नेतृत्व र व्यक्तित्व विकासका लागि काम ग¥यौँ : अध्यक्ष ढकाल [अन्तर्वार्ता]

दाङ महिला जेसीज १८ वर्षदेखि ४० वर्षमुनि उमेर समूहका महिलाको संस्था हो । त्रिभुवननगर जेसीजको मातृ संस्थाका रुपमा रहेको दाङ महिला जेसीजले महिलाको नेतृत्व तथा क्षमता विकासका लागि लामो समयदेखि काम गर्दै आएको छ । साथै दाङ महिला जेसीजले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ ।

त्यही सस्थाको अहिले नेतृत्वमा जेसीज अनिता ढकाल रहेकी छिन् । सन २०१७ देखि दाङ महिला जेसीजमा आवद्ध भएर जेसीजका विभिन्न पदमा बसेर काम गरेकी ढकालले सन २०२५ मा अध्यक्षका रुपमा नेतृत्व गरिन् । सन २०२६ लागि निर्वाचित अध्यक्षलगायतको टिमलाई नेतृत्व हस्तान्तरणको तयारीमा रहेकी अनिता ढकालसँग गोरक्षकर्मीले गरेको कुराकानीको सारसंक्षेप ।

— स्वागत छ, तपाईलाई सातावार्तामा ?

धन्यवाद, तपाई अनि गोरक्ष दैनिक परिवारलाई ।

— तपाई कार्यकालको अन्तिम चरणमा हुनुहुन्छ, एक वर्षे कार्यकाललाई समग्रमा कसरी मूल्याङ्कन गर्नुभएको छ ?

एक वर्षे कार्यकाललाई म सकारात्मक, उपलब्धिमूलक र सिकाइले भरिएको रूपमा मूल्याङ्कन गर्छु । सीमित स्रोतसाधनका बाबजुद पनि टिमवर्क, प्रतिबद्धता र सदस्यहरूको सक्रिय सहभागिताले संस्थागत लक्ष्यतर्फ उल्लेखनीय प्रगति गर्न सफल भएका छौँ । यो नै हाम्रो उपलब्धी हो । त्यहीको परिणाम स्वरूप दाङ महिला जेसीजले विभिन्न सम्मान समेत प्राप्त गर्न सफल भएको छ, यो हाम्रा लागि ठुलो कुरा हो ।

— दाङ महिला जेसीज भनेको कस्तो संस्था हो, तपाईँ कसरी आवद्ध हुनुभयो ?

दाङ महिला जेसीज युवा महिलाको नेतृत्व, व्यक्तित्व विकासका साथै सामाजिक सेवामा पनि अग्रसर हुने खुल्ला विश्वविद्यालय हो । दाङ महिला जेसीजमा १८–४० वर्ष उमेर समूहसम्मका महिलाहरू मात्र सदस्य हुन पाउनु हुन्छ । म पनि नेतृत्व विकास गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण तथा सामाजिक कार्यक्रमप्रति आकर्षित हुँदै करिब एक दशकअघि दाङ महिला जेसीजमा आवद्ध हुन पुगेँ । यो समयमा जेसीजका विभिन्न पदमा बस्दै अहिले नेतृत्वमा पुग्ने अवसर प्राप्त गरेकी हुँ ।

— तपाईंको कार्यकालमा दाङ महिला जेसीजका मुख्य उपलब्धिहरू के–के रहे ?

मेरो कार्यकालमा नेतृत्व विकास तालिम, उद्यमशीलता तालिम सामाजिक सचेतना अभियान, स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भए । व्ऋक्ष् ाचबmभधयचप अन्तर्गत रहेर कार्यक्रमहरू गर्दै गर्दा नेपालको एक नम्बर ‘जेनीथ गोल्ड अवार्ड’, ‘अन्तर्राष्ट्रिय शिल्भर अवार्ड’, नेपाल जेसीजले हरेक तिन–तिन महिनामा दिने’ जेनीथ गोल्ड अवार्ड’, एरिया डि बाट’ बेस्ट महासचिव अवार्ड’, ‘ओमेन अफ इम्प्याक्ट अवार्ड’ र नेपाल जेसीजको धनुषाको जकपुरमा सम्पन्न भएको राष्ट्रिय महाधिवेशनबाट ‘एक्टिभ लेडी प्रेशिडेन्ट अफ द इयर’ अवार्ड प्राप्त गर्न सफल भएका छौँ ।

