राष्ट्रिय सभाका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लीलाधर वली
दाङ, १७ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित प्रदेश निर्वाचन कार्यालयको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

दाङका जिल्ला न्यायाधीश एवम् निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको अध्यक्षतामा बुधवार घोराहीमा भएको कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । राष्ट्रिय सभामा सदस्यका लागि लुम्बिनी प्रदेशबाट एक जना अपाङ्ग, एक जना महिला र एक जना अन्य गरी तीन जनाको पद रिक्त हुँदैछ । रिक्त हुने तीन पदमा आगामी माघ ११ गते लुम्बिनी प्रदेशको घोराहीमा निर्वाचन हुँदैछ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस १९ गते मतदाताको नामावली प्रकाशन गरिनेछ । यसैगरी पुस २० गते प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी, पुसको २१ र २२ गते निवेदन तथा उजुरी उपर छानबिन र कारबाहीे, २२ गते अन्तिम नामावली प्रकाशने, २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र सूची प्रकाशन, २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ र २६ गते मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र २६ गते उम्मेदवारको नामवली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।

यसैगरी पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ ११ गते निर्वाचनका लागि मतदान गर्ने कार्यतालिका रहेको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बोल्दै निर्वाचत अधिकृत प्रकाशप्रसाद पण्डितले लोकतन्त्रको समृद्धि र विकासका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले शान्तिपूर्ण वातावरणमा निर्वाचन गर्नका लागि सबै पक्षसँग समन्वय र सहकार्य हुने बताए । कार्यक्रममा बोल्ने अन्य वक्तले लोकतन्त्रको समृद्धि र विकासका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोग हुने बताएका थिए । कार्यक्रममा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला न्यायाधीश एवम् जगेडा निर्वाचन अधिकृत टिकेन्द्र दाहाल, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक दीपक श्रेष्ठलगायतको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख लालसिंह खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला अदालतका तसिलदार अमृत पौडेलले गरेका थिए ।