मेरो खुशी : सेवामा लाग्न पाउँदा …

शिक्षा स्वास्थ्यदेखि अन्य विकास निर्माणका कार्यमा उनको लगानी धेरै छ । उनी शिक्षाको उज्यालोसँगै सबैलाई सहयोग गरी हरेक मानिसको जीवन उज्यालो पार्ने कार्यमा निरन्तर लागेका छन् । मानिस खुसी हुने आफ्नै तरिका छन् ।

जीवनलाई सार्थक र सुन्दर बनाउन खुसीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । म विगत दुई दशकदेखि शिक्षा क्षेत्रमा नै छु । त्यससँगै अन्य संघ संस्थामा पनि काम गर्ने मलाई अवसर मिलेको थियो । तुलसीपुर–१० बनगाउँमा जन्मिएका चिरञ्जीवि लामिछानेले आफूले सधै खुसीका साथ सत्कर्ममा लागेको आफूलाई दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्न पाउदाँ र सबैको सहयोगी हुन पाउँदा आफू निकै खुसी हुने गरेको बताए ।

२०५२ सालमा महेन्द्र स्कुल तुलसीपुरबाट एसएलसी पास गरेका लामिछानेले राप्ती बबई क्याम्पससँगै काठमाडौँमा उच्च शिक्षा हासिल गरेर काठमाडौँमा विभिन्न कलेजहरूमा शिक्षण गरेको बताए । लामिछानेले आफूले शिक्षा दिएका र पढाएका, चिनेका विद्यार्थी देशका जुनसुकै स्थानमा पुग्दा पनि भेटेने र उनीहरूको प्रगति उन्नति देख्दा निकै खुसी लाग्ने गरेको सुनाए ।

‘म नेपालमा प्रायः सवै जिल्लामा पुगेको छु त्यहाँ जाँदा एक दुईजना चिने जानेका विद्यार्थी भेटिनु हुन्छ मलाई त्यसमा खुसी लाग्छ’ लामिछानेले भने । सहज सरल र सहयोगी लामिछानेले आफूले सक्दो सहयोग लागे पुगेसम्म सबैलाई गर्ने गरेको भन्दै अरूलाई सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी मिल्ने गरेको सुनाए । प्राध्यापक लामिछानेले आफूले गोलोबल कलेज, पदमकन्या कलेजदेखि त्रिचन्द्र कलेजमा समेत पढाएको भन्दै आाफूले पढाएका विद्यार्थी अहिले विभिन्न ठाउँमा पुगेको उनले बताए ।

लामिछानेले त्यसका साथ साथै अर्को खुसी एसोएस संस्थामा काम गर्दा अनाथ बालबालिकालाई काठमाडौँमा ल्याएर शिक्षा दिन पाउँदा लागेको सुनाए । कर्णालीको जुम्ला मुगुलगायतको क्षेत्रबाट ३० जना अनाथ टुहुरा बालबालिकालाई काठमाडौँमा ल्याएर शिक्षा दिन पाउँदा आफू निकै खुुसी भएको सम्झिए ।

‘एसोएस संस्थामा मैले कर्णालीका विभिन्न स्थानबाट ३० जना बालबालिकालाई काठमाडौँमा ल्याएको थिए उनीहरूको भविष्य उज्वल बनाउनमा मैले अलि कति भए पनि सहयोग गर्न पाए त्यसमा पनि निकै खुसी छु’ लामिछानेले भने ।

त्यस्तै अन्य संघ संस्थामा काम गर्दा शिक्षासँगै स्वास्थ्यका विभिन्न क्षेत्रमा समेत सेवा गर्न पाएकोमा आफूलाई भाग्यमानी सम्झिएको उनले बताए । मनोसामाजिक परामर्श केन्द्रअन्तर्गत विभिन्न विकट क्षेत्रमा पुगेर औषधी उपचार गर्न नसक्नेहरूलाई शिविरमार्फत् विभिन्न सेवा दिन पाएकोमा पनि खुसी व्यक्त गरे ।

‘हामीहरूले विशेष गरी महिलाहरू जो आर्थिक अभावका कारण उपचार सेवाबाट बन्चित हुनुहुन्थ्यो उहाँहरूलाई लाखौँ खर्च गरेर सेवा दिँदै उपचार प्रवाह गर्ने काम गरेका थियो त्यसमा पनि मलाई खुसी लाग्छ’ लामिछानेले भने । नेपालका विभिन्न विकट गाउँबस्तीमा विशेषज्ञ डाक्टरहरू लगेर शिविरहरू गरी नागरिकको स्वास्थ्य सुधार गर्ने अवसरमा लाग्न पाउँदा त्यति बेला पनि निकै खुसी लाग्ने गरेको लामिछानेले सुनाए ।

त्यस्तै सहरी विकास डेभलपमेन्ट भिजनमा पनि काम गरेका लामिछानेले नेपालका विभिन्न दुर्गम क्षेत्रमा विकासका काम गरेको सम्झिए । लामिछानेले मुस्ताङ, जोमसोममा समेत विकासका काम गर्न पाउँदा र त्यहाँ बसेको सम्झँदै अहिले त्यहाँको विकास देख्दा निकै खुसी भएको बताए । मुस्ताङमा बाटो बनाउँदा सो संस्थामा आफूहरू पनि रहेको र काम गरेको उनले सुनाए ।

‘त्यहाँ बाटो बनाउँदा म पनि पुगेको थिए पहिलेको जोमसोम, मुस्ताङ र अहिलेको कति फरक छ त्यो विकास देख्दा पनि मलाई निकै खुसी लाग्छ मैले पनि त्यहाँको विकासका लागि केही न केही सहयोग गर्ने अवसर मलाई मिलेको थियो’ लामिछानेले भने ।

शिक्षा स्वास्थ्य विकास निर्माणका साथै अन्य सयौँलाई विभिन्न सहयोग आफूले गरेको उनले बताए । ‘म काठमाडौँमा बसेका कारणले पनि होला मलाई धेरैले चिन्नु हुन्छ र मलाई केही काम पर्दा सम्झनु हुन्छ मैले पनि सबैलाई आफूले सकेको सहयोग गर्ने गरेको छु अरूलाई सहयोग गर्न पाउँदा म खुसी छु’ लामिछानेले भने । लामिछानेले आफूलाई घरायसी घन सम्पत्ति जोडुलाभन्दा पनि नाम चाहेकाले सबैलाई आफ्नो क्षेत्रबाट हुन सक्ने सहयोग गर्ने गरेको बताए ।

उनले शारीरिक खुसी, मानसिक खुसी, भावनात्मक खुसी र आध्यात्मिक खुसीहरू धेरै प्रकारका खुसीहरू हुने गरेको बताए । ‘म सादा जीवन उच्च विचारको मान्छे हो म मा कुनै लोभलालच घमण्ड छैन सबैसँग सरल सहज मिलनसार भएर सेवा गर्ने हो’ लामिछानेले भने । उनले त्यसैमा आफूलाई खुसी मिल्ने गरेको सुनाए ।

प्रस्तुती ः बालाराम खड्का