विपुल पोख्रेल/लिलाधर वली
चैते दशैंको अष्टमीमा अम्बिकेश्वरी मन्दिरमा रोट चढाउने बिशेष प्रचलन छ । यद्यपि अन्य दिनहरुमा पनि चढ्ने भने गर्दछ । तर, यस बर्ष कसैले पनि रोट चढाएनन् । तीनजना महिला बिहानै रोट लगेर मन्दिर पुगेका थिए । त्यहाँ प्रहरीले उनीहरुलाई मन्दिर जान दिएन । मन्दिर लगेको रोट नचढेरै फर्कियो ।
पाण्डवेश्वर महादेव मन्दिर धारापानीस्थित मन्दिरमा पूजा गर्न जाँदै गरेका ४ वटी युवतीहरुलाई प्रहरीले छेक्यो, मन्दिर जान दिएन । उनीहरु त्यहीबाट फर्के र बबई नदीमा पूजा गरे । ‘पूजा गर्दै मन्दिर जान नदिने प्रहरीलाई पाप लागोस् भनेको सुनियो’, धारापानीस्थित चौकीका इन्जार्ज असई सन्तोष आचार्यले भने ।
कोरोनाले भक्तालुलाई मन्दिर जान पनि रोकेको छ । यद्यपि मन्दिरको नित्य पूजा भने रोकिएको छैन । ‘भगवानको नित्य पूजा हुन्छ, अनि ताला लगाइन्छ, रोगबाट बच्नका लागि यसो गरेको हो भन्ने कुरा भगवानले नबुझ्ने कुरै भएन’, अम्बिकेश्वरी मन्दिरका पुजारी श्रबण पौडेलले भने । नित्य पूजाबाट भगवान प्रशन्न नै रहेको विश्वास पाण्डबेश्वरी मन्दिरका पुजारी पदमप्रसाद गौतमको छ । ‘अहिलेसम्म नराम्रो सपना देखेको छैन, यता त्यस्तो नराम्रो पनि भएको छैन’, उनले भगवान दैनिक पूजाबाट प्रशन्न रहेको आफ्नो विश्वासलाई यसरी पुष्टि गर्न खोजे ।
लक्ष्मीपुरका कमल जिसीको परिवारले अघिल्लो बर्ष धारापानीस्थित पाण्डेश्वर मन्दिरमा भागवत पुराण लगाएको थियो । ठीक एक बर्षपछि सोही बेदीमा सत्यनारायण पूजा गरेपछि मात्र त्यसको कर्म पूरा हुने बिश्वास गरिन्छ । ‘अनुमति लिएर मात्र विधि पूरा गरियो, ४ जना मात्र आउन भन्नुभयो यहाँका पुजारीले’, जिसीले भने– ‘ज्वाइँ, भान्जा भान्जीसमेत पनि ल्याउन पाइएन ।’ भागवत पूजा लगाउने बेलामा २ सयका हाराहारीमा स्टमित्र बोलाएको उनले निकै सुनो महसुस गरिरहेका थिए ।
‘कर्म पूरा गर्नलाई मात्र अनुमति दिएको हो, नत्र यहाँ कसैलाई आउन दिइएको छैन, प्रहरीलाई नै आउन नदिन भनेका छौं’, पुजारी गौतमले भने– ‘तपाईंहरु पत्रकार भनेर आउन दिएको होला ।’ मन्दिरहरुमा भेटी वापतको आम्दानीमा पनि गिरावट आएको छ । भक्तजनहरु नै नआएपछि भेटी उठ्ने कुरै भएन । धारापानी मन्दिरमा अघिल्लो बर्षको बैशाख १ गते मात्र १ लाखभन्दा बढी भेटी उठेको स्मरण गर्दै पुजारी गौतमले भने– ‘यो बर्ष त यही वरपरकाले चढाएको १ सय जति मात्र संकलन भयो ।’
कोरोनाको महामारीका कारण घोषित लकडाउनले गर्दा सामाजिक गतिविधिहरु ठप्प हुँदा संस्कारजन्य कर्महरुमा पनि व्यवधान भएको छ । अम्बिकेश्वरी मन्दिरमा बली दिनका लागि व्यवस्थापन समितिले ल्याएको बोकोसमेत बली दिइएन । सुपारीलगायतका फलफूलहरु चढाएर काम चलाइयो । सहज भएपछि क्षमापूजासहित बली चढाउने मुडमा समिति रहेको छ ।
औषधि पत्ता नलागेको यो रोगले संसारभर पौने ३ लाखभन्दा बढीको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या पनि बढ्दो छ । नेपालमा पनि १ सय ९१ जनामा संक्रमण देखिइसकेको छ । यो रोगसँग बच्नका लागि सामाजिक दूरी कायम गर्नुलाई नै उत्तम उपायका रुपमा चिकित्सकहरुले सुझाइरहेका छन् । त्यही सामाजिक दूरीलाई कायम राख्न र मानिसलाई त्यसमा अभ्यस्त बनाउनका लगि लकडाउन घोषणा गरिएको हो ।
यो लकडाउनले भगवानसँग पनि दूरी बनाएर रहन मानव जातिलाई सिकाउँदै छ । मन्दिरहरु मात्र हैन, मस्जिद, चर्च, गुम्बा तथा अन्य प्रार्थना र सत्संग केन्द्रहरु पनि सुनसान भएका छन् । ‘भगवानसँग टाढा रहन आह्वान गर्न पर्ने र प्रहरी लगाएर दर्शनार्थीलाई रोक्नुपर्ने दिन पनि आउँदो रहेछ’, अम्बिकेश्वरी मन्दिरका पुजारी पौडेलले भने ।
यहाँ उल्लेख गरिएका दाङका दुबै मन्दिर क्रमशः धार्मिक पर्यटकीय केन्द्रका सँगै रमणीयस्थलका रुपमा पनि विकसित हुँदै गएका छन् । मानिसहरुको चहलपहल दिनभर नै यी मन्दिरहरुमा हुने गर्दथ्यो । तर, आजकल भने सुनसान । धारापानीमा भने केही स्थानीयहरुले केही काम गरिहेको देखियो । ‘दुबो लगाउने योजना छ, लकडाउनपछि आउनेहरुले केही नयाँ देख्न पाऊन् भनेर योजना बनाएका छौं’, दुबो लगाउनका लागि जमिन सम्याउँदै गरेकाहरुले भने ।