आँखा स्वास्थ्यको पहुँच जनस्तरसम्म पु¥याउन आवश्यक

गोरक्ष समाचारदाता
तुलसीपुर, १४ पुस । आँखा स्वास्थ्य शिक्षा तथा उपचारमा पहुँच बढाउन सबै पक्ष लाग्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जको आयोजनामा राप्ती आँखा अस्पतालमा भएको कार्यक्रमका सहभागीले आँखा स्वास्थ्यको पहुँच जनस्तरसम्म पु¥याउनु अहिलेको आवश्यकता भएको बताएका हुन् ।

नेपाल नेत्रज्योति संघका आजीवन सदस्यहरूसँग आँखा स्वास्थ्य शिक्षा तथा छलफल कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले आँखा स्वास्थ्यको पहुँच जनस्तरसम्म पु¥याउन संघका आजीवन सदस्यहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए । अन्धोपन न्यूनीकरणका लागि नेपाल नेत्रज्योति संघले नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्र सञ्चालन गरेर देशैभर सेवा दिएको उनको भनाइ थियो । गिरीले हुनेबाट लिने र नहुनेलाई निःशुल्क सेवा दिने आँखा अस्पतालहरूले अन्धोपन न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले नेपालका विभिन्न दुर्गम क्षेत्रदेखि मित्रराष्ट्रका जनतालाई समेत सेवा दिँदै आएको बताए । राप्ती आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्ज, लमही आँखा अस्पतालको विकास र विस्तारका लागि आफूहरू लागिपरेको भन्दै संघका आजीवन सदस्यले थप विकास विस्तारका लागि साथ सहयोग हुने अपेक्षा गरे । गिरीले विभिन्न दातृ निकायको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट अस्पताल सञ्चालन भएको भन्दै नेपाल सरकारले छुट्टै बजेट नदिएको बताए ।

कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा शम्सेर थापाले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालका उपलब्धि, भावी कार्यक्रम तथा रणनीतिक योजनाका साथै आँखा स्वास्थ्य सेवाको विकास विस्तारबारे जानकारी गराएका थिए । डा थापाले अहिले पनि धेरै नागरिक आँखा उपचार सेवाबाट विभिन्न कारणले पहुँच बाहिर रहेको तथ्याङ्क पेस गरेका थिए ।

कार्यक्रममा डा. थापाले ३६ प्रतिशत नागरिक आर्थिक अभावका कारण उपचार सेवा पाउन नसकेको अवस्था रहेको बताए । यसैगरी आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जको लक्ष्य उद्देश्य र भावि कार्यक्रम अन्तर्गत आँखा, कानको सेवासँगै नेत्रविज्ञान प्रतिष्ठान र पुनःस्थापना कार्यक्रमलाई अगाडि बढाउने योजना सुनाएका थिए ।

कार्यक्रममा सहभागीले आँखा स्वास्थ्य सेवाको विकास र विस्तारमा आआफ्नो क्षेत्रबाट सहयोग गर्ने बताएका थिए । सो अवसरमा आजीवन सदस्यलाई आँखा स्वास्थ्य शिक्षासम्बन्धी जानकारी गराएको थियो । बाह्य कार्यक्रम संयोजक बिमल घिमिरेले आधारभूत आँखा स्वास्थ्यसम्बन्धी तालिम दिएका थिए । कार्यक्रममा आजीवन सदस्यहरू लीलाबहादुर खड्का, खुमानन्द अधिकारीलगायतको सहभागिता रहेको थियो ।