टेकबहादुर पुन
देउखुरी, १५ पुस । गढवा गाउँपालिका अन्तर्गतका अतिविपन्न तथा एकल महिला परिवारलाई सुरक्षित र भूकम्प प्रतिरोधात्मक घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण र भूमिकामा महिलाको स्वामित्व सचेतना पैरवी परियोजना अन्तर्गत तीन जना एकल महिलालाई दुईकोठे, शौचालयसहितको सुरक्षित आवास हस्तान्तरण गरिएको हो ।
घर पाउने लाभग्राहीमा गढवा–४ कट्यान गाउँकी प्रमिला चौधरी, गढवा–५ कक्रहवाकी जिवी विक र गढवा–२ की कैलाशपती चौधरी रहेका छन् । टिनले छाएको, रँगरोगन गरिएको तथा भूकम्प प्रतिरोधात्मक प्रविधिमा निर्माण गरिएको यी घरले उनीहरूको जीवनमा नयाँ आशा र आत्मविश्वास थपेको छ । घर हस्तान्तरण समारोहमा सबैभन्दा भावुक देखिएकी थिइन्, प्रमिला चौधरी । श्रीमान् गम्भीस चौधरीको आठ वर्षअघि निधन भएपछि उनी एक्लै दुई छोरीको पालनपोषण गर्दै आइरहेकी थिइन् ।
‘घर भन्नु नाम मात्रै थियो’, प्रमिलाले भनिन्, ‘वर्षातमा छाना चुहिन्थ्यो, जाडोमा ओढ्ने नहुँदा छोरीसँगै रात काट्नुपथ्र्यो । आज आफ्नै सुरक्षित घर पाउँदा विश्वास नै गर्न सकेको छैन ।’ प्रमिलाकी जेठी छोरी रोसिना चौधरीको विवाह भइसकेको छ भने कान्छी छोरी एलिना चौधरी कक्षा ९ मा अध्ययनरत छिन् । ‘मजदुरी गरेर छोरी पढाउन गाह्रो छ’, उनी भन्छिन्, ‘तर अब घरको चिन्ता हटेको छ । छोरी पढ्न बस्ने सुरक्षित ठाउँ पाएकी छु ।’
गढवा–५ कक्रहवाकी जिबी विकको कथा पनि कम्ती पीडादायी छैन । कमजोर आर्थिक अवस्था, अस्थायी घर र दुई साना बालबालिकाको जिम्मेवारीले उनको जीवन निकै सङ्घर्षपूर्ण थियो । ‘पहिले त हावाहुरी आयो भने रातभर सुत्नै सकिँदैनथ्यो’, जिबीले भनिन्, ‘घर भत्किन्छ कि भन्ने डरले बच्चालाई काखमै राखेर बस्नुपथ्र्यो ।’
उनकी १५ वर्षीया छोरी एलिसा कक्षा ६ मा र १० वर्षीय छोरा आयुष कक्षा ४ मा अध्ययनरत छन् । ‘अब बच्चाहरू निश्चिन्त भएर पढ्न पाउने भए’, जिबीले भनिन्, ‘यो घरले मेरो मात्र होइन, बच्चाहरूको भविष्य पनि सुरक्षित गरिदिएको छ ।’ गढवा–२ की कैलाशपतीले पनि सुरक्षित आवास पाउँदा निकै खुसी छिन् । ‘जिन्दगीभर अरूको घरमा काम गरेँ’, उनले भनिन्, ‘आज आफ्नै नाममा घर हुँदा आत्मसम्मान बढेको छ ।’ उनीहरू तिनै जना एकल महिलाले घरले हामीलाई केवल छाना होइन, आत्मसम्मान, सुरक्षा र भविष्यप्रतिको भरोसा दिएको बताए ।
उक्त तीन घर निर्माणका लागि प्रत्येक घरका लागि ग्रामीण महिला उत्थान केन्द्र दाङबाट चार लाख २५ हजार रुपैयाँ र गढवा गाउँपालिकाबाट दुई लाख रुपैयाँ आर्थिक सहयोग गरिएको थियो । सुरक्षित आवाससँगै शौचालय निर्माण गरिएकाले स्वास्थ्य र सरसफाइमा सुधार आउने अपेक्षा गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङकी अध्यक्ष आसमानी चौधरीले सुरक्षित आवास महिलाको सशक्तीकरणको आधार भएको बताइन् । ‘घर नहुँदा महिला सधैँ असुरक्षित हुन्छिन्’, उनले भनिन्, ‘सुरक्षित आवास पाएपछि उनी आत्मनिर्भर बन्ने बाटोमा अघि बढ्छिन् ।’
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अतिविपन्न र एकल महिलाको संरक्षण स्थानीय सरकारको दायित्व भएको उल्लेख गरे । ‘घर नहुनु गरिबी मात्र होइन, सामाजिक अपमान पनि हो’, उनले भने, ‘यस्ता कार्यक्रमलाई पालिकाले प्राथमिकताका साथ अघि बढाउनेछ ।’ आगामी दिनमा पनि गरिबिका रेखामुनि रहेका सङ्घर्षशील परिवारका लागि पालिकाले अध्ययन गरिरहेको बताए ।
गढवा–५ लालपुरकी श्यामकुमारी चौधरी, गढवा–५ बाँकीकी दिसु चौधरी, गढवा–६ आँटिपाकरकी मायादेवी चौधरी र गढवा–३ बैराकी सरिता चौधरीलाई प्रतिघर पाँच लाख रुपैयाँ लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । त्यसबेला केन्द्रबाट तीन लाख र गाउँपालिकाबाट दुई लाख रुपैयाँ सहयोग गरिएको थियो ।
घर हस्तान्तरण कार्यक्रम ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष पोख्रेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा भिटा परियोजनाका कार्यक्रम संयोजक वसन्तकुमार शर्मा, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लीला शाह, वडा नं. ४ का वडाध्यक्ष हरिभगत चौधरी, वडा नं. ५ का वडाध्यक्ष लेखराज थापालगायतले महिलामैत्री र सुरक्षित आवास कार्यक्रमले सामाजिक न्याय र समावेशी विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए । कार्यक्रमको सहजीकरण परियोजनाकी कार्यक्रम संयोजक पार्वती थापाले गरेकी थिइन् ।