अम्बिकेश्वरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गुरुयोजना आवश्यक

अमरराज आचार्य
दाङ, ११ पुस । ऐतिहासिक र धार्मिक महत्व बोकेको अम्बिकेश्वरी मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गुरुयोजना निर्माणमा गरी व्यवस्थित ढङ्गले अगाडि बढ्नु पर्ने कार्यक्रमका सहभागीले बताएका छन् । अम्बिकेश्वरी मन्दिर संरक्षण तथा संवर्धन समितिको तेस्रो वार्षिक साधारणसभाकामा बोल्ने वक्ताहरूले अम्बिकेश्वरी मन्दिर क्षेत्रको सम्पूर्ण विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष प्राध्यापक डा. भागवतप्रसाद शर्माले सबैको सहयोगमा मन्दिरको विकास हुँदै गएको उल्लेख गर्दै एकताबद्ध भएर काम गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सेवा आयोगका अध्यक्ष शर्माले भने,‘मन्दिरमा धार्मिक पर्यटनको राम्रो सम्भावना छ । यसको विकास गरी अन्य पर्यटक पनि आकर्षित गर्न सकिन्छ ।’

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले मन्दिरको विकासमा स्थानीय सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । अम्बिकेश्वरी दाङमा छुट्टै पहिचानका रूपमा रहेको भन्दै उपप्रमुख डिसीले भनिन्,‘घोराहीको छुट्टै पहिचान छ । सबै मिलेर यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न आवश्यक छ ।’ त्यसका लागि घोराही उपमहानगरपालिकाबाट सक्ने सहयोग गर्न तयार रहेको बताइन् ।

प्राध्यापक डा. संस्कृतिविद् शिवकुमार सुवेदीले मन्दिरको विकाससँगै प्रचारप्रसारका लागि ऐतिहासिक पक्षमा थप अनुसन्धान गरी विस्तृत जानकारी सार्वजनिक गर्नु पर्ने बताए । सहरी क्षेत्रदेखि नजिकै रहेको अम्बिकेश्वरी धार्मिक पर्यटन विकासका लागि राम्रो सम्भावना रहेको क्षेत्र भएको भन्दै प्राध्यापक सुवेदीले भने,‘पहिलो संस्करण प्रकाशित भइसकेको छ, तर थप गहन अनुसन्धान गरेर मन्दिरको ऐतिहासिकता र महत्वलाई व्यापक रूपमा उजागर गर्नुपर्छ ।’ उनले मन्दिरलाई केवल धार्मिक स्थलको रूपमा मात्र नभई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न र क्षेत्र विस्तार गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा इतिहासकार डा सुदीप गौतमले अम्बिकेश्वरी मन्दिर अत्यन्त पुरानो ऐतिहासिक मन्दिर भएको पुष्टि गर्दै लिखित प्रमाणका आधारमा विक्रम संवत् १९६५ सालको घण्टा भेटिएको बताए । पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष समेत रहेका डा गौतमले १९६५ सालमा भेटिएका घण्टाले कति पुराना मन्दिर रहेको भन्ने पुष्टि गरेको भन्दै सबै तथ्य संकलन गर्दै मन्दिरको व्यवस्थित विकासका लागि स्पष्ट योजना आवश्यक रहेको जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले सबै धर्मावलम्बीको आस्थाको केन्द्र बनेको यस मन्दिरको विकासमा सम्भावनाको खोजी गरी त्यसअनुसार योजनाबद्ध ढङ्गले अगाडि बढ्नु पर्ने बताए ।

उनले विकास कार्यलाई व्यवस्थित बनाउन गुरुयोजना अनिवार्य रहेको र यसमा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रममा पाण्डवेश्वर महादेव धामका उपाध्यक्ष शंकर गौतमले धार्मिक पर्यटनको विकासका लागि धार्मिक सर्किट रोडको निर्माण गर्नु पर्ने सुझाव दिए । जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोडेर विकास गर्न आवश्यक रहेको भन्दै गौतमले भने,‘विभिन्न धार्मिक स्थललाई सर्किटको रूपमा जोडेर विकास गरे यस क्षेत्रको पर्यटकीय सम्भावना अझ बढ्नेछ ।’

घोराही वडा नं. १८ का वडाध्यक्ष भरतमणि अर्यालले स्रोतको अभावले भने अनुसारको काम गर्न नसकिए पनि आफ्नो क्षेत्रबाट यस क्षेत्रको विकासमा पहल गर्न आवश्यक रहेको बताए । कार्यक्रममा घोराही १७ का अध्यक्ष रामलौटन चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, बयलडाँडा चौतारी क्लबका अध्यक्ष नारायणप्रसाद भुसाल, अम्बिकेश्वरी मन्दिर संरक्षण तथा संवर्धन समितिका निवर्तमान अध्यक्ष कुमुद पोखरेलले मन्दिरको भौतिक निर्माण कार्यमा गति लागेको उल्लेख गर्दै सबैको सहयोगमा यो सम्भव भएको बताए । साथै मन्दिरको थप विकासका लागि गुरुयोजना निर्माण गरेर पूर्वाधार निर्माणलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

साधारणसभामा सचिव दामोदर भुसालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष माधव चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिका अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा मन्दिरका पूर्व अध्यक्षहरू तथा मुख्य पुजारीहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । सम्मानित हुनेमा खिमबहादुर बुढाथोकी, महेन्द्र खनाल, शशिकिरण राना, पदमप्रसाद शर्मा, विनोद पोखरेल, कुमुद पोखरेल रहेका छन् ।

त्यसैगरी मन्दिरका पूर्व मुलपुजारी गृधर बुढाथोकी, लीलाधर बुढाथोकी, गंगाधर उपाध्याय, दामोदर उपाध्याय, टीकाराम खनाल, सालिकराम खनाल, कुलप्रसाद खनाल, दिवाकर खनाल, माधव खनाल, लालमणि खनाल, दामोदर अधिकारी र नेत्रमणि ढकाललाई समेत सम्मान गरिएको थियो। उत्कृष्ट कर्मचारीको रूपमा मानबहादुर घर्तीलाई नगदसहित सम्मानित गरिएको थियो । उपाध्यक्ष श्रीधर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहभागीलाई उपाध्यक्ष निरजा पोख्रेलले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सहजीकरण दामोदर भुसालले गरेका थिए ।