खेमराज रिजाल
दाङ, १७ पुस । बिपी चोकस्थित निसन्तान उपचार केन्द्रमा बुधवार चहलपहल देखियो । संस्था खुलेको गत चैतमा मात्र हो । संस्थाको उदेश्य भनेकै विभिन्न कारणले सन्तान नभएका महिला÷पुरुषको उपचार एवम् परामर्श सेवाद्वारा सन्तान प्राप्ति गराउनु हो । उपचार केन्द्रको सानो वेटिङ हलमा अधबैँसे युवायुवती करिब २० जनाको हाराहारीमा थिए ।
अघिल्तिर दुई जना महिला बसेका थिए । २८ वर्षीया सीता परियार र २८ वर्षकै सिर्जना परियार । सीताको विवाह भएको १३ वर्ष भइसकेको छ भने सिर्जनाको १० वर्ष । निसन्तानपनको उपचार गराउँदै जाँदा उनीहरू त्यही बिपि चोकको निसन्तान उपचार केन्द्रमा पुगे । चिकित्सकबाट उपचार र परामर्श लिँदै गर्दा अहिले उनी दुवै जना गर्ववती भएका छन् । अस्पतालले उनीहरू गर्भवती भएकोमा सानो फङ्सन ग¥यो, केक काटेर मनोभावना साट्ने र खुसी बाँड्ने ।
सीताले केक काटिन, सिर्जनालाई खुवाइन् र सिर्जनाले केक काटिन् सीतालाई खुवाइन् । साथमा उनीहरूका श्रीमान् र अन्य उपचाररत महिला÷पुरुष पनि थिए । आमा बन्न सकलाई मन लाग्दैन र ? त्यही खुसी बाँड्ने क्रममा उनीहरूको अनुहारमा आमाको अनुभूति देखिन्थ्यो । सायद समयपछि दुवैजना आमा बन्नेछन् । उनीहरू गत वैशाखदेखि केन्द्रको सम्पर्कमा आएर उपचार सेवा सुरु गरेका थिए ।
अहिले उनीहरू आमा बन्ने भएपछि खुसी छन् । यद्यपि उनीहरू आमा बन्नका लागि अझै केही समय कुर्नुपर्ने भएको छ । ‘उहाँहरू र बच्चाको स्वास्थ्य सामान्य र राम्रो छ, सायद हन्डे«ड प्रतिशत सक्सेस बन्नुहुन्छ होला’, उपचारमा संलग्न महिला रोग तथा निसन्तान विशेषज्ञ डा रोशनी केसीले भनिन् ।
खासमा यो उपचार केन्द्रको प्रमुख अस्पताल चितवनमा छ । त्यहाँ टेस्टट्युव बेबीसम्मको सेवा उपलब्ध छ भने शाखाका रूपमा २०८१ चैतमा दाङमा खुलेको यो संस्थाले निसन्तानपन भएका महिला÷पुरुषको उपचार र परामर्श सेवा दिँदै आएको छ । अस्पताल खुलेदेखि हालसम्म संस्थाबाट छ सय १५ जनाले सेवा लिइसकेको अस्पतालका सञ्चालक विजय भण्डारीले बताए । ती मध्ये ५० जना बढी महिला आमा बन्न सफल भएको उनले बताए ।
निसन्तान विशेषज्ञ डा रोशनीका अनुसार समयमा सन्तान नहुनुमा विभिन्न कारण हुन सक्छन् । कसैले ढिलो विवाह गरेका कारण हुनसक्छ भने कुनै पुरुषमा सुक्रकिटको मात्रा उत्पादन नै कम हुने तथा पाइन्छ । महिलामा पनि डिम्बको कम उत्पादन नै नहुने जस्ता समस्या हुन सक्छन् । उपचारका क्रममा ती सबै समस्या निदान गर्न सकेपछि गर्भ रहन सहज हुने रोशनीले बताइन् ।
कुनै कुनै महिलाको पाठेघरमा सङ्क्रमण भएका कारण बच्चा नअड्ने जस्ता समस्या पाइएको उनले बताइन् । यी सबैलाई नियमित नियाल्दै उपचारको प्रक्रिया सुरु गरे कृत्रिम गर्भाधानबिनै सहजै बच्चा जन्माउन सकिने तथ्य आफूहरूले फेला पारेको उनले बताइन् ।
उपचारका क्रममा गर्भाधान गराउन कसैकसैको सुक्रकिट केही दिनसम्म टेस्टट्युवमा राखेर महिलाको पाठेघरमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यसका लागी केही बढी खर्च लाग्न भए पनि सामान्य जाँचका लागि जाँच खर्च लाग्ने तर कुनै अतिरिक्त शुल्क नलाग्ने डा रोशनीले बताइन् । अस्पतलालमा यस्ता महिलालाई सेवा दिने गरी तीन जना तालिम प्राप्त नर्स पनि कार्यरत छन् । प्रयोगशालाका लागि एक जना ल्याव टेक्निसियन पनि रहेको अस्पतालका सञ्चालक भण्डारीले बताए । सेवाग्राहीको चाँप बढ्दै गएकाले थप सेवा विस्तार गर्ने तयारीमा रहेको निसन्तान केन्द्रले बताइएको छ ।
महिलाहरू आमा बन्ने चाहनामा लाखौँ रुपैयाँ खर्च गरेर बाहिर जाने मान्यतालाई रोक्न र स्थानीय स्तरमै यो उपचार सेवा दिन आफूहरूले चितवनबाट दाङमा सेवा सुरु गर्न शाखाका रूपमा उपचार केन्द्र सञ्चालन गरेको सञ्चालक भण्डारी बताउँछन् । छ सय १५ जनालाई उपचार सेवा प्रदान गर्दा ६७ जना महिला आमा बन्न सफल हुनुलाई आफूले सफलताका रूपमा लिएको उनी बचाउँछन् ।