यादव गिरी
शिक्षा निरन्तर परिवर्तनशील प्रक्रिया हो र यो परिवर्तन सधैँ प्रविधिसँग सहयात्रामा अघि बढ्दै आएको छ । कालोपाटीबाट सेतो बोर्ड, सेतो बोर्डबाट डिजिटल स्क्रिन हुँदै आज एआई–सहायक कक्षासम्म आइपुग्दा शिक्षाको भौतिक स्वरुप उल्लेखनीय रुपमा आकर्षक र प्रविधिमैत्री बनेको छ । आधुनिक उपकरण, मल्टिमिडिया सामग्री र डिजिटल प्लेटफर्मले कक्षाकोठालाई दृश्यात्मक र गतिशील बनाएका छन् तर शिक्षाको गुणस्तर मूल्याङ्कन गर्ने आधार केवल यसको बाह्य चमक हुन सक्छ त ?
मूल प्रश्न यहीँ छ, के स्मार्ट कक्षा आफैँमा गुणस्तरीय शिक्षाको प¥याय हो वा यो केवल एउटा साधन हो ? जसलाई अर्थपूर्ण र प्रभावकारी बनाउने जिम्मेवारी शिक्षकको संवेदनशील दृष्टिमा निहित छ ? आज नेपालसहित विश्वभर शिक्षा सुधारका बहसमा ‘स्मार्ट कक्षा’ अत्यन्त लोकप्रिय अवधारणा बनेको छ । नीति निर्माणदेखि बजेट विनियोजनसम्म, परियोजना प्रस्तावदेखि विद्यालयको प्रचार सामग्रीसम्म, स्मार्ट बोर्ड, डिजिटल सामग्री र एआई–आधारित सिकाइ प्रणालीलाई प्रगतिका सूचकका रुपमा प्रस्तुत गरिन्छ ।
प्रविधिमा गरिएको लगानीलाई शैक्षिक गुणस्तरको मापन मान्ने प्रवृत्ति बलियो हुँदै गएको छ तर कक्षाकोठाभित्रको वास्तविकता सधैँ यति सहज र सकारात्मक छैन । स्मार्ट बोर्डले सुसज्जित कक्षामा पनि धेरै विद्यार्थी मौन हुन्छन्, उनीहरु सिक्न नसकेर होइन, बुझिएको महसुस नपाएर चुप छन् । प्रविधिले सामग्री प्रस्तुत गर्न सक्छ तर विद्यार्थीको द्विविधा, डर, असमर्थता वा आत्मविश्वासको अभाव पहिचान गर्न सक्दैन । ती मानवीय पक्ष बुझ्ने र सम्बोधन गर्ने जिम्मेवारी अझै पनि शिक्षककै काँधमा छ । यहीँबाट ‘स्मार्ट कक्षा’ र ‘संवेदनशील शिक्षक’ बिचको अन्तरसम्बन्ध स्पष्ट हुन्छ ।
शिक्षा केवल सूचना प्रवाहको प्रक्रिया होइन; यो सम्बन्ध, विश्वास र संवादको अभ्यास हो । यदि शिक्षकले विद्यार्थीको व्यक्तिगत गति, पृष्ठभूमि र सिकाइ शैलीलाई बुझ्न सक्दैनन् भने अत्याधुनिक प्रविधि पनि कमजोर विद्यार्थीका लागि थप बोझ बन्न सक्छ ।
त्यसैले स्मार्ट कक्षा प्रविधिको सवाल मात्र होइन, पेडागोजीको प्रश्न हो, कसरी पढाइन्छ, कसका लागि पढाइन्छ र किन पढाइन्छ ? यस स्तम्भको केन्द्र यही मौन प्रश्न हो, प्रविधिले सुसज्जित कक्षामा पनि किन केही विद्यार्थी पछाडि परिरहेका छन् ? उत्तर ः प्रविधिको अभावमा होइन, संवेदनशील शिक्षण दृष्टिको कमीमा खोजिनुपर्छ । किनकि अन्ततः शिक्षाको आत्मा उपकरणमा होइन, शिक्षकको संवेदनशीलता, समझदारी र मानवीय दृष्टिमा बस्छ ।
स्मार्ट कक्षा
स्मार्ट कक्षा भन्नाले प्रविधि–सम्पन्न शिक्षण वातावरणलाई जनाउँछ । जहाँ डिजिटल बोर्ड, मल्टिमिडिया सामग्री, इन्टरनेट पहुँच, अनलाइन मूल्याङ्कन प्रणाली तथा कतिपय अवस्थामा एआई–सहायक प्रविधिको प्रयोग गरिन्छ । यस्ता साधनहरुले कक्षाकोठालाई दृश्यात्मक, अन्तरक्रियात्मक र प्रविधिमैत्री बनाउने क्षमता राख्छन् ।
