कांग्रेस युवा नेतृत्वको पार्टी बन्नुपर्छ

हिमाल महरा
भाद्र २३ र २४ गते देशभर फैलिएको जेन–जी आन्दोलनले नेपाली राजनीतिमा गहिरो तरङ्ग पैदा गरेको छ । यो आन्दोलन केवल सडक प्रदर्शनमा सीमित रहेन, यसले सत्ता संरचना, पार्टी सङ्गठन र पुरानो नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठाएको छ ।

आन्दोलन कुनै एक दल, एक नेता वा एक नीतिविरुद्ध लक्षित थिएन, बरु असफल शासन अभ्यास, जिम्मेवारीबाट पलायन भएको नेतृत्व र पुस्तागत हस्तान्तरणको अभावविरुद्धको सामूहिक विद्रोह थियो । यसले स्पष्ट सन्देश दिएको छ– नेपाली राजनीतिमा अब नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको छ । पछिल्लो समय राजनीतिक दलहरूमा देखिएका गतिविधिले यही यथार्थलाई पुष्टि गर्छन् ।

नेकपा एमालेले महाधिवेशन सम्पन्न गरिसकेको छ भने माओवादी केन्द्र, समाजवादी धारका शक्ति र अन्य कम्युनिष्ट घटक एकीकृत हुँदै नयाँ कम्युनिष्ट पार्टी निर्माणको दिशामा अघि बढिरहेका छन् । अर्कोतर्फ, परम्परागत दलबाट दिक्क भएका नागरिक वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षित भइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँका मेयर बालेन शाह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, युवा अभियन्ता तथा नेताहरू जस्ता पात्रहरू जनतामा आशाको प्रतीक बन्दै गएका छन् । यी सबै घटनाक्रमले एउटै संकेत गर्छ– नेपाली राजनीति अब पुराना दल र केही सीमित अनुहारको एकल प्रभुत्वमा चल्न सक्दैन । यही परिवेशमा नेपाली कांग्रेस १५औँ महाधिवेशनको तयारीमा जुटेको छ ।

महाधिवेशनको मिति तोकिएको छ र सङ्गठन पुनः संरचनाको कुरा भइरहेको छ तर यहाँ मूल प्रश्न उठ्छ– यो महाधिवेशन केवल औपचारिक प्रक्रिया हुनेछ कि पार्टीभित्र वास्तविक परिवर्तनको सुरुवात ? कांग्रेस आज एउटा ऐतिहासिक मोडमा उभिएको छ । यदि यो अवसर गुमाइयो भने पार्टीको भविष्य झनै अनिश्चित बन्दै जानेछ । विशेषतः महाधिवेशन प्रक्रियामा वडा तहदेखि नै युवालाई प्राथमिकतामा राखेर नेतृत्वमा ल्याउनु आजको अनिवार्य आवश्यकता हो ।

युवालाई केवल झण्डा बोक्ने, भीड व्यवस्थापन गर्ने, भाषण सुन्ने र चुनावी दौडधुपमा प्रयोग गर्ने पुरानो सोच अब चल्दैन । त्यो सोचले नै कांग्रेसलाई आजको सङ्कटसम्म ल्याइपु¥याएको हो । युवाले केवल कार्यकर्ता होइन, निर्णायक भूमिका चाहन्छन् । देशको जनसङ्ख्या संरचना हेर्दा युवा नै बहुमतमा छन् ।

सडक आन्दोलन, सामाजिक सञ्जालको दबाब र परिवर्तनको आवाज युवाबाटै उठिरहेको छ । यदि यही ऊर्जा पार्टीभित्र नेतृत्व र नीतिनिर्माणमा रूपान्तरण गर्न सकिएन भने कांग्रेस जस्ता ऐतिहासिक पार्टी आगामी आम निर्वाचनमा झनै कठिन अवस्थामा पर्ने छन् । अनुभव आवश्यक छ, तर अनुभवको नाममा पुस्तौँसम्म सत्ता, पद र निर्णय प्रक्रिया कब्जा गर्नु लोकतान्त्रिक अभ्यास होइन ।

अब समय आएको छ– पुराना नेताहरूले अभिभावक र मार्गदर्शकको भूमिका निर्वाह गर्ने र युवाले नेतृत्व सम्हाल्ने । नीति निर्माण, सङ्गठन व्यवस्थापन, चुनावी रणनीति र प्रविधिको प्रयोगमा युवाको सोच, साहस र नवीन दृष्टिकोण मिसिनु आवश्यक छ । यसले मात्र कांग्रेसलाई फेरि जनतासँग जोड्न सक्छ, विशेषतः युवापुस्तासँग ।

जेन–जी आन्दोलनले दिएको सन्देश स्पष्ट छ– अब युवालाई अगाडि सार्नै पर्छ, विकल्प छैन । वैकल्पिक शक्ति संगठित हुँदै देशभर फैलिरहेका बेला कांग्रेसले समयमै आत्मसमीक्षा गरेन भने इतिहासले दिएको यो अवसर दोहोरिएर आउँदैन । नेपाली कांग्रेसले अब स्पष्ट निर्णय गर्नुपर्छ– युवा नेतृत्वलाई अगाडि सारेर आफूलाई पुनर्जीवित गर्ने कि इतिहासकै संग्रहालयमा सीमित रहने ? समय सीमित छ, तर जनताको अपेक्षा बलियो छ ।

परिवर्तन सडकबाट मात्र होइन, पार्टीभित्रको नेतृत्व परिवर्तनबाट सुरु हुनुपर्छ । कांग्रेसका लागि यो चुनौती होइन, अन्तिम अवसर पनि हुन सक्छ ।