सुशासनको वकालतका लागि पारदर्शी दल कांग्रेस बन्नुपर्छ

भुवन पोख्रेल

नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई नियाल्ने हो भने मुलुक चुनावको पूर्वसन्ध्यामा पुगेको छ । देशमा चुनावी माहोल र चलपहल छ । नेताहरु जेन–जी आन्दोलनपछि पुनः पुरानै लयमा फर्कँदै छन् । दलहरु चुनावी सङ्घारमा उभिरहँदा जनमत कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्दै योजना बुन्दै छन् ।

लोकतन्त्रको कडी निर्वाचन भएकाले जनताले यस महत्वपूर्ण घडीमा सच्चा राष्ट्रप्रेम भएको दक्ष उम्मेदवारलाई चुन्ने र भ्रष्टाचारीहरुलाई पाखा लगाउने बेला यही हो । जनताहरु पार्टीका घोषणापत्र, नेतृत्वका चर्का भाषण र प्रतिबद्धतामा चिप्लिनु हुँदैन । यदि गलत नेतृत्वलाई हामीले चुनेर शासन सत्तामा पठायौँ भने मुलुक फेरि पाँच वर्ष दल–दलमा फस्न सक्छ त्यसर्थ देश र जनतालाई निकास दिने जुझारु, अग्रगामी सोच भएको सक्षम नेतृत्वको खोजी गर्ने ममौका यही हो ।

समयको यस घडीलाई सही सदुपयोग गर्न सक्यो भने पछि आफूले भोट दिएर पठाएको कुशल भनिएको नेतृत्वले आफ्नै कोखामा छुरा चलाउँदा नि सहन विवश बन्नुपर्छ । सबैको मत अबमूल्य छ त्यसर्थप्रत्येक नागरिकले आफ्नो अमूल्य मतलाई खेर जान दिनु हुँदैन । नेपालका प्रत्येक ऐतिहासिक कालखण्डमा परिवर्तनको विगुल फुकिन्छ ।

गौरवमय इतिहास बोकेका नेपालका राजनीतिक दलहरुप्रति गुनासो गर्ने ठाउँ छैन तर त्यही दलका शीर्ष नेतृत्वप्रति जनताको निराशालाई कसरी आशाको दियो बनाएर रोशनी भर्ने चुनौती देखिन्छ । जनताले पटक–पटक कुल्चेर व्यक्तिगत स्वार्थमा रुमलिँदा अहिले स्थिति सिर्जना भएको हो । जनताको ज्यू, धन र व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्न नसक्ने नेतृत्वले कसरी नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी ग्यारेन्टी दिनसक्छ ।

नेपालमा १०४ वर्षे निरकुंश जहानीयता राणा शासनको अन्त्य भयो जनताका छोराछोरी शिक्षाको अवसरबाट बञ्चित थिए । शिक्षाको पारिलो घामबाट कोही पनि बालबालिका बञ्चित हुन नपरोस् भनेर २००७ सालको प्रजातन्त्रसँगै मुलुकमा विद्यालयहरु घमाघम खुले । सर्वसाधरण नागरिकमा शिक्षाको लहर आयो र चेतनाको दियो सल्किया । फेरि मुलुकमा पटक–पटक आन्दोलन, तोडफोड, हत्या हिंसाजन्य क्रान्ति भए । परिवर्तनका खातिर २०४६ सालको प्रथम जनआन्दोलन भयो मुलुक फेरि प्रजातन्त्र आयो ।

मुलुक बहुदलीय व्यवस्थामा परिणत भयो । २०४६ सालमा संविधान बन्यो अब जनताले मुलुकमा रुपान्तरणको लहर आउँछ भन्ने अपेक्षा गरे । नीति बदल्यो तर जनताको नियती बदल्न सकिएन । नेपालमा बहुदलीय व्यवस्था भएपछि सर्वसाधरणलाई शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय प्राप्त हुन्छ भनी आश्वासन बाँडियो तर सबै सुविधा नेताका आसेपासेले मात्र प्राप्त गर्न सक्ने भए । आम जनता जहिल्यै निराश बन्नु परेको छ ।

