बिमाबारे नागरिकलाई बुझाउन आवश्यक

गोरक्ष समाचारदाता
दाङ, १ पुस । बिमा सेवाका सकारात्मक कुराहरू नागरिकलाई बुझाउन मात्र स्वतस्फुर्त रूपमा नागरिक बिमा प्रक्रियामा सहभागी बन्ने अवस्था बन्न सक्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको सहाकार्यमा शनिवार घोराहीमा पत्रकारसँग बिमाका विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा बिमालाई प्रभावकारी बनाउन बिमा भुक्तानी प्रक्रिया सरल र सहज बनाउनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका हुन् ।

परिवारको आर्थिक सुरक्षाका लागि बिमा कार्यक्रम महत्वपूर्ण भए पनि नागरिकसम्म राम्रो सन्देश पुग्न नसक्दा अहिले पनि बिमा कार्यक्रमभन्दा नागरिक हिचकिचाउने अवस्था रहेको भन्दै यसलाई चिर्न बिमाका राम्रा कामको प्रचार हुन आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलले बिमा कार्यक्रम राम्रो भए पनि भुक्तानी प्रक्रियामा जटिलता रहेको बताए ।

बिमा भुक्तानी प्रक्रियामा भएको जटिलतालाई सरल बनाउँदै बिमा हुने गलत कार्यलाई रोक्नुपर्ने बताए । पोख्रेलले अहिले पनि बिमा कार्यक्रम पहुँचवालाका लागि सहज र पहुँच नहुनेका लागि अप्ठ्यारो रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लीला शाहले बिमा विषयमा आयोजित छलफल राम्रो भएको भन्दै सबै नागरिक तहसम्म बिमा कार्यक्रमको सन्देश पु¥याउन यस्ता अन्तरक्रिया कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताइन् । उनले बिमा कार्यक्रमबारे नागरिक स्तरसम्म सचेतना अभिवृद्धि गर्नुपर्ने र बिमा सबै नागरिकका लागि आवश्यक छ भन्ने सन्देश दिनुपर्ने बताइन् ।

त्यसका लागि बिमा प्राधिकरण र पत्रकारबिच समय समयमा अन्तरक्रिया र छलफल कार्यक्रम गर्न आवश्यक रहेको उनले बताए । कार्यक्रममा महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष केबी मसाल, पूर्व उपाध्यक्ष लक्ष्मी आचार्यलगायतले बिमा कार्यक्रममा सामान्य नागरिकलाई जोड्न भुक्तानी प्रक्रिया सरल बनाउनुपर्ने र नागरिक स्तरमा सचेतना बढाउन आवश्यक रहेकोमा जोड दिए । प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालय प्रमुख जमुना अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक शिवराज बिसीले लुम्बिनी प्रदेशमा गरिएको बिमाका विषयमा जानकारी गराएका थिए ।