आचार्य, काठमाडौं विश्वविद्यालयका सन्दीप ढुङ्गाना, विद्यालयका संस्थापक अध्यक्ष मानसिंह बुढा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, लागूऔषध अभियन्ता वसन्त पुनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गोरखा ग्रुपका प्रमुख कार्यकारी निर्देशक नवलसिंह घर्तीले ग्रुपले वर्षभरी गरेका कामबारे जानकारी गराएका थिए । प्रधानाध्यापक मानसिंह घर्तीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक शोभाकर पन्थीले गरेका थिए ।