प्रस्तुतीकरण सहज हुन्छ, सामग्री पहुँचयोग्य हुन्छ र सिकाइ प्रक्रियामा विविधता थपिन्छ । तथापि, प्रविधिको उपलब्धतामात्रैले शिक्षाको गुणस्तर सुनिश्चितता हुँदैन । शिक्षा इतिहासले स्पष्ट देखाएको छ; साधनले शिक्षणलाई गति दिन सक्छ तर त्यसलाई उद्देश्यपूर्ण दिशा दिन सक्दैन । नेपालको शैक्षिक सन्दर्भमा पछिल्ला वर्षहरुमा ‘स्मार्ट कक्षा’ लाई प्रगतिशीलता र प्रतिस्पर्धाको प्रतीकका रुपमा प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
विद्यालयको भौतिक पूर्वाधारमा गरिएको प्रविधिमूलक लगानीलाई शैक्षिक सुधारसँग सिधै जोडेर हेर्ने गरिन्छ तर कक्षाकोठा भित्रको व्यावहारिक यथार्थ प्रायः फरक देखिन्छ । धेरै अवस्थामा प्रविधि त उपलब्ध छ तर शिक्षण दृष्टिकोण पुरानै छ । बोर्ड डिजिटल छ तर सोच अझै पनि रटानमुखी र शिक्षक केन्द्रित नै छ ।
यस्तो विरोधाभासपूर्ण अवस्थाले स्मार्ट कक्षाको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाउँछ । प्रविधिको तीव्र गति र पाठ्यक्रमको दबाबबिच कमजोर वा फरक गतिमा सिक्ने विद्यार्थी झन् पछाडि धकेलिन सक्छन् । जहाँ प्रविधिले सहजीकरण गर्नुपर्ने थियो, त्यहीँ सहानुभूति र लचकताको अभावले कक्षा डर र हिचकिचाहटको स्थान बन्न सक्छ ।
स्मार्ट कक्षा तब मात्र अवसर बन्छ, जब त्यसलाई समावेशी र संवेदनशील पेडागोजीसँग जोडिन्छ । स्मार्ट कक्षा समाधान होइन, समाधानतर्फको एउटा साधन मात्र हो । त्यसको प्रभावकारिता प्रविधिको स्तरमा होइन, त्यसलाई प्रयोग गर्ने शैक्षिक दृष्टि र उद्देश्यमा निर्भर हुन्छ । यदि शिक्षण पद्धति, मूल्याङ्कन प्रणाली र शिक्षकको दृष्टिकोणमा परिवर्तन नआउने हो भने अत्याधुनिक प्रविधि पनि केवल बाह्य सजावटमा सीमित रहने खतरा रहन्छ । शिक्षा सुधारको वास्तविक सार साधनमा होइन, सोच र अभ्यासको रुपान्तरणमा निहित छ ।
प्रविधि र मानवीयता
पछिल्ला वर्षहरुमा शिक्षामा प्रविधिको तीव्र प्रवेशसँगै एउटा साझा चिन्ता बारम्बार सतहमा आएको छ–के प्रविधि, विशेषतः कृत्रिम एआई, शिक्षकको भूमिकालाई विस्थापित गर्दैछ ? सार्वजनिक बहस, सामाजिक सञ्जाल र नीतिगत छलफलहरुमा ‘एआईले शिक्षकको स्थान लिन्छ’ भन्ने आशङ्का व्यापक रुपमा व्यक्त गरिन्छ तर यस प्रकारको बहस धेरै हदसम्म प्रविधि र मानवीयतालाई परस्पर विरोधीका रुपमा प्रस्तुत गर्ने सरलीकृत दृष्टिकोणको उपज हो ।
यथार्थमा प्रविधि शिक्षकको प्रतिस्थापन होइन; यो सहायक साधन हो, जसको प्रभावकारिता यसको प्रयोग गर्ने मानवीय दृष्टि र नीतिगत संवेदनशीलतामा निर्भर हुन्छ । एआई तथा डिजिटल प्रविधि स्वयम् न त मानवीय छन्, न त अमानवीय । तिनको चरित्र प्रयोगबाट निर्धारित हुन्छ । संवेदनशील शिक्षकले प्रविधिलाई विद्यार्थी बुझ्ने उपकरणका रुपमा प्रयोग गर्छन् । सिकाइ डाटाको विश्लेषणमार्फत् विद्यार्थीको प्रगति अनुगमन, कमजोर पक्षको पहिचान र व्यक्तिगत सहयोग योजना तयार गर्न प्रविधि अत्यन्त उपयोगी हुन सक्छ ।
