युगले परिवर्तन खोज्दैछ

नारायणप्रसाद श्रेष्ठ

मानिसको असीमित चाहना र इच्छाले ल्याएको परिवर्तनले आजको वर्तमान निकै उकुसमुकुस भएर अगाडि बढिरहेको छ । मानिस आफै बुद्धिमान र सर्वश्रेष्ठ चिन्तक भएर पनि वर्तमानमा उब्जिएको अदृश्य समस्यामा ऊ आफै रणभुल्लमा छ । ज्ञानी र विवेकशील हुँदाहुँदै पनि आफ्नै आचरण र व्यवहारका कारण उत्पत्ति भएको समस्याले ऊ आफै पीडित भइरहेको छ । सृष्टिचक्रको इतिहाससँगै उत्पत्ति हुने, नष्ट हुने प्रक्रियामा रहेको जीवनचक्र हिजो जुन गतिमा अगाडि बढिरहेको थियो, आज पनि त्यो अवस्थाले निरन्तरतरा पाइरहे पनि मानिसको विचारमा नयाँ परिवेशको उद्घाटन हुनसकेको छैन ।

जन्मपछि मर्नुपर्ने सृष्टिको परिवर्तनलाई स्वीकार्दै आएको मानव जीवनभित्र पाप, पुण्य र धर्मको नाममा स्थापित चार युगलाई स्वीकार्ने हो भने अहिले कलियुगले अन्तिम अवस्थामा आफूलाई प्रदर्शन गर्न खोजेको देखिन्छ । मानिसको मन, विचार र व्यवहारमा आएको परिवर्तनलाई आत्मसात् गर्ने हो भने कलियुगको तमोप्रधान अन्तिम अवस्थामा पुग्न खोजेको देखिन्छ । सर्सर्ती हेर्ने हो भने हिजो सत्य युग जसरी सतोप्रधान भएर, त्रेतायुग आत्मसतोप्रधान भएर तथा द्वापरयुग आत्मरजोप्रधान भएर बितेको इतिहास पाइन्छ । त्यसरी नै आत्मतमोप्रधान भएर गुज्रन थालेको कलियुगले आफ्नो समय परिवर्तन गर्न खोजेको त होइन ? यो पनि वर्तमान अवस्थाले संकेत गर्न खोजेको देखिन्छ । क्षणिक लोभ, मोह र स्वार्थका कारणले ल्याएको विविध गतिविधिको शिकार मानिस स्वयं बनिरहेको परिस्थितिलाई मूल्यांकन गर्ने हो भने अहिले समयले कोल्टे फेर्ने अवस्था देखिएको छ ।

वर्तमान समयलाई मूल्यांकन गर्ने हो भने विविध रोगका कारणले मानिस आक्रान्त भइरहँदासम्म पनि उसको विचार र व्यवहारमा कुनै परिवर्तन देखिएको छैन । स्वार्थ यदाकदा झल्किरहेको अवस्था छ । मानवीय चरित्रमा विधि र विधानअनुकूल आचरण र व्यवहार प्रदर्शन हुनुपर्नेमा क्षणिकरुपमा प्राप्त भएको शक्तिको प्रदर्शनले दिउँसै लालटिन बाल्नुपर्ने अवस्था सिर्जना भएको छ । विधिविना सिद्धि प्राप्त गर्ने असफल प्रयास बढ्दैछ । मानवीय प्रवृत्तिमा गलत क्रियाकलापले डेरा जमाइसकेको देखिन्छ । विचारको संकुचनले जनजीवन त्रासमय भएको छ । भूक्षय, बाढी–पहिरो, सुख्खा मानिस स्वयंले निम्त्याइरहेका छन् । विगत केही समय पहिले आएको भूकम्पले देखाएको त्रासदिपूर्ण अवस्थाभन्दा झन् गम्भीर प्रकृतिको अदृश्य शक्तिले अहिले जनजीवन तहसनहस बनाइरहेको छ । प्रकृतिको दोहन गरी आफ्नो खुट्टामा आफै बञ्चरो हान्ने प्रवृत्तिले वर्तमान निकै उकुसमुकुस भएर गुज्रेको अवस्था छ । समाज अस्तव्यस्त भइरहेको छ । परिवार खण्ड–खण्ड भई टुक्रिनुका साथै बाबुछोरा, दाजुभाइबीच मनमुटाव बढ्न गई आपसी सम्बन्धमा चिसोपन बढिरहेको छ । भाइ–भाइबीच फुट, कलह बढ्न गई क्षणिक मोह र स्वार्थले उनीहरुबीच मनमुटाव भइरहेको छ ।

एक टुक्रा सम्पत्तिका लागि भाइ–भाइबीच काटमार भइरहेको छ । घरभित्रै महिला हिंसा बढिरहेको छ । आफ्नै स्वार्थमा तछाड–मछाड गरी एकले अर्कालाई हेर्ने र बुझ्ने दृष्टिकोणमा गलत मानसिकताले डेरा जमाइसकेको छ । मन, विचार र कर्ममा अहंकार बढिरहेको छ । आफ्नै स्वार्थमा लुटपुटिई एकले अर्कालाई उछिन्दै धर्म, संस्कृतिको मर्यादाविपरीत आचरण बढिरहेको छ । कर्तव्यको नाममा छाडा संस्कृति भित्र्याउने तथा चोरी–डकैती एवं लुटमारतर्फ मानिसको ध्यान जागृत हुन पुगेको छ ।

सत्य र असत्य छुट्याउनुभन्दा आफ्नो निहीत स्वार्थका लागि मानिस स्वयं गलत कार्यतर्फ आकर्षण भइरहेको छ । देखावटी र बनावटी कर्मलाई नै श्रेष्ठतम् ठान्ने आशक्तियुक्त विचारले वर्तमान गुम्सिँदै गइरहेको छ । यतिमात्र होइन, मानिस–मानिसबीच शंका, भय र विश्वासको संकट बढिरहेको छ । प्रतिशोधको भावनाले मानिसको मन, बुद्धि विचलित भइरहेको छ । बुद्धि र विवेकशील भएर पनि उसको सोच्ने क्षमतामा ह्रास आई आफूले आफैलाई नष्ट गर्ने कर्मतर्फ उत्प्रेरित भइरहेको छ । संस्कृति र संस्कार स्थापनार्थ रचना गरिएको वेदको अमूल्य निधिलाई पन्छाइँदैछ । दैवीय शक्ति लोप भई आसुरी शक्तिको बोलबाला बढ्दै गरेको छ । जन्म–मरणको इतिहासमा दोहोरिरहने उतार–चढावलाई पवित्र मनको तराजुमा तौलने शक्ति क्षीण भएको छ । विवेकशीलता गुमाई अरुको भरमा कृपापात्र र श्रद्धापात्र भएर जिउन बाध्य बनेको अवस्था छ । शिष्टाचारको बदला भ्रष्टाचार र अहंकारले प्रश्रय पाइरहेको छ । काग कराउँछ, पिना सुक्छ भनेझैँ भ्रष्टाचार निर्मूल गर्न शपथ लिएर व्यक्ति स्वयं भ्रष्टाचारको दलदलमा भासिँदैछन् । मानिस भित्रभित्र जलिरहेका छन् । यति हुँदासम्म पनि मानिसमा चेतनाको दियो बल्न सकेको छैन ।

यसरी समयले गति लिएको देखिन्छ । तसर्थ यसलाई सर्सर्ती हेर्ने हो र मानिसको छाडापनलाई बुझ्ने हो भने समयले कोल्टे फेर्न थालेको भन्न सकिन्छ । तसर्थ विचार र व्यवहारमा देखिएको स्खलन र मानिसलाई मानिसले पहिचान गर्न नसक्नुले एकले अर्कासँग डराउनुपर्ने अवस्था सिर्जना भएको छ । वास्तवकमा यी सबै परिवर्तनका कारक हुन् । वेदशास्त्रमा कलिको आत्मतमोप्रधान भएर तथा काटमार, लुछाचुड भएर गुज्रने छ भनी लेखेको सत्य विस्तारै प्रमाणित हुँदैछ ।

कलिको अन्त्य भनौं वा समयको परिवर्तन भनौं अथवा महाविनास भनौं, यी सबै एकैपटक हुने कुरा होइनन् । यो त क्रमिकरुपले झाँङ्गिँदै, नष्ट हुँदै जाने प्रक्रिया हुन् । जसरी वर्तमानमा मानिसको मन र विचार तथा आचरण र व्यवहारमा गैरजिम्मेवारी र अनुशासनहीन गतितिर मन परिवर्तन भइरहेको छ, आफ्नै कारणले आफूसँग डराउनुपर्ने अवस्था सिर्जना भएको छ, प्रकृतिले आफ्नो रुप आफै नफेरी बाध्यताले परिवर्तन हुने अवस्था देखाएको छ । वास्तवमा यो युगको परिवर्तन हुने संकेत हो भनी मान्न सकिन्छ । जब–जब पृथ्वीमा पापआत्मा र तमोगुणको बाहुल्यता बढ्नेछ, मानिस–मानिसमा बैरभाव बढी काटमार हुनेछ, कर्म र व्यवहारमा फरकs भई अविश्वासको वातावरण मडारिनेछ, नारी शरीर पुरुष र पुरुष शरीर नारी भएर प्रस्तुत हुने अवस्था सिर्जना हुनेछ, घरभित्रै गलत आचरण भई व्यभिचार र अत्याचारको बोलबाला हुनेछ त्यसबेला कलिको अन्तिम अवस्था हुनेछ भन्ने लेखिएको पौराणिक सत्य वर्तमानले प्रमाणित गर्दै गरेको अवस्था देखिन्छ । हुनत यो कतिपयको दृष्टिमा निराशावादी सोच हो भन्न पनि सकिन्छ । तर यथार्थ सधै सत्य नै भएर प्रस्तुत हुने हुँदा यस कुरालाई सबैले स्वीकार्न जरुरी हुन्छ ।

तसर्थ यो समय निद्रामा दिउँसै सपना नदेखी यथार्थ सत्यको पहिचान गरी अनुशासित जीवनशैली अपनाई समयको परिवर्तनलाई आत्मसात गर्नुपरेको छ । हिज जे भयो, त्यो हाम्रै कारणले भएको र आज जे भइरहेको छ त्यो पनि हाम्रै कारणले भइरहेको छ भनी भोलिको नयाँ बिहानीलाई नयाँ युगसरी आफूलाई सकारात्मक गतिमा गतिशील बनाऔं, यो समयको माग हो ।

पवित्रता नै जननी हो भन्ने बोध गरी अविनासी आत्माले पहिचान गरेको मूलतत्व पहिल्याई वर्तमानमा अगाडि बढ्ने संकल्प गरौं । काम, क्रोध, लोभ, मोह र आशक्तिलाई पन्छाई उदास रहने प्रवृत्तिलाई परित्याग गरौं । शान्ति र सद्भावपूर्ण जीवनशैली अपनाई समयको परिवर्तनलाई स्वीकार्ने वातावरण बनाऔं । पुरुषार्थ आफ्नो लागि गर्ने हो, पीडाबोध गराउने भौतिक सम्पदाभन्दा ईश्वरीय अलौकिक शक्ति आर्जन गर्नेतर्फ ध्यान आकृष्ट गरौं । समयभन्दा पहिले, भाग्यभन्दा ज्यदा कसैले प्राप्त गरेको छैन । यो सत्य बुझी भोलिको भविष्य अनुकूल बनाउन आजै आफूलाई परिवर्तन गरौं । समय यही खोजिरहेछ ।