दाङ,११ पुस । कनिका खबर प्रालिद्वारा सञ्चालित कनिका खबर डट कमको आयोजनामा सम्पन्न कनिका क्विज सिजन ३ को उपाधि नवज्योति जनता इङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । आज बिहीबार दाङको घोराहीमा आयोजित हाजिरी जवाफ प्रतियोगिताको विजेता बन्दै नवज्योतिले सिजन ३ को उपाधि हात पारेको हो । नवज्योतिका विद्यार्थी मनोज भण्डारी, मञ्जु भण्डारी र रोहित खड्काको समूह प्रथम भएको छ ।
त्यस्तै उप विजेता गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराही रहेको छ । गोरखाका प्रिन्सिका पोख्रेल, शिशिर पोख्रेल र संज्ञान अधिकारीको समूह उप विजेता बनेको छ । सेकेन्ड रनर अपको उपाधि मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलले हात पारेको छ । मेचीकालीका सविता चौधरी, दिपेश डाँगी र विपुल यादवको समूह सेकेन्ड रनर अप भएको हो ।
उत्कृष्ट चौथो उपाधि अमर इङ्लिस बोर्डिङ स्कुल, पाँचौ उपाधि हाम्रो पहुँच सेकेन्डरी बोर्डिङ स्कुल, छैटौं उपाधि गुरुकुल एकेडेमी, सातौ उपाधि ज्ञानज्योति सेकेन्डरी स्कुल तुलसीपुर, आठौँ उपाधि दीपशिखा सेकेन्डरी बोर्डिङ् स्कुल, नवौ उपाधि सगरमाथा सेकेन्डरी बोर्डिङ् स्कुल र दसौँ उपाधि राजविद्या पाठशालाले प्राप्त गरेका छन् । प्रतियोगितामा जिल्लाभरका ४१ वटा स्कुल सहभागी भएका थिए ।
कनिका खबरका अध्यक्ष अभियान बस्नेतको अध्यक्षता तथा नेपा पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोख्रेलले मिडियाले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । ‘मिडियाले समाचार सम्प्रेषणका साथै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, समाजलार्ई मिडियासँग जोड्दै मिडियाले काम गर्नु पर्दछ । कनिका खबरले शिक्षासँग आफूलाई जोड्दै विद्यार्थीलाई इतिहास, वर्तमान र भविष्यका बारेमा जानकारी प्रदान गर्दै आएको छ । यस्ता कार्यले मिडियालाई जिम्मेवार बनाउँदै लैजान्छ’ पोख्रेलले बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष डा। सुदीप गौतम, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कनिका खबरका प्रधान सम्पादक यादव गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सम्पादक आदिम केसीले गरेका थिए । कार्यक्रममा क्विज मास्टरका रुपमा नवराज खत्री, विष्णु हमाल, पदम गिरी, श्रवण चौधरी, सुशील प्रकाश वली रहेका थिए ।