गोरक्ष समाचारदाता
तुलसीपुर, १२ पुस । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म आँखा उपचार सेवा पु¥याएर उदाहरणीय कार्य गर्दै आएको सहभागीले बताएका छन् ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालको सामाजिक परीक्षण कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जमा भएको कार्यक्रममा सहभागीले पारदर्शी, जवाफदेही, सुशासन र सेवालाई थप गुणस्तरका साथै सेवा सुधारका लागि यस्ता कार्यक्रम लाभदायी हुने बताएका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यता तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाह, शिवराज नगरपालिका नगर प्रमुख अजय थापाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख आचार्यले नेपाल नेत्रज्योति संघले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म आँखा उपचार सेवा पु¥याएर उदाहरणीय कार्य गर्दै आएको उल्लेख गरे ।
सामाजिक परीक्षण जस्ता कार्यक्रमले सेवामा पारदर्शिता बढाउनुका साथै जनविश्वास अभिवृद्धि र सेवा सुधारमा सहयोग पुग्ने उनको भनाइ थियो । आचार्यले कपिलवस्तुका १० वटै स्थानीय तहका जनप्रतिनिधिलाई आँखा अस्पतालको विकासमा सहयोग गर्न आग्रह गदै आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी शिवराज नगरपालिका नगर प्रमुख थापाले गरिब, विपन्न तथा दृष्टिविहिनताको जोखिममा रहेका नागरिकलाई लक्षित गरी अस्पतालले पु¥याउँदै आएको सेवाको प्रशंसा गरेका थिए ।
उनले शिवराज नगरपालिकाले यस अस्पतालसँग निरन्तर सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमका कृष्णनगर नगरपालिकाका नगर प्रवक्ता हरिपाल चतुर्वेदीले आँखा स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको उल्लेख गर्दै स्थानीय तहले यस्ता संस्थासँग सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले केही वर्ष अघिसम्म आँखा उपचारका लागि भैरहवा र काठमाडौं धाउनु पर्ने कपिलवस्तुबासीको बाध्यता छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको स्थापनासँगै अन्त्य भएको स्मरण गरेका थिए । अस्पतालमा थप अत्याधुनिक उपकरण भित्राउन जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधि एकजुट हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीले सामाजिक परीक्षणले अस्पतालको सेवा, पारदर्शिता र जवाफदेहिता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आम नागरिकलाई सुलभ, गुणस्तरीय र विश्वासिलो आँखा स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे । अन्धोपन न्यूनीकरण अभियानमा नेपाल नेत्रज्योति संघको महत्वपूर्ण योगदान रहे पनि यस अन्तर्गतका अस्पतालका लागि नेपाल सरकारले वार्षिक रूपमा हालसम्म एक रुपैयाँ पनि बजेट विनियोजन नगरेको गुनासो गरेका थिए ।
कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. शम्सेर थापाले अस्पतालका उपलब्धि, भावी कार्यक्रम तथा रणनीतिक योजनाका साथै तीनवटै अस्पतालले पु¥याएका सेवा र आँखा स्वास्थ्य सेवाको विकास विस्तारबारे जानकारी गराएका थिए । डा. थापाले हालसम्म अस्पतालले ४२ लाख ६७ हजार चार सय सात जनालाई ओपिडी सेवा प्रदान गरेको र दुई लाख ५८ हजार १४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको बताएका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बरिष्ठ नेत्ररोग विशेषज्ञ डा सुलक्ष्मी कटुवाल, समाजसेवी सुदन खनाल, रिपोर्टसर्् क्लब दाङका अध्यक्ष शरद रेग्मी, बरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्मालगायतले बोलेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य संघका उपसभापति रेशमबहादुर खड्काले दिएका थिए ।
एनएबिपी नर्वेको आर्थिक सहयोगमा भएको सामाजिक परीक्षण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, चिकित्सक, कर्मचारी तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।