प्रेरणा परियोजनाको अनुगमन, गर्भवतीका घरमा रातो टिकुली …

खेमराज रिजाल
दंगीशरण, १४ पुस । दंगीशरण गाउँपालिका–५ को त्यो सामुदायिम भवनमा पुग्दा कम्तीमा दुई दर्जन महिला जुटिसकेका थिए । साथमै थिइन्, सामुदायिम महिला स्वास्थ्य स्वयम्सेविका नर्मदा र नेपाल महिला सामुदायिक केन्द्रद्वारा सञ्चालित प्रेरणा परियोजनाकी सहजकर्ता राधा केसी ।

महिला समूहको सामुदायिक भवनको भुइँमा गुन्द्री विच्छ्याएर बसेका कुनै महिलाका काखमा दुधेबालक थिए, कोही गर्भवती । वरिपरि महिलाहरू बसिरहेका थिए भने बिचैमा एउटा फ्लेक्स प्रिन्टको ठुलो नक्सा । त्यो नक्साको क्लस्टर थियो, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका नर्मदा लामिछानेको । सय बढी घर अनि हरेक घरमा पुग्ने फरक फरक बाटो । केही घरमा त रातो टिकुली टाँसिएको पनि थियो ।

‘के हो त्यो घरमा टाँसिएको रातो टिकुली ?’, अनुगमन टोलीका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले सोधिरहँदा महिला स्वास्थ्य स्वयमसेविका नर्वदाले भनिन्, ‘त्यो रातो टिकुली टाँसेको घर गर्भवती महिलाको हो । गर्भवती महिलालाई आवश्यक पर्ने सबै स्वास्थ्य सेवा एवम् परामर्श दिन सहज होस् भनेर पहिचानका लागि आफूले काम गर्ने क्लस्टरको घरसहितको नक्सा बनाएर रातो टिकुली टाँसिएको हो ।’ टिकुली टाँसेको घरको गर्भवती कति पटक स्वास्थ्य संस्थामा जँचाउन आइन् ? के कस्ता परामर्श सेवा लिइन्, गर्भवती हुँदा के गर्न हुन्छ, के हुन्न भन्ने जानकारी जस्ता अन्य सङ्केतहरू पनि त्यो फ्लेक्स बोर्डमा स्पष्ट देखिन्थ्यो ।

प्रेरणा परियोजना अनतर्गत गुणस्तरीय स्वास्थ्य सेवाका लागि आफ्नै साथ कार्यक्रम अन्गर्तत गाउँका आमाहरू एकतृत भएर महिला स्वास्थ्यको साझा बहस गर्ने थलो थियो । त्यो थलोमा पोषणका कुरा सिकाइन्छन्, महिनावारीका कुरा सिकाइन्छन् । नवजात शिशु तथा मातृ स्वास्थ्य समस्याका कुरा सिकाइने रहेछन् । महिनामा एक पटक जम्मा भएर यस्तो बहस गर्ने गरेको परियोजनाकी सहजकर्ता राधा केसीले भनिन् । पालिकाभरि यसरी नै समूह बनाएर क्लस्टर विभाजन गरी यो परियोजना सञ्चालन गरिएको परियोजनाका कार्यक्रम संयोजक विवेक केसीले भने ।

यो मात्र नभएर उपेक्षित उष्ण प्रदेशीय रोग तथा मातृशिशु नवजात शिशुको स्वास्थ्यका विषयमा पनि सहजीकरण र सचेतनामूलक कार्यक्रम गर्नका लागि पनि प्रेरणा कार्यक्रम लागु गरिएको संस्थाकी अध्यक्ष कल्पना न्यौपानेले बताइन् । उपेक्षित उष्ण प्रदेशीय रोगहरूको क्रमशः प्रभाव देखिन थाले पनि फेयरमेड फाउन्डेसन नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा दाङका विभिन्न पालिकामा क्रियाकलाप र उपलब्धिहरूको समीक्षा कार्यक्रमको आयोजना गरिँदै आएको छ । यसै अन्गर्तत आइतवारै अनुगमन टोलीले बबई गाउँपालिका–५ बबरपुरमा रहेको स्वास्थ्यचौकीमा पनि यस्तै विषयमा स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना ग¥यो ।

वडामा केही समय अघि खोजतलासका क्रममा फेला परेका दुई जना उपचाररत कुष्ठरोगका बिरामीसँग अनुगमन टोलीले उनीहरूमा उपचारपछिको प्रभाव र आवश्यक सहयोगको अपेक्षासहितको छलफल कार्यक्रमको आयोजना ग¥यो । ‘शङ्कास्पद स्थानमा सङ्कास्पद व्यक्तिको खोजतलास गर्दै जाँदा यही वडामा मात्र हामीले चार जना कुष्ठरोगका बिरामीका पुष्टी गरी उपचार तथा परामर्श सेवा दिइरहेका छौँ’, बबरपुर स्वास्थ्यचौकी प्रमुख भीमा केसीले भनिन् ।

खोजतलासलाई अझै व्यापक बनाउँदै जाने हो भने अरू उपेक्षित उष्ण प्रदेशीय रोगहरू थप फेला पर्न सक्ने उनको अनुमान थियो । भीमा त्यहाँकी सामुदायिक स्वास्थ्य स्वयम्सेविका हुन् । दुई दिनको मात्रै खोजफड्तालले यति शङ्कास्पद बिरामी फेला परेको अवस्थामा कार्यक्रमको समय थप विस्तार गर्नसके अझै धेरै यस्ता बिरामी भेटिन सक्ने उनको भनाइ थियो ।

कुष्ठरोग उन्मूलन भइसकेपछि पनि फेरि देखापर्न थालेपछि यो मुलुककै लागि चुनौतीको विषय बनेको छ । बढीमा एक वर्षसम्म नियमित औषधी सेवन गरेमा सहज रूपमा निको हुनसक्ने रोगको उपचार नगर्ने र रोग नै लुकाउने प्रवृत्तिले समस्या झनै गम्भीर बन्नसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । यसैले नेपाल सरकारका तीन वटै निकाय तथा दातृ निकायले पनि यस्ता रोगका विषयमा थप क्रियाशीलता बढाउनु पर्ने सुझाव त्यहाँकी महिला स्वास्थ्य स्वयम्सेविका तारा भण्डारीले बताएकी छिन् ।

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, नेपाल महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष कल्पना न्यौपाने, नेपाल महिला सामुदायिक सेवा केन्द्र प्रेरणा परियोजनाका जिल्ला कार्यक्रम संयोजक विवेक केसी, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत खिमा न्यौपाने, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, फेयरमेड फाउन्डेसनका शोभाराम भण्डारी नेपाल महिला सामुदायिक सेवा केन्द्रका सङ्गीता राई, मनीशा सापकोटा र गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाललगायत केही जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।