परिवर्तनका निमित्त आन्दोलनमा होमिएका सहिद, सहिदका परिवार, बेपत्ता भएकाहरुका सपना साकार हुन पाएनन् । मुलुकमा आन्दोलन र क्रान्तिमा होमिएका नागरिकले परिवर्तनको महसुस गर्न पाएका छैनन् । जनतालाई बारम्बार सपना बाड्ने, आश्वासन बाड्ने, सत्तामा पुग्ने भ¥याङ बनाउने तर सत्तामा पुगेपछि खोला त¥यो लौरो बिर्सियो भने झै जनताको माझ गरेका बाचा, प्रतिबद्धता र घोषणालाई तिलाञ्जली दिने प्रवृतिको सिकार नेपाली नागरिक बनेको हुँदा अब जनता नेतृत्वप्रति रुष्ट भएका छन् ।

भ्रष्ट नेतृत्वका चिप्ला भाषणबाट नेतृत्व जोगिने बेला आएको छ । नेपालमा २०५२ सालदेखि १० वर्षे सशस्त्र माओवादी द्वन्द्व भयो । जनयुद्धको नाममा गरिएको क्रान्तिमा १७ हजार नेपाली नागरिकले जीवन आहुति गर्नुप¥यो । मुलुक रुपान्तरणको सपना बोकेर कयौँ नागरिक युद्धमा होमिए, मुलुकमा अशान्ति भयो, विकासका पूर्वाधारहरुमा भौतिक क्षति पुग्यो, मानवीय क्षति भयो तर मुलुकमा माओवादी सत्तामा दुई तिहाइको बहुमत लिएर पुग्दासम्म कुनै परिवर्तनको महसुस जनताले गर्न प्रत्यक्ष पाएनन् । हो, मुलुक सङ्घीयतामा प्रवेश ग¥यो ।

अहिले सङ्घीय, प्रादेशिक र स्थानीय तह गरी तिन तहको सरकार छ । तर, जनतालाई गाउँ–गाउँमा सिहंदरबार भनेर लगाइएको खोक्रो नारा–नारामा मात्र सीमित बन्न पुगेको छ । तीनै तहको सरकारबिच सहअस्तित्व, सहकार्य र समन्वय हुन नसकेको देखिन्छ । सङ्घीयताको नाममा मुलुकलाई ऋणको भारी बोकाइएको छ ।

अहिले मुलुकमा संविधान सभाबाट लेखिएको नेपालको संविधान २०७२ लागु गरिएको छ । संविधानका भाग, धारा र उपधारहरु कानुन त उत्कृष्ट छन् । जनताका मौलिक हक र अधिकारलाई समेटिएको छ । कागजका पानामा लेखिएको नियम कानुन व्यवहारमा अझै उत्तार्न सकिएको छन् । संविधधानको कार्यान्वयनको पाटो कमजोर देखिएको छ ।

नेपालमा ऐन, नियम, कानुन बन्छन् तर व्यवहारमा लागु हुँदैन तसर्थ जनताले प्रत्यक्ष परिवर्तनको महसुस गर्न नसकेका हुन् । अहिले मुलुकमा सङ्घीय लोकतान्त्रिक व्यवस्था लागु छ तर नेतृत्व वर्गले लोकतन्त्रको मर्म बुझ्न सकेका छैनन् । विशेषगरी पुराना राजनैतिक दलहरुमा त झन लोकतान्त्रिक अभ्यास नै देखिँदैन ।