यसले शिक्षकलाई अनुमानमा होइन, प्रमाणमा आधारित निर्णय लिन सक्षम बनाउँछ । विशेषतः फरक गतिमा सिक्ने वा अतिरिक्त सहयोग आवश्यक पर्ने विद्यार्थीका हकमा यस्तो दृष्टि अत्यन्त प्रभावकारी हुन्छ । तर यही प्रविधि संवेदनाहीनको हातमा परेमा निगरानी र नियन्त्रणको माध्यम बन्न सक्छ । अत्यधिक परीक्षण, निरन्तर ट्रयाकिङ र अङ्क–केन्द्रित मूल्याङ्कनले विद्यार्थीलाई सिकाइभन्दा बढी डरको वातावरणमा राख्छ ।
कमजोर विद्यार्थीका लागि यस्तो प्रयोग झनै हतोत्साहजनक हुन्छ । जसले आत्मविश्वास गुमाउने र विद्यालयबाट विमुख हुने जोखिम बढाउँछ । यस अर्थमा प्रविधि स्वयम् समस्या होइन; समस्या त्यसलाई निर्देशित गर्ने दृष्टिकोण हो । यही सन्दर्भमा शिक्षक तालिमको प्रश्न अत्यन्तै महङ्खवपूर्ण हुन्छ । नेपालमा सञ्चालन हुने अधिकांश शिक्षक तालिम कार्यक्रमहरु प्रविधि–सीपमा केन्द्रित छन्–स्मार्ट बोर्ड कसरी प्रयोग गर्ने, डिजिटल सामग्री कसरी प्रस्तुत गर्ने, अनलाइन मूल्याङ्कन कसरी सञ्चालन गर्ने । यी सिप आवश्यक छन्, तर पर्याप्त छैनन् ।
प्रविधिको यान्त्रिक प्रयोगले मात्र शिक्षणको गुणस्तर उकास्न सक्दैन । अझ आवश्यक कुरा हो–संवेदनशील पेडागोजीको विकास । संवेदनशील पेडागोजीले शिक्षकलाई विद्यार्थीको मनोविज्ञान बुझ्न, विविध सिकाइ शैलीलाई स्वीकार गर्न र समावेशी कक्षा निर्माण गर्न सक्षम बनाउँछ । विशेष आवश्यकता भएका विद्यार्थी, सामाजिक–आर्थिक रुपमा पछाडि परेका बालबालिका र भावनात्मक चुनौती भोगिरहेका विद्यार्थीलाई समेट्ने दृष्टि बिना स्मार्ट कक्षा अधुरो रहन्छ ।
त्यसैले शिक्षक तालिममा सामाजिक–भावनात्मक सिकाइ, समावेशी शिक्षण पद्धति र कक्षाकोठा व्यवस्थापनजस्ता पक्षलाई केन्द्रीय स्थान दिनु अपरिहार्य छ । स्मार्ट कक्षा तब मात्र प्रभावकारी हुन्छ, जब शिक्षकले प्रविधि प्रयोग गर्नु अघि प्रश्न सोध्न सिक्छन्–कुन विद्यार्थी किन पछाडि परिरहेको छ ? उसलाई के आवश्यक छ ? समयको लचकता, सिकाइको फरक तरिका कि आत्मविश्वासको पुनर्निर्माण ? यी प्रश्नहरुको उत्तर कुनै सफ्टवेयर वा एल्गोरिदमले दिन सक्दैन ।
यसको उत्तर शिक्षकको संवेदनशील दृष्टि, अनुभव र मानवीय समझबाट मात्र आउँछ । प्रविधि र मानवीयताबिच द्वन्द्व होइन, सहकार्यको सम्बन्ध आवश्यक छ । प्रविधिले शिक्षकको दृष्टिलाई विस्तार गर्न सक्छ, तर प्रतिस्थापन गर्न सक्दैन । शिक्षा तब मात्र मानवीय र प्रभावकारी हुन्छ, जब प्रविधि शिक्षकको संवेदनशीलतासँग सहयात्रामा अघि बढ्छ । यही सहकार्यले मात्र स्मार्ट कक्षालाई सार्थक र न्यायपूर्ण शिक्षण स्थानमा रुपान्तरण गर्न सक्छ ।
नीतिगत दृष्टि
शिक्षामा लगानी बढाउनु सधैँ सकारात्मक कदमको रुपमा हेरिन्छ । प्रविधि–सम्पन्न कक्षा, स्मार्ट बोर्ड, डिजिटल सामग्री र अनलाइन सिकाइ प्लेटफर्ममा गरिएको खर्चले विद्यालयलाई आधुनिक र आकर्षक बनाउँछ । तथापि, केवल प्रविधिमा केन्द्रित लगानीले दीर्घकालीन शैक्षिक गुणस्तर सुनिश्चित गर्दैन । लगानीको दिशा, प्राथमिकता र प्रयोग गर्ने दृष्टिकोण अझ महङ्खवपूर्ण हुन्छ ।
यदि बजेटको अधिकांश हिस्सा केवल हार्डवेयर खरिद, डिजिटल उपकरण स्थापना र इन्टरनेट सुविधामा खर्च हुन्छ र शिक्षकको व्यावसायिक विकासमा न्यूनतम ध्यान दिइन्छ भने स्मार्ट कक्षा केवल सजावटी स्वरुपमा सीमित रहन्छ । यस्तो अवस्थामा विद्यार्थीको वास्तविक सिकाइ, शिक्षकको पेडागोजिकल क्षमता र समावेशी शिक्षण प्रणालीको गुणस्तर प्रभावहीन रहन्छ ।
नीति निर्माणमा मानव पुँजीलाई केन्द्रमा राख्नु अपरिहार्य छ । शिक्षक तालिम, निरन्तर पेशागत विकास, संवेदनशील पेडागोजीको प्रवद्र्धन र कक्षा व्यवस्थापनमा दीर्घकालीन योजना नीतिगत प्राथमिकतामा हुनुपर्छ । राष्टिूय शिक्षा नीति, पाठ्यक्रम विकास, मूल्याङ्कन प्रणाली र शिक्षण–अभ्यासको संरचना सबैमा कमजोर वा फरक गतिमा सिक्ने विद्यार्थीलाई केन्द्रमा राखिएको दृष्टिकोण आवश्यक छ ।
परीक्षा परिणाममाथि मात्र शिक्षा गुणस्तरको मापन केन्द्रित गर्ने परिपाटीले संवेदनशील शिक्षण अभ्यासलाई हतोत्साहित गर्छ। तर यदि नीति, पाठ्यक्रम र मूल्याङ्कन प्रणालीले व्यक्तिगत क्षमता, सिकाइ शैली र विद्यार्थीको विकासको बहुआयामिक मूल्याङ्कनलाई प्राथमिकता दिन्छ भने स्मार्ट कक्षाको वास्तविक प्रभाव सुनिश्चित हुन्छ ।
शिक्षा केवल विद्यालयको जिम्मेवारी मात्र होइन; समाज र अभिभावकको दृष्टिकोण पनि कमजोर वा पछाडि परेका विद्यार्थीको आत्म–छवि निर्माणमा निर्णायक भूमिका खेल्दछ । हाम्रो समाजमा प्रचलित ‘कम अङ्क = कम क्षमता’ भन्ने मान्यता विद्यार्थीमा आत्मविश्वास कमी, असुरक्षा र निराशा उत्पन्न गर्छ । यस दृष्टिकोणलाई तोड्नु अपरिहार्य छ। संवेदनशील शिक्षक विद्यालयभित्र विद्यार्थीलाई मार्गदर्शन, सहयोग र आत्मविश्वास प्रदान गर्छन्, तर विद्यालय बाहिर समाज र अभिभावकको सक्रिय समर्थन नहुँदा सिकाइको प्रभाव सीमित रहन्छ ।
अभिभावक र समाजले विद्यार्थीको प्रयास, क्षमता र विविधतालाई मान्यता दिने वातावरण निर्माण गर्नुपर्छ, जसले सिकाइको अनुभवलाई सकारात्मक र दीर्घकालीन बनाउँछ । त्यसैले नीतिगत दृष्टिले लगानी केवल साधनमा होइन, शिक्षक र विद्यार्थीको क्षमता विकासमा केन्द्रित हुनुपर्छ । प्रविधिमा गरिएको लगानी शिक्षक विकास, समावेशी शिक्षण अभ्यास र मूल्याङ्कन प्रणालीसँग समन्वयित हुनुपर्दछ । यही समन्वयले मात्र स्मार्ट कक्षालाई सार्थक र न्यायपूर्ण बनाउँछ ।
नीतिगत योजना, बजेट वितरण, पाठ्यक्रम निर्माण र सामाजिक–सांस्कृतिक समर्थनको संयोजनले शिक्षा प्रणालीलाई समावेशी, प्रभावकारी र संवेदनशील बनाउन सक्छ । अन्ततः शिक्षा सुधार केवल प्रविधिमा होइन, मानवीय दृष्टिकोण, संवेदनशील पेडागोजी र समाज–विद्यालय सहकार्यमा निहित छ ।
स्मार्ट कक्षा आजको शिक्षण प्रणालीको अपरिहार्य आवश्यकता बनेको छ । प्रविधि बिना आधुनिक शिक्षा कल्पना गर्न सकिँदैन; डिजिटल बोर्ड, मल्टिमिडिया सामग्री, अनलाइन प्लेटफर्म र एआई–सहायक प्रणालीले कक्षाकोठालाई गतिशील, अन्तरक्रियात्मक र पहुँचयोग्य बनाएका छन् । तथापि, प्रविधि आफैँमा शिक्षा होइन, केवल शिक्षा प्रक्रिया सुगम बनाउने साधन हो ।
शिक्षाको वास्तविक आत्मा संवेदनशील शिक्षकमा निहित हुन्छ–जो विद्यार्थीको व्यक्तिगत क्षमता, सिकाइ शैली र आवश्यकता बुझ्न सक्षम हुन्छन् । कमजोर वा फरक गतिमा सिक्ने विद्यार्थीलाई सशक्त बनाउने प्रणाली केवल प्रविधि प्रयोगबाट सम्भव छैन । प्रविधिले मात्र जानकारीको पहुँच बढाउँछ, तर सिकाइको गहिराइ, विद्यार्थीको आत्मविश्वास निर्माण, र सामाजिक–भावनात्मक विकासलाई सुनिश्चित गर्न शिक्षकको दृष्टिकोण आवश्यक छ ।
स्मार्ट बोर्ड वा डिजिटल उपकरण भन्दा ठूलो र महङ्खवपूर्ण कुरा शिक्षकको संवेदनशील दृष्टि हो, जसले विद्यार्थीलाई अङ्कको आधारमा होइन, सम्भावनाको आधारमा मूल्याङ्कन गर्न सक्षम हुन्छ । यस दृष्टिले शिक्षकले प्रत्येक विद्यार्थीको विकास र प्रगतिको मार्गदर्शन गर्न सक्छन् ।
शिक्षामा मुख्य प्रश्न प्रविधिको होइन, प्राथमिकताको हो । के हामी पाठ्यक्रम छिटो पूरा हुने, मात्राङ्क–केन्द्रित शिक्षा चाहन्छौँ, कि समावेशी, बहुआयामिक र प्रत्येक विद्यार्थीलाई अवसर दिने शिक्षा प्रणाली चाहन्छौँ ? उत्तर स्पष्ट छ–सार्वभौमिक र न्यायपूर्ण शिक्षा तब मात्र सम्भव हुन्छ, जब प्रविधि शिक्षकको दृष्टि र संवेदनशील पेडागोजीसँग संयोजनमा प्रयोग हुन्छ । स्मार्ट कक्षाले शिक्षा प्रक्रिया सजिलो र प्रभावकारी बनाउने अवसर प्रदान गर्छ, तर त्यसको सार्थकता शिक्षकको संवेदनशीलता, अनुभव र समावेशी दृष्टिमा आधारित हुन्छ ।
शिक्षकले विद्यार्थीको व्यक्तिगत चुनौती, सिकाइ गति र क्षमताको बहुआयामिक मूल्याङ्कन गरेर शिक्षणलाई अर्थपूर्ण र प्रभावकारी बनाउनुपर्छ। प्रविधि सहायक साधन मात्र हो; यसको उपयोग विद्यार्थी–केन्द्रित दृष्टिकोण र संवेदनशील पेडागोजीसँग मिलेर मात्र शिक्षालाई वास्तविक परिवर्तनको बाटोमा पु¥याउन सक्छ । अन्ततः स्मार्ट कक्षा केवल उपकरण वा प्रविधिको मुद्दा होइन, शिक्षा प्रणालीको प्राथमिकता र शिक्षक–केन्द्रित दृष्टिकोणको परीक्षण हो ।
शिक्षा प्रविधि–सम्पन्न भए पनि यसको उद्देश्य पूर्णतया पूरा गर्न शिक्षकको संवेदनशीलता, दृष्टि र मानवीय वुझाई अपरिहार्य छ । यही संयोजनले मात्र कमजोर विद्यार्थीलाई उकास्ने, समावेशी, न्यायपूर्ण र दीर्घकालीन प्रभावकारी शिक्षा सुनिश्चित गर्न सक्छ ।