जनता सचेत बनाउने र अचेत बनाउनेको समिश्रण

मधुसूदन सुवेदी

जनता जनार्दन हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता भाग्य निर्माता हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता देशका संवाहक हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता परिवर्तनकारी हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता लोकतन्त्रका पर्याय हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता नेता जन्माउने जननी हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता विकास र समृद्धिका अभियन्ता हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता नेताहरुका भाग्यविधाता हुन् भन्ने पनि यिनै नेता हुन् । जनता नेताका भ¥याङ र खुड्किला हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता मत तथा अभिमतका खानी हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता शान्ति र अमनचैनका अनुयायी हुन् भन्न सिकाउने यिनै नेता हुन् ।

जनता नेताका असली न्यायाधीश हुन भन्न सिकाउने पनि यिनै नेता हुन । जनता देश र राष्ट्रका परमभक्त हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता अग्रगामीका पक्षधर हुन् भनेर भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता संकट र पीडाको रक्षक हुन् भन्ने पनि यिनै नेता हुन् । जनता दया र मायाका खानी हुन् भन्न सिकाउने पनि यिनै नेता हुन । जनता दुःखमा साथ दिने दुःखको साथी हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता धैर्यता र संयमताका द्योतक हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् ।

जनता पर्खेर बस्न सक्ने र हेर्ने सक्ने आशा र प्रतीक्षाका केन्द्रविन्दु हुन भन्ने पनि यिनै नेता हुन् । जनता दुःखमा नआत्तिने र सुखमा नमात्तिने सदाबहार हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता कोमल हृदयका खानी हुन् भन्ने सिकाउने पनि यिनै नेता हुन् । जनता सबैका पक्षधर हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता असललाई पुरस्कार र खराबलाई तिरस्कार गर्न सक्ने परीक्षक हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । जनता बाबुआमा, दाजुभाइ–दिदीबहिनी, साथीभाइ तथा शुभचिन्तकहरुको प्रतिनिधित्व गर्ने सर्वेसर्वा शक्ति हुन् भन्न सिकाउने पनि यिनै नेता हुन् । यसरी जनताको बारेमा नयाँ युग, समय र कालखण्ड, बेला, मौसम र परिस्थितिअनुसार सचेत गराएका यिनै नेताले जब–जब प्रतिकूल अवस्था, प्रतिकूल परिस्थिति र प्रतिकूल समय र बेलाको अवस्था सिर्जना हुन्छ ।

किन यिनै नेताले जनतालाई अचेत बनाने प्रयास गर्छन् । आज पछिल्लो समयमा नेताले जनतालाई कसरी अचेत बनाउँदैछन् ? हिजोको समयमा यिनै नेताले जनतालाई माथिका यावत् कुराको उपमा दिएर सचेत बनाइए भने आज यो कोरोनाको कहरमा यिनै नेताले भोका जनतालाई कुहेको चामल भए पनि हुन्छ भनेका छन्् । नाङ्गा जनतालाई यिनै नेताले फाटेको झुम्रो टालो भए पनि हुन्छ भनेको छ । तिर्खाएका प्यासी जनतालाई यिनै नेताले धमिलो पानी भए पनि हुन्छ भनेका छन् । ज्वरो आएका जनतालाई पखाला लागेको औषधि भए पनि हुन्छ भनेर यिनै नेताले भनेका छन् । घरबारविहीन जनतालाई आकाशको छानो र धर्तीको ओछ्यान भए पनि हुन्छ भनेर यिनै नेताले भनेका छन् । बेरोजगार जनतालाई परदेशको गुलामी भए पनि हुन्छ भनेर यिनै नेताले भनेका छन् । धन नभएकाहरुलाई सिक्का देखाइदिएका छन् । मन नभएकालाई गुणको छाती देखाइदिएका छन् । अन्न नभएकालाई २–४ गेडा देखाइदिएका छन् । बस्त्र नभएकालाई मुखमा बाँट्ने टालोसम्म दिएका छैनन् । पशु तथा गाइभैंसी नभएकालाई गोबर देखाइदिएका छन् । जग्गा–जमिन नहुनेलाई बाटो–घाटो र मोटर, डोजर देखाइदिएका छन् । रोगीलाई डाक्टरको फोन नं. दिएका छन् । जोगीलाई हिँड्ने बाटो बताइदिएका छन् । भोगीलाई त्यागी बन्ने आदर्श सिकाएका छन् । गरिबीलाई स्वर्गको सपना देखाइदिएका छन् । अशिक्षितलाई अनलाइनको शिक्षा देखाएका छन् । बेसहारालाई भाग्यमा जोडिदिएका छन् ।

निःसन्तानलाई परिवार नियोजनको उपाय सिकाएका छन् । बिछोड भएकालाई एक्लै बाँच्ने संघर्ष गर्नुपर्छ भनेर सिकाएका छन् । आफ्नो मुक्ति र भुक्ति खोजेकालाई भत्ता वितरण गरिदिएर मुक्तिको मार्ग नै भुल्ने बनाएका छन् । सूचना, जानकारी र सचेत बनाउनेलाई आफै अचेत बनाएका छन् । देखेको, सुनेको, भोगेको र जानेको कुरा लेख्न, भन्न, उजागर गर्न, बोल्न र बक्न ठूलै हिम्मत, साहस र बलको संग्रह गर्नुपर्ने अवस्था सिर्जना गरेका छन् । कस्तो गजब कुरा ! कस्तो आश्चर्यको कुरा ! कस्तो अचम्मको कुरा ! जसले यिनै जनतालाई सचेत बनायो, आज उसैले यिनै जनतालाई अचेत बनाउँदैछन् । हिजोसम्म यिनै जनतालाई महामानवको संज्ञा दिएको नेता शक्ति र समूहले आज उनै महामानवलाई महादानव, महापशु तथा महामूर्खमा परिणत गर्दैछन् र भन्दैछन्– जनता हिजोसम्मको हाम्रो बयान र बखान हाम्रा लागि थियो, त्यो तिम्रा लागि थिएन । तिमीहरु वास्तविकरुपमा भेडै हौ । तर हामीले भेडालाई तालिम दिएर मानव बनाएका थियौ, त्यो पनि हाम्रै लागि थियो । अब मानवरुपी मानव फेरि भेडामा परिणत होऊ र हामीलाई शासन गर्न देऊ । हाम्रो शासन अवधि सकिएपछि र तिम्रा समय आएपछि हामी स्वयं तिम्रो भेडा योनीलाई मनुष्य योनीमा बदल्ने छौं । यो किसिमको शक्ति आर्जन गरेका नेताले जनताको भलो गर्लान् कसरी ? जनता गम्भीर रहन जरुरी छ ।