गोरक्ष समाचारदाता
दाङ, १६ पुस । घोराहीस्थित गोरखा इन्टरनेशनल सेकेण्डरी स्कूलले खेल सप्ताहको समान गरेको छ । विद्यालयको २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम मङ्गलवार समापन गरिएको हो ।
गोरखा ग्रुप दाङका अध्यक्ष विष्णुप्रसाद घर्तीको अध्यक्षता तथा ज्वाला दल गण घोराहीका प्रमुख कर्णेल सन्तोष थापाको प्रमुख आतिथ्यतामा भएको थियो । खेलकुद समापन कार्यक्रममा नेपाल विद्यालय खेलकुद विकास महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष निर्मल आचार्यले शिक्षा र खेलकुद क्षेत्रमा गोरखा ग्रुपले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले गोरखा ग्रुपले दाङ जिल्लालाई शिक्षाको उज्यालो छर्नका लागि अभूतपूर्व र अनुज्ञ काम गरेको समेत उनको भनाइ छ । खेलकुद मानिसको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको विषय भएको हुँदा विद्यालयस्तरबाटै खेलकुदका गतिविधिलाई विकास गर्दै लैजान पर्ने उनले बताए ।
दाङ जिल्ला खेलकुद विकास समिति दाङका प्रमुख राकेश परियारले गोरखा ग्रुपले विद्यार्थीलाई पढाइ मात्र नभएर खेलकुदलाई पनि जोड दिएकोमा प्रशंसा व्यक्त गरे । उनले आगामी दिनमा पनि विद्यालयले विद्यार्थीको पढाइसँगसँगै खेलकुदका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । विद्यालय प्रधानाध्यापक मानसिंह घर्तीले विद्यालयले आफ्नो वार्षिकोत्सव अवसरमा हरेक वर्ष खेलकुद कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । उनले खेलकुद स्वास्थ्य र अनुशासनका लागि महत्वपूर्ण भएको उनले बताए । विद्यालयमा हुने यस्ता खेलकुद कार्यक्रमले विद्यार्र्थीमा शिक्षासँगै बाह्य क्रियाकलापमा हौसला प्रदान गर्ने विद्यालयले हरेक वर्ष खेलकुद कार्यक्रम आयोजना गर्दै आइरहेको उनको भनाइ थियो ।
खेलकुद सप्ताहमा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने ब्लू, ग्रीन, रेड र एल्लो हाउस समर्थक खेलाडी विद्यार्र्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमलाई भव्य र सब्य बनाउनका लागि विद्यार्र्थीले आ–आफ्नो पहिचान झल्किने पोषकमा विभिन्न एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । खेलकुद कार्यक्रम गतवर्षको विजेता ब्लू हाउस र उपविजेता रेड तथा एल्लो हाउसले मार्चपास गरेका थिए । कार्यक्रम सहजीकरण विद्यालय शिक्षक शोभाकर पन्थीले गरेका थिए ।