समय मै महाधिवेशन गरेर युवा, जुझारु र सक्षम नेतृत्वलाई पुस्तान्तरण गरी पार्टीलाई जीवन्त बनाउँदै पुरानो पुस्ता अभिभावकीय भूमिकामा बस्नुपर्छ भन्ने प्रजातान्त्रिक राजनीतिक अभ्यास विकास गर्न सकेका छैनन् । पाको पुस्ताले अब राजनीतिकबाट सन्यास लिएर युवा पुस्ताका काँधमा राजनीतिक अभिभारा सुम्पिनु पर्दछ । नेपाली नागरिक नेपालका पुरानो इतिहास बोकेका शीर्ष दलका शीर्ष नेताहरुसँग वाक्क दिक्क भएको जेन–जी आन्दोलनबाट पनि प्रष्ट देख्न सकिन्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका पार्टी अध्यक्ष केपी ओली, माओवादीका प्रचण्ड पुराना नेतृत्व हुन् । यी नेतृत्वले मुलुकको शासन सत्ताको बाघडोर बारम्बार सम्हाल्ने अवसर पाएका हुन् । यिनीहरुलाई जनताले पटक–पटक मतदान गरी चुनावमा जिताएर पठाएका हुन् । यी शीर्ष नेतृत्वबाट नागरिकले आशा र भरोसा गरेका पनि हुन् । देश बनाउने जिम्मा दिएर पठाएको नेतृत्व पद, पैसा, प्रतिष्ठाको भोकमा जनविश्वासलाई कुल्चन पुगे ।

सत्ता गठबन्धनको जालझेलको राजनीतिक संस्कारले गर्दा भागबण्डाको खेलमा खेलाडी बनेर निस्कन पुगे । जनतालाई गरेका बाँचा, प्रतिबद्धता र घोषणालाई पटक–पटक बिर्सेर सत्तालिप्सामै रमाइरहे । मुलुकमा भ्रष्टाचार व्याप्त भइरहँदा उल्टै आफूहरुले भ्रष्टाचारीलाई संरक्षण गर्दै हिड्ने सुशासन र पारदर्शीता भन्ने नागरिकले महसुस गर्न नै नपाउने गरी मुलुकलाई फुटबल बनाएर पालो–पालो अभ्यास गर्दै झिला–झिला पार्न पुगे ।

अहिलेको सूचना र प्रविधिको युगमा उनीहरुको अधिनायकवादी शासन शैलीको विरोध स्वरुप अब सामाजिक सञ्जालमार्फत् जनचेतना जागृत हुने लहर आएको चाल पाएर उनीहरुले सामाजिक सञ्जालमार्फत् बुलन्द हुने आवाजलाई रोक्नका लागि सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाए । जसको परिणाम स्वरुप राजनीतिमा पुस्ता अन्तरण हुनुपर्छ भन्ने माग राखेर जेन–जी युवाहरु सडक प्रदर्शनमा उर्लिए ।

जनदबाबलाई थेग्न नसकेर नेपाली कांग्रेस र एमालेको गठबन्धनमा बनेको केपी ओली सरकारले युवाहरुमाथि गोली प्रहार गरी दर्जनौँ युवाहरुको निमर्म हत्या ग¥यो । सरकारको यस किसिमको दुई तिहाइको दम्ममा भएका अराज क्रियाकलापको विरोधमा भाद्र २४ गते आम नागरिक आन्दोलित भई सडकमा उत्रिए ।

केपी ओलीको राजिनामा माग गर्दै तोडफोड, आगजनिक अप्रिय घटना घट्न पुगे । मुलुकको ठुला प्रशासनिक निकाय सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतमा तोडफोड र आगजनिक घटनाहरु भए । नेताहरुका घरमा आगजनी र तोडफोडका साथै व्यक्तिगत सम्पत्ति माथि पनि आगजनी र तोडफोड भयो ।

काठमाडौँ बाहिरका सरकारी कार्यालयहरुमा पनि तोडफोड र आगजनीका कारण मुलुकले ठुलो नोक्सानी व्यहोर्नु प¥यो । विकास र समृद्धिको सपना बाडेका केपी ओली आफ्नो जिउ धनको सुरक्षाको खोजीमा सेनाको शरणमा पुगे । प्रधानमन्त्रीको पदबाट राजिनामा दिएर मुलुकलाई सरकार विहीनताको स्थितिमा छाडेर कुलेलम ठोक्दाको परिणाम झन मुलुकमा अप्रिय घटनाहरु घट्न पुगेका हुन् ।

मुलुक अभिभावक विहीनताको स्थितिमा पुगेको यो ऐतिहासिक दुःखदक्षणलाई नेपाली नागरिकले कदापी भुल्ने छैनन् । जनताको अभिमत पाएर अहंकार स्वरुप गर्जन गर्ने नेतृत्वलाई अगामी निर्वाचनले कुचो लगाएर बडार्ने छन् ।

