ओमप्रकाश गुप्ता
भालुवाङ, १२ पुस । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः हुमानाथ अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।
महासंघको शुक्रवार दाङको भालुबाङमा सम्पन्न छैठौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्षमा लक्ष्मी भुसाल, सचिवमा दयाराम अधिकारी, सहसचिवमा टेकराज जैशी र कोषाध्यक्षमा अजय शर्मा पनि सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी सदस्यमा सावित्री केसी, रन्जिता रेग्मी, नेत्रकुमारी मल्ल, कमला पौडेल, धनमाया शर्मा, जुमानसिंह केसी, जंगबहादुर डाँगी, मनोज पङ्गेनी, रूपा विक, वसन्ती वली, शिवानन्द बर्मा, हरिकला थापा मगर, मनीषा विक, सुवी गुरुङ सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा अधिवक्ता अमरबहादुर गुरूङले जानकारी दिए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमानाथ अधिकारीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले अपाङ्गता भएका नागरिकलाई प्रविधिसँग जोड्न आवश्यक रहेको बताए । अपाङ्गता भएकाहरूले पनि केही गर्न सक्छन भन्ने देखाउनका लागि पनि प्रविधिको प्रयोग आवश्यक रहेको मन्त्री तिमिल्सिनाको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सङ्घीय अध्यक्ष देवीदत्त आचार्य, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोख्रेल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अनुशासन आयोगका संयोजक देवीबहादुर पोख्रेललगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष देवा डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्तोष पन्थीले गरेका थिए ।