दाङ, १४ पुस। घोराही उपमहानगरपालिका–१५, शान्तिनगर टोलकी स्व रिखिदेवी शर्माको स्मृतिमा उनका छोरा राकेश शर्मा र छोरी शुष्मा शर्माले अपांगहरूका लागि ह्विलचेयर, खाधान्न, तरकारी र फलफुल सहयोग गरेका छन् ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र घोराही शाखामा आश्रय लिइरहेका अपांगहरूलाई उक्त सहयोग प्रदान गरिको हो । शर्माको निधन भएको १० औं दिनका अवसरमा सोमबार संघको झिंगौरास्थित कार्यालयमा पुगेर सहयोग हस्तान्तरण गरिएको थियो ।
यसैगरी उक्त अवसरमा भैरहवाकी मिना न्यौपानेले १ हजार र घोराहीकी सिता डांगीले ५ सय नगद पनि सहयोग गरेका थिए । संघकी अध्यक्ष रूपा वलीले सहयोग प्रदान गरेकोमा शर्मा परिवार लगाएत सबै सहयोगीलाई धन्यवाद दिएकी थिइन् । संघमा सात जना असहाय अपांगहरू बस्दै आएको र उनीहरूलाई बिभिन्न दान तथा सहयोगबाट पालनपोषण गर्दै आएको उनले जानकारी दिइन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा संघका कोषाध्यक्ष दुर्गालाल केसी, सहसचिव बसन्तराज भट्ट, सहयोगीका तर्फबाट मिना न्यौपाने, सिता डांगी र श्रीधर आचार्यको सहभागिता रहेको थियो ।