मुलुकलाई अनिर्णयको बन्दी बनाएर जनतालाई संरक्षकको भूमिकाबाट भागेकालाई फेरिजनमत माग्ने कुन अधिकार प्राप्त हुन्छ होला र ।

जब–जब मुलुकमा बाधा व्यवधानहरु आइपर्छन् तब–तब कुशल नेतृत्व अग्रपंक्तिमा उभिएर ढाड बनि नागरिकको आट भरोसा बन्न सक्नुपर्छ । नागरिकलाई सम्हाल्न सक्नुपर्छ । डर, त्रास र भयबाट जनतालाई ढक्कर सुरक्षित पार्न सक्ने हुनुपर्छ आगामी नेतृत्व । अबको नेतृत्व आपत विपतका परिस्थितिमा पुछ्र च्यापेर भाग्ने लुते कुकुर जस्तो नभई सिंहनाथ गरी गर्जेर शत्रुलाई परास्त गर्न सक्ने हुनुपर्छ ।

पुराना दलहरु राम्रा छन्, उनीहरुका नीति, सिद्धान्त पनि राम्रा छन् । ऐतिहासिक कालखण्डमा पुराना दलहरुले पनि गरिमामय काम गरेका छन् तर यी पुराना दलहरुको नेतृत्वको कार्यशैली परिर्तवन हुन जरुरी छ । पुरानै शैली र दर्शमा शासन गर्न खोज्ने नेतृत्वलाई अब नागरिकले पाखा लगाउने छन् । नेपाली कांग्रेसको इतिहास खोतल्ने हो भने गौरवशैली इतिहास छ ।

विपी कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेसको समाजवादको सिद्धान्त वर्तमान परिस्थितिमा पनि उत्तिकै लोकप्रिय देखिन्छ । नेपाली कांग्रेस नीति, सिद्धान्तबाट कत्ति पनि विचलित नभई जनपक्षीय र जनवर्गीय नेतृत्व चयन गर्न सक्ने हो भने नेपाली कांग्रेसको अझै सुन्दर भविष्य छ । नयाँ शक्तिहरुको कार्यशैली अझै नेपाली जनताले हेरका छैन । यी नयाँ पार्टीहरु जनताको कठधारामा उभिन बाँकी छ ।

जनताको नजरमा खारिन बाँकी छ । नयाँ हुनासाथ सबै दुधले नुहाएका हुँदैन त्यसर्थ जनताको अदालतमा पटक–पटक बहसमा आएको जनविश्वास बोकेको र ऐतिहासिक गरिमा बोकेको नेपाली कांग्रेस आफ्नो सिद्धान्त र मर्मबाट विचलित हुनु हुँदैन । बरु पार्टीभित्रको आन्तरिक शुद्दिकरणतर्फ अग्रसर हुनु जरुरी छ ।

पार्टी भित्रको आन्तरिक लोकतन्त्र मजबुद भया भने पार्टी पनि मजबुद हुन्छ । नेपाली कांग्रेस आफ्नै मौलिक विचार, सिद्धान्त, नीति र मर्मबाट विचलित हुनु हुँदैन । बरु पार्टीलाई प्रजातान्त्रिक अभ्यास मर्मत नयाँ पुस्ताले डो¥याउनु पर्छ । युवाहरुलाई पार्टीभित्र जिम्मेवारी नदिँदा आकर्षण घट्न सक्छ । नयाँ पुस्ताको सोच, कार्यशैली नै फरक हुन्छ तसर्थ पार्टीलाई फराकिलो बनाउने हो भने शेरबहादुर देउवा लगायतका पुराना पुस्ताहरु पार्टीभित्र अभिभावकीय तथा सल्लाहकारको भूमिका मात्र सीमित रहनुपर्छ ।

फेरि केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका युवा पिढीले खेल नसक्ने हो भने पार्टी अधोगतितर्फ लाग्छ । नेपाली कांग्रेसभित्र सम्भावना बोकेका युवा पिढी पनि छन् जो देश र जनताको पक्षमा उभिन सक्छन् त्यही पुस्ताले अब हस्तक्षेपकारी भूमिका नखेल्ने हो भने यी पुराना नेताहरुले पार्टीको आत्मालाई जीवन्त बनाउनुको साटो आफूसँगै मृत्यु राटयामा पु¥याउँछन् र आफूसँगै विलिन बनाउन पुग्दछन् ।

पुराना दलका उही अनुहार, उस्तै घोषणा पत्र, उही दृष्टिकोण बोकेर चुनावी मैदानमा पुग्ने हो भने नेपाली कांग्रेस माइजङ बबुसाहेवको कोट झै एकदिन च्यातिएर धुजा–धुजा हुन्छ । समय क्रमसँगै चल्न नसक्दा राणाहरु पतन भएका हुन् । जनभावनालाई कदर नगर्दा राम्रा गौरवशाली इतिहास रचेका ठुला पार्टी पनि पतनको सङ्घारमा नपुग्लान् भन्न सकिँदैन ।

अरु जतिसुकै कुर्लेर गठबन्धन गरेर, भागबण्डाको राजनीतिक दौडमा कुदे पनि कांग्रेस शालिन भएर जनभावना र मर्मलाई बुझेर अघि बढ्यो यसको भविष्य उज्जवल छ । अरु दलहरु नयाँ शक्तिको रुपमा उदाउँदै छन् । तर, कांग्रेसले जनताको सुखदुःख पिरमर्काको साझी र साझेदार बनेर जनता माझ यतिका वर्ष बिताएको छ । यही कुरालाई मध्यनजर गर्ने हो भने कांग्रेस त्यति हतास बन्नु पर्दैन ।

नेपाली जनताको मनमुटुमा बसिसकेको कांग्रेस बेला–बेलामा आन्तरिक द्वन्द्वमा फस्दा छवि बिग्रन पुग्छ । लोकतान्त्रिक पार्टी भएका नाताले जनआकांक्षाको सम्बोधन गर्ने हुँदा जनभावना विपरित काम गर्न सक्दैन । हो, कांग्रेसले इतिहासका हरेक कालखण्डमा निर्णायक भूमिका खेलेकै छ । देश र जनता दिक्क भ्रमित हुँदा मुलुकलाई मार्गदर्शन गर्ने निर्णाय शक्ति नेपाली कांग्रेस हो ।

कांग्रेस नागरिकको आशा र भरोसाको केन्द्र बन्न सक्नुपर्छ । राणा शासनका अन्त्य होस्, चाहे पञ्चायत व्यवस्थाको अन्त्य, चाहे २०६२÷०६३ को आन्दोलन सबैमा नेपाली कांग्रेस अग्रपंक्तिमा उभिएर नेतृत्वदायी भूमिका खेलेको पार्टी हो । माओवादी शान्ति प्रक्रिया, संविधान सभाबाट संविधान लेखन जस्ता कार्यमा नेपाली कांग्रेस अग्रपंक्तिमा छ । जब–जब मुलुकमा देश र जनताले परिवर्तन चाहन्छन् तब–तब कांग्रेसले शंखघोष गर्दछ । अहिले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । यस ऐतिहासिक गम्भीर घडीमा मुलुकमा चुनाव हुँदैछ ।

यस्तो विषम परिस्थितिमा देश र जनतालाई निकास दिन पटक–पटक जनविश्वास जितेको नेपाली कांग्रेस नै सक्षम छ । युवा पुस्ता जेन–जीका भावनाहरुलाई समेटेर अहिलेको डिजिटल युगमा नेपाली कांग्रेसले घुँडा टेक्नु हुँदैन । नेपाली कांग्रेस हिजो पनि जनताको पक्षमा थियो, आज पनि जनताको पक्षमा छ र भोलि पनि जनताको पक्षमै हुनेछ ।
कृत्रिम गठबन्धन कांग्रेसका लागि धोका जनताको स्वच्छ, निष्पक्ष मतदानबाट मात्र कांग्रेसले जनविश्वास बटुल्न सक्छ । वैकल्पिक शक्तिसँग कांग्रेस जोडिनु आफैलाई अन्तरघात हुनु हो । त्यसर्थ कांग्रेस जनतामाझ जनताकै पार्टी बनेर उभिनु पर्छ ।