गोरक्ष समाचादाता
दाङ, १७ पुस । गुल¥या माघ सांस्कृतिक महोत्सव–२०८२, थारु सम्बत २६४९ को तयारी तीव्र पारिएको छ । ‘एकता, विकास र आत्मनिर्भरताको लागि सांस्कृतिक अभियान’ भन्ने मूल नाराका साथ गुलरिया टोल विकास संस्थाको मुख्य आयोजना तथा सौँरा बगाल गुलरियाकै सहआयोजनामा पुस २७ गते घोराही–१७ गुलरियास्थित सहिल नेत्रलाल पार्कमा आयोजना हुने महोत्सवको तयारी तीव्र बनाइएको हो ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा गुलरिया टोल विकास संस्थाका अध्यक्ष अशोककुमार चौधरीले अहिलेसम्म महोत्सवको करिब ७० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिएका छन् । उनका अनुसार महोत्सवका लागि विभिन्न समिति, उपसमिति तथा विभिन्न थारू गाउँ टोलमा पत्राचार गर्नुका साथै नाच दर्ता, आर्थिक सङ्कलनलगायतका काम तीव्र रूपमा भइरहेको छ । महोत्सवमा थारु समुदायको मौलिक संस्कृति, भाषा, साहित्य र खानपानको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सव संयोजक चौधरीले बताए ।
महोत्सवमा गाउँ–गाउँबाट आएका विभिन्न समूहद्वारा मघौटा नाच प्रदर्शन गर्नुका साथै थारू मौलिक गीत, विभिन्न झाँकी, थारू भाषाका साहित्यिक रचनाहरू प्रस्तुत गर्नुका साथै थारू परिकारको प्रवर्धन गर्नु गुल¥या माघ सांस्कृतिक महोत्सवको प्रमुख उद्देश्य रहेको संयोजक चौधरीले जानकारी दिएका छन् ।