यो संस्थागत रूपमा हामीले प्राप्त गरेको उपलब्धीहरू हुन् । दाङ महिला जेसीजले हरेक वर्षभन्दा यो वर्ष फरक किसिमका कार्यक्रमहरू गर्न सफल भएका छौँ । साथै सदस्य संख्या वृद्धि र संस्थागत सुदृढीकरण पनि महत्वपूर्ण उपलब्धी भएका हुन् ।यीलाई समग्रमा मूल्याङ्कन गर्दा दाङ महिला जेसीजको टिम वर्कले उत्कृष्ठ कार्य गर्न सफल भएका छौँ भन्न चाहान्छु ।

— दाङ महिला जेसीजले महिलाको नेतृत्व तथा क्षमता विकासका लागि कार्यक्रम गरेको छ, यी कार्यक्रम कत्तिको प्रभावकारी भए झै लाग्छ ?

दाङ महिला जेसीजको उद्देश्य नै महिलाहरूको नेतृत्व र क्षमता विकास गर्दै उद्यमशिलतामा जोड्ने हो । त्यही अनुसार कार्यक्रमको योजना बनाएर वार्षिक रूपमा हामीले कार्यक्रम गर्ने गर्दै आएका छौँ । यो वर्ष पनि हामीले त्यही अनुसार कार्यक्रम गरेका छौँ । नेतृत्व तथा क्षमता विकासका लागि सञ्चालन भएका कार्यक्रमहरू निकै प्रभावकारी रहे ।

सहभागी महिलाहरूमा आत्मविश्वास वृद्धि, नेतृत्व क्षमता विकास र निर्णय क्षमता मजबुत भएको स्पष्ट देखियो । धेरै महिलाहरूले व्यक्तिगत तथा व्यावसायिक जीवनमा सकारात्मक परिवर्तन ल्याउनुभएको छ । हामीले सञ्चालन गरेका तालिमबाट सिकेका सिपलाई अधिकांश महिलाहरूले व्यवहारमा लागु समेत गर्नुभएको छ ।

— नेतृत्व तथा व्यक्तित्व विकासका कार्यक्रमबाट महिलाहरूमा कस्तो परिवर्तन पाउनुभएको छ ?

अहिले पनि महिलाहरू खुल्ला रूपमा बोल्न सक्ने अवस्था छैन । कोही महिला बोल्दा पनि उसका बारेमा अनेक टिप्पणी गर्ने अवस्था कायम नै छ । समाज विद्यमान रहेको यी अवस्थालाई चिर्नुपर्छ भनेर महिला जेसीजले विभिन्न खालका कार्यक्रम गर्दै आएका छ ।

जेसीजमा आवद्ध भएका महिला भन्नुहोस् वा जेसीज सञ्चालन गरेका तालिममा सहभागी भएका महिलाहरू पहिला सङ्कोच मान्ने गरे पनि अहिले खुला रूपमा आफ्नो धारणा राख्न थालेका छन्।

सार्वजनिक कार्यक्रममा बोल्ने क्षमता, नेतृत्व ग्रहण गर्ने साहस र सामाजिक सक्रियता उल्लेखनीय रूपमा बढेको पाएको छु । र, महिला दिदी बहिनीहरूले आर्थिक आय आर्जन गर्न पनि सफल हुनु भएको छ । यो नै दाङ महिला जेसीजको उपलब्ध हो ।

— एक वर्षको कार्यकालका क्रममा काम गर्दा तपाईले चुनौतीहरूको सामना गर्नुप¥यो कि नाई ?

हो, दाङ महिला जेसीजको नेतृत्वमा रहेर काम गरिरहँदा विभिन्न चुनौतीहरू आए । घरमा दुईवटा जुम्लीया बच्चा छन्, दाङ महिला जेसीजको आफ्नै तालिम हल पूर्ण हुन सकेको थिएन । जसका कारण अस्तव्यस्त थियो । समय व्यवस्थापन, आर्थिक स्रोतको अभाव र सदस्यहरूको व्यस्तता प्रमुख चुनौतीका बाफजुत पनि विभिन्न कार्यक्रम समयमै गरेका छौँ ।

चुनौतीसँग लड्नको लागि मलाई मेरो ममीको हौसला साथ, टिमको सहयोग र सकारात्मक सोचका कारण ती सबै चुनौतीहरूलाई अवसरमा रूपान्तरण गरी तालिम हलले पनि पूर्णता पाई सफल भयौँ ।

— सामाजिक विकास र रूपान्तरणमा दाङ महिला जेसीजको भूमिका कस्तो रह्यो ?

दाङ महिला जेसीजले सामाजिक सचेतना, महिला सशक्तिकरण र सामुदायिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । हाम्रो पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुगेको छ र अन्तर्राष्ट्रियस्तरमा पनि दाङलाई चिनाउन सफल भएका छौँ । जिल्लाका विभिन्न सभा, सम्मेलनका माध्यममा सहभागी भएर पनि सामाजिक विकास र रूपान्तरणका लागि सक्ने जतिको भूमिका खलेका छौँ ।

— आगामी नेतृत्वले प्राथमिकतामा राख्नु पर्ने मुख्य विषय के हुनुपर्छ ?
आगामी नेतृत्वले सदस्य क्षमता विकास, आर्थिक सुदृढीकरण, दीर्घकालीन योजना र नवप्रवर्तनमूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्छ भन्न चाहान्छु । दाङ महिला जेसीजमा बजेट हुँदैन, सबैसँग सहकार्य र समन्वय गरेर कार्यक्रमहरू गर्ने हो । त्यसका कारण पनि नेतृत्वले विशेष ख्याल गरेर कार्यक्रमको तय गर्नुपर्छ ।

— दाङ महिला जेसीजको दीर्घकालीन लक्ष्य के हुनुपर्छ भन्ने तपाईंको धारणा के छ ?

दाङ महिला जेसीज दीर्घकालमा सक्षम, आत्मनिर्भर र नेतृत्वदायी महिलाहरू उत्पादन गर्ने एक उदाहरणीय संस्था बन्नुपर्छ भन्ने मेरो धारणा छ । त्यही अनुसार नेतृत्व र सस्थाका सदस्यहरू लागेर काम गर्नु पर्ने आवश्यकता छ ।

— दाङ महिला जेसीजमा जोडिन चाहने र नेतृत्वमा आउन चाहनेलाई तपाईं के भन्न चाहनुहुन्छ ?

दाङ महिला जेसीज सिक्ने, नेतृत्व विकास गर्ने र समाज परिवर्तनमा योगदान गर्ने उत्कृष्ट प्लेटफर्म हो । डर नमानी अगाडि बढ्नुस्, अवसर आफैं सिर्जना हुन्छ । अरु को लहै लह मा होइन आफ्नो स्वच्छ मन र साच्चै नै आगाडि बढ्ने हुट्हुटीले प्रवेश गर्नुस् ।

हरेक ठाउँमा राम्रा र नराम्रा पक्ष हुन्छन् त्यसैले राम्रा पक्षलाई अनुशरण गरी अगाडि बढ्ने र नराम्रा पक्षलाई जहाँको त्यही छोड्ने हो भने सफलता अवश्य मिल्नेछ यो मेरो दश वर्षको अनुभव पनि हो । त्यही कारण पनि १८ देखि ४० वर्ष उमेर समूहका महिलालाई जेसीजमा आवद्ध हुन आग्रह गर्दछु ।

— अन्त्यमा के भन्न चाहनुहुन्छ ?

घोराही उपमहानगरपालिकाभित्र रहेको दाङ महिला जेसीज संस्थाप्रति पनि घोराही उपमहानगरपालिकाको ध्यान जाओस् भन्न चाहान्छु । दाङ महिला जेसीजको नेतृत्वमा रहँदा मेरो कार्यकाल सफल बनाउन सहयोग गर्ने मेरो ममी र श्रीमान्, दाङ महिला जेसीजका संस्थापक अध्यक्ष जेसीज निर्मला गौतम ज्यु , पूर्व अध्यक्ष ज्युहरू, निवर्तमान अध्यक्ष जेसी जुनकुमारी बुढा ज्यु, बोर्डका पदाधिकारी ज्युहरू सम्पूर्ण सदस्य ज्युहरू सल्लाहकार, सहयोगी संस्था र शुभेच्छुक नेपाल जेसीज परिवार, दाङ महिला जेसीजका लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी सौरभ श्रेष्ठ, राष्ट्रिय उपाध्यक्ष जेसी मणीप्रसाद अर्याल ज्युप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । दाङ महिला जेसीजको उज्ज्वल भविष्यको कामना गर्दै आगामी नेतृत्वलाई शुभकामना दिन चाहन्